स्वास्थ्यसमाचार /भारतले नेपाललाई अनुदानमा दिने कोरोना विरुद्धको खोपको पहिलो खेप आउने भएको छ । काठमान्डौमा नेपाल र भारतले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा भारतले नेपाललाई कोरोना विरुद्धको खोपको १० लाख अनुदानमा उपलब्ध गराउने बताएको थियो ।
बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको खोप भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको कोभिसिल्ड नामक खोप भारतले नेपाललाई अनुदान दिन लागेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको पहिलो खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरिने छ ।
विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । ती खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ ।स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ ।
तोकिएका खोप केन्द्रहरुबाट पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने टोलीलगायतलाई खोप दिइने मन्त्रालयले जनाएको छ ।स्वास्थ्य मन्त्रालयका खोप शाखा प्रमुख डा झलक शर्माका अनुसार १० देखि १५ दिनमा कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने छ ।