भेरी अस्पतालमा आक्रमण :भाइरससँगै भिडको जोखिममा डाक्टर र नर्स

दोषीलाई कारबाहीको माग गर्दै काम बहिष्कार

स्वास्थ्यसमाचार/कोरोना संक्रमितको जीवनरक्षामा जुटेका स्वास्थ्यकर्मी भिडबाट असुरक्षित भएका छन् । महामारीमा अथक संघर्ष गरेका भेरी अञ्चल अस्पतालका डाक्टर र नर्सहरूमाथि बिहीबार साँझ एक समूहले सांघातिक हमला गरेको छ । ज्यान जोगाउन डाक्टर र स्टाफ नर्सले एक तलामाथिबाट हाम फालेका छन् । एक साताअघि पूर्वको विराट मेडिकल कलेजमा पनि स्वास्थ्यकर्मीमाथि आक्रमण भएको थियो ।

नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत दाङको तुल्सीपुर उपमहानगरपालिका– ११ का ५१ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्र्मीमाथि हातपात गर्नुका साथै अस्पतालमा तोडफोड गरेका हुन् । गत ४ जेठमा अस्पतालमा भर्ना भएका कोरोना संक्रमित रावतको बिहीबार राति करिब साढे आठ बजे मृत्यु भएको थियो ।

त्यसलगत्तै बिरामीका आफन्तले अस्पतालमा तोडफोड गर्नुका साथै चिकित्सक र स्टाफ नर्समाथि आक्रमण गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। प्रकाशबहादुर थापाले बताए । ‘लाठीसहित आक्रमण गर्न आउनुभयो । एक तलामाथिको झ्यालबाट हाम फालेर साथीहरूले ज्यान जोगाउनुभयो,’ उनले भने, ‘धन्न हाम फालेको ठाउँमा बालुवा थियो, त्यसैले केही भएन ।’ आक्रमणकारीहरूले अस्पतालको झ्याल–ढोकाका सिसा फुटाएका छन् ।

एक्कासि आक्रमण सुरु भएपछि उपचारमा व्यस्त चिकित्सक र स्टाफ नर्सहरूको भागाभाग भएको थियो । चार चिकित्सक र नर्सले माथिल्लो तलाको झ्यालबाट हाम फालेर ज्यान जोगाए । केही स्वास्थ्यकर्मीलाई आक्रमणकारीले लखेटेर कुटपिट गरे । ज्यान जोगाउन शौचालयमा लुकेका पिपिई लगाएका नर्सहरूलाई उनीहरूले घाँटी अठ्याउने र लात्तीले हानेको अस्पताल प्रशासनले जनाएको छ ।

एकाएक तोडफोड र आक्रमण हुन थालेपछि ज्यान जोगाउन झ्यालबाट हाम फालेको स्टाफ नर्स अस्मिता गुरुङले बताइन् । ‘सिनेमामा गुन्डाले जस्तै आतंक फैलाए, झ्यालबाट हाम नफालेको भए हामी त्यहीँ मारिन्थ्यौँ, उनीहरूले ठुल्ठूला लाठा बोकेका थिए,’ उनले भनिन् । ज्यान जोखिममा राखेर बिरामी हेरिरहेको वेला भएको उद्दण्ड व्यवहारले काम गर्ने जाँगर मरेको उनले बताइन् ।

अस्पतालकी नर्सिङ अधिकृत ईश्वरी केसीले अन्धाधुन्ध रूपमा तोडफोड र हातपात हुन थालेपछि चिकित्सकसहित स्टाफ नर्स काम छोडेर भागेको बताइन् । ‘घटना प्रत्यक्ष देखेका स्टाफ नर्सहरू वार्डमा जान मानिरहेका छैनन्,’ उनले भनिन्, ‘डरले कामिरहेकाले काम गर्न सक्ने मनस्थितिमा छैनन् स्टाफ नर्स । सुरक्षाको ग्यारेन्टी नभए काम गर्न गाह्रो छ ।’

तोडफोड र आक्रमण भएको केही समयभित्रै अस्पतालमा थप दुईजना बिरामीको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । आक्रमणपछि अस्पताल अस्तव्यस्त भयो, स्वास्थ्यकर्मी तितरबितर भए । यो भयानक दृश्य देखेर केही गम्भीर बिरामीको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

आक्रमण गर्ने व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा सुरक्षाकर्मीमाथिसमेत हातपात भएको थियो । अस्पतालको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका हवल्दार निर्मल नेपालीले भने, ‘मृतकका आफन्तले बिरामीका कुरुवा, स्वास्थ्यकर्मीमाथि लाठीसहित हातपात गरे । तर, उनीहरूलाई नियन्त्रणमा लिन सक्ने अवस्था थिएन । रोक्न खोज्दा हामीमाथि पनि हातपात भयो,’ उनले भने, ‘फिल्मी शैलीमा आक्रमण भयो । अवस्था हाम्रो कन्ट्रोलभन्दा बाहिर थियो ।’

केही समयपछि भने प्रहरीले अस्पताल तोडफोड र चिकित्सक तथा स्टाफ नर्समाथि हातपात गरेको आरोपमा मृतकका भाइ मानबहादुर रावतसहित तीनजनालाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको बाँकेका एसपी ओमबहादुर रानाले बताए ।

दोषीलाई कारबाहीको माग गर्दै काम बहिष्कार

घटनापछि भेरी कोभिड विशेष अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले दोषीमाथि कारबाही र स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टी नभए काम बहिष्कार गर्ने चेतावनी दिएका छन् । उनीहरूले बिहीबार राति नै काम छाड्ने पक्षमा थिए । तर, राति अस्पताल प्रशासनसँगको बैठकपछि उनीहरू काममा फर्केका छन् ।
शुक्रबार बिहानसम्म माग पूरा नभए काममा नफर्किने उनीहरूले बताएका छन् । ‘हाम्रो सुरक्षाको पूर्ण ग्यारेन्टी नभए काममा फर्किँदैनौँ,’ भेरी अस्पतालका मेट्रोन दुर्गालक्ष्मी श्रेष्ठले भनिन् । ज्यान जोखिममा राखेर बिरामीको उपचार गर्दागर्दै पटक–पटक हातपात र दुव्र्यवहार खेप्न परेको श्रेष्ठले बताइन् । ‘अस्पतालजस्तो संवेदनशील क्षेत्रमा गुन्डागर्दी शैलीमा तोडफोड र आक्रमण हुने कार्य नरोकिए यसले भविष्यमा झनै विकराल रूप लिन्छ । दोषीलाई तत्काल कारबाही गर्नुपर्ने हाम्रो पहिलो माग हो,’ उनले भनिन् ।नयाँपत्रिकाबाट

सम्बन्धित शिर्षक :