स्वास्थ्यकर्मी कुटपिटको घटना निष्पक्ष छानबिन हुन्छ :मुख्यमन्त्री पोख्रेल

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले स्वास्थ्यकर्मीहरूमाथि भएको कुटपिटको घटनाको निष्पक्ष छानबिन हुने बताएका छन् । बाँकेको भेरी अस्पतालमा गएराति स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको घटनामा मुख्यमन्त्रीको नाम मुछिएपछि उनले निष्पक्ष छानबिन गरिने बताएका हुन् ।

बिहीबार बेलुकी ८ बजे कोरोना संक्रमित बिरामीको मृत्युपछि उनका आफन्तले डाक्टर र नर्समाथि कुटपिट गर्दै अस्पताल तोडफोड गरेका थिए । शुक्रबार बिहान ट्वीट गर्दै मुख्यमन्त्री पोखरेलले भने, ‘बाँकेको भेरी अस्पतालमा घटेको दुःखद घटनाका सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको छ । निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही हुनेछ ।’

घटनामा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावतलगायत ३ जना संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । रावतका दाइ तुलसीपुर उपमहानगर ११ का ५४ वर्षीय डिल्लीबहादुर रावतको उपचारका क्रममा मृत्यु भएको थियो । उनलाई कोरोना देखिएको थियो । उनीहरूले आइसियू कक्षमै डाक्टर र नर्समाथि आक्रमण गरेका थिए ।

उनीहरूको आक्रमणबाट डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अनसारी, स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे, बन्दना श्रेष्ठलाई चोटपटक लागेको भेरी अस्पताल प्रशासनले जानकारी दिएको छ । अहिले पनि स्वास्थ्यकर्मीहरू दोषिलाई कारबाहीको सुनिश्चितताको माग गर्दै अस्पताल परिसरमै आन्दोलन गरिरहेका छन् ।

 

सम्बन्धित शिर्षक :