बुटवलमा बाआमासँग नगर प्रमुख’ स्वास्थ्य शिविरमा सेवाग्राहीको भीड

घर नजिकै उपचार पाएपछि जेष्ठ नागरिक उत्साहित

स्वास्थ्यसमाचार/शीतलहरका बाबजुद बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालन गरिएको ‘बाआमासँग नगर प्रमुख’ निःशुल्क स्वास्थ्य जाँच तथा उपचार शिविर मा सेवाग्राहीहरूको उल्लेखनीय सहभागिता देखिएको छ।

मौसम प्रतिकूल भए पनि सोमबार बुटवल उपमहानगरपालिका वडा नं. ८ र ९ मा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा जेष्ठ नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको हो। बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेयका अनुसार वडा नं. ८ सुख्खानगरमा सञ्चालित शिविरमा ६१ जना र वडा नं. ९ मा ८१ जना जेष्ठ नागरिकले स्वास्थ्य सेवा लिएका छन्।

सोमबार बिहान सुख्खानगरमा सञ्चालित शिविरको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले जेष्ठ नागरिक हरू स्वास्थ्य सेवाका लागि टाढा–टाढा स्वास्थ्य संस्थामा धाउन नपरोस् भन्ने उद्देश्यले उक्त शिविर सञ्चालन गरिएको बताए। नगर प्रमुख पाण्डेयले कम्तीमा पनि वर्षमा दुई पटक यस्तै प्रकारका स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको जानकारी दिए।

हाल बुटवलका विभिन्न विशिष्ट स्वास्थ्य संस्थामा कार्यरत विशेषज्ञ चिकित्सकहरूबाट स्वास्थ्य जाँच तथा उपचार सेवा उपलब्ध गराइएको उल्लेख गर्दै नगर प्रमुख पाण्डेयले आगामी दिनमा प्रयोगशाला (ल्याब) सेवासहितका शिविर सञ्चालन गर्ने तयारी भइरहेको बताए।

शीतलहरका बाबजुद पनि शिविरमा सेवाग्राहीहरूको उत्साहजनक सहभागिता रहेको बुटवल उपमहानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष यज्ञप्रसाद पंगेनीले जानकारी दिए।

जनस्वास्थ्य शाखा प्रमुख पाण्डेयका अनुसार पुस ७ गते वडा नं. १ बाट सुरु भएको उक्त स्वास्थ्य शिविर बुटवल उपमहानगरपालिकाका १९ वटै वडामा चरणबद्ध रूपमा सञ्चालन गरिनेछ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :