सुशासनतर्फ लुम्बिनीको स्वास्थ्य: बेरुजु पूर्ण शून्यमा झार्ने साझा प्रतिबद्धता

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रलाई आगामी एक वर्षभित्र बेरुजु शून्यमा झार्ने साझा प्रतिबद्धता स्वास्थ्य क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरूले व्यक्त गरेका छन्। लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको आयोजनामा पुस २१ र २२ गते दाङको भालुवाङमा आयोजित बेरुजु समीक्षा गोष्ठी तथा शून्य बेरुजु प्रोत्साहन कार्यक्रममा सहभागीहरूले ‘शून्य बेरुजु’ हासिल गर्न सामूहिक प्रतिबद्धता जनाएका हुन्।

स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठको अध्यक्षता तथा स्वास्थ्य मन्त्री खेमबहादुर सारूको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहभागी कार्यालयहरूले शून्य बेरुजु कायम राख्ने, बेरुजु रहेका कार्यालयहरूले प्रचलित कानुनी प्रक्रिया अवलम्बन गरी आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षणमा शून्य बेरुजु हासिल गर्ने, असुल उपर गर्नुपर्ने सम्पूर्ण बेरुजु २०८३ असार मसान्तभित्र असुल उपर गर्ने तथा नियमित गर्नुपर्ने बेरुजु आवश्यक आधार र प्रमाणसहित समयमै नियमित गराउने प्रतिबद्धता जनाए।

त्यसैगरी कागजी प्रमाण पेश गर्नुपर्ने बेरुजुका हकमा २०८३ असार मसान्तभित्र एनएएमएस प्रणालीमा प्रविष्टि गर्ने, पेश्की बेरुजु तुरुन्त फछ्र्योट गर्ने, फछ्र्योट हुन नसक्ने अवस्थामा असुलउपरको प्रक्रियामा लैजाने र मन्त्रालयस्तरमा गठित बेरुजु फछ्र्योट सहजीकरण समितिलाई थप सक्रिय र प्रभावकारी बनाउने निर्णय गरिएको छ। समितिलाई मासिक रूपमा प्रत्येक महिनाको ५ गतेसम्म प्रगति विवरण पेश गर्ने प्रतिबद्धता समेत जनाइएको छ।

कार्यक्रममा अडिट प्रतिवेदन कार्यान्वयन, बिल–भौचर समायोजन, विवरण अद्यावधिक, जिम्मेवारी तोकेर काम गर्ने तथा निगरानी–अनुगमन प्रणालीलाई प्रभावकारी बनाउने विषयमा जोड दिइयो। सूचना प्रविधिको प्रयोग विस्तार, आवश्यक तालिम तथा समयमै खर्च प्रमाणिकरणमार्फत अनियमितता रोकथाम गर्ने साझा कार्ययोजना अघि बढाइने निष्कर्ष निकालिएको छ।

कार्यक्रममा बोल्दै मन्त्री सारूले सुशासन र पारदर्शिताको आधार समयमै खर्च व्यवस्थापन र प्रमाणिकरण भएको उल्लेख गर्दै बेरुजु घटाउने विषय मन्त्रालयको प्रमुख प्राथमिकतामा रहने बताए। गोष्ठीमा स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक रोशनलाल चौधरी, प्रदेश तालिम केन्द्र बुटवलका लेखा प्रमुख उपज ज्ञवाली, भीम अस्पताल रुपन्देहीका मेडिकल सुपरिटेन्डेन्ट डा. वर्षा थापालगायतले मन्तव्य राखेका थिए। गोष्ठीको सञ्चालन वरिष्ठ नर्सिङ प्रशासक ईश्वरी केसीले गरेकी थिइन्।

कार्यक्रममा मन्त्रालय तथा मातहतका निकाय, अस्पताल, स्वास्थ्य कार्यालय, आयुर्वेद चिकित्सालय तथा स्वास्थ्य केन्द्रका प्रमुख र लेखा प्रमुख गरी ९५ जनाको सहभागिता रहेको थियो। बितेको एक वर्षमा लुम्बिनी प्रदेशका ९ वटा स्वास्थ्य संस्थाले बेरुजु शून्यमा झार्न सफल भएका छन्। शून्य बेरुजु हासिल गर्ने संस्थाहरूमा बर्दिया अस्पताल गुलरिया, स्वास्थ्य कार्यालय रोल्पा, आयुर्वेद स्वास्थ्य केन्द्र कपिलवस्तु, गुल्मी, रुकुम पूर्व, नवलपरासी पश्चिम, स्वास्थ्य कार्यालय प्युठान, आयुर्वेद स्वास्थ्य केन्द्र पाल्पा र अर्घाखाँची रहेका छन्।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :