रुपन्देहीमा कोरोना निको पार्ने आयूर्वेद औषधी बन्यो, १सय ३८ संक्रमित निको भएको दावी

प्रदेश ५ सामाजीक बिकास मन्त्री बरालद्धारा अध्ययन गर्न बिज्ञ टोली गठन

स्वास्थ्यसमाचार /भैरहवाका आयुर्वेदाचार्य डा. बद्री गौतमले आफूले तयार पारेको जडीबुटी औषधिबाट कोरोना भाइरस संक्रमणका बिरामी निको भएको बताएका छन् ।

उनले आफूले बनाएको औषधिको नाम ‘अर्कबटी’ राखेका छन् । तीन दशकदेखि जडीबुटीमा अनुसन्धान गर्दै आएका आयुर्वेदाचार्य डा. गौतमले कोरोना संक्रमित १५३ जनाले उक्त औषधि सेवन गरेकोमा १३५ जना निको भइसकेको बताए ।

डा. गौतमका अनुसार बाँकी १८ जना बिरामीले पनि औषधि सेवन गरिरहेका छन् । नेपालमा पाइने ५ प्रकारका जडीबुटी र स्वर्ण घटक द्रव्य मिश्रण गरी आयुर्वेदिक औषधिको गोली तयार पारेका उनको भनाइ छ ।

चीनको वुहान प्रान्तमा कोरोना भाइरसका कारण मानिसको मृत्यु भएको खबर सुन्नसाथ जडिबुटीबाट औषधि बनाउन आफूले अध्ययन थालेको उनले बताए ।

२५ सय वर्षपहिले अत्रि ऋषिले पत्ता लगाएको सूत्रअनुसार श्वासप्रश्वास र पाचन नलीमा हुने रोग निको पार्न प्रयोग गरिएको जडिबुटी नै कोरोना भाइरसको औषधि बन्नसक्ने ठानेर सोही विधिअनुसार औषधि तयार पारेको डा. गौतमले बताए । निजीरूपमा १५ लाख रुपैयाँ खर्च गरेर ‘अर्कबटी’ आयुर्वेदिक औषधि तयार पारेको उनको भनाइ छ ।

डा. गौतमका अनुसार कोरोना भाइरस संक्रमण सुरु हुनुअघि उनको नाकमा मासु पलाएको थियो । साथीहरूले उपचारका लागि भारत जान सुझाएका थिए । उनले भने, ‘मैले आफैँ औषधि बनाएर प्रयोग गरेँ, ५ दिनमै नाकको घाउ निको भयो, रुघाखोकी लागेका बिरामी निको भए ।’कोरोना भाइरस देखिएपछि उनले औषधि बनाएर प्रचार नगरी चिनेका साथीहरूलाई दिए । उनीहरूलाई ठिक भयो । भारतबाट आएका आफ्ना साथीहरूलाई पनि दिए । सबै निको भए, माग बढदै गयो ।

डा. गौतमले भीम अस्पताल, भैरहवामा आइसोलेसनमा रहेका बिरामीलाई निःशुल्क वितरणका लागि आफ्नो औषधि पठाए । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलका अध्यक्ष सूर्यबहादुर भट्टाईलाई पनि औषधि पठाए । तर, उनीहरूले वास्ता गरेनन् ।

पछि उनले पाएको जानकारीअनुसार अस्पतालका चिकित्सकहरू अप्रमाणित औषधि बिरामीलाई दिन तयार भएनन् ।डा. गौतम जडिबुटी सहकारी लिमिटेड अन्तर्गत काम गर्छन् । जडीबुटीबाटै देश समृद्ध बनाउनुपर्छ उनको अभियान छ ।उनी २०६८ सालदेखि ‘त्रयम्बकम्य जडिबुटी सहकारी’ मार्फत अनेक प्रजातिका जडिबुटीको प्रवद्र्धन, संरक्षण र अनुसन्धानमा छन् ।

रुपन्देहीमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि एकाएक ‘अर्कबटी’ को माग बढेको छ । भैरहवाको युनिभर्सल मेडिकल कलेजमामा कार्यरत एक जना संक्रमित स्वास्थ्यकर्मीले अर्कबटी सेवनपछि श्वासप्रश्वासमा आफूलाई सुधार भएको बताइन् । उनले भनिन्, ‘मलाई संक्रमण थियो, मेरो श्रीमानको कन्ट्याक्ट ट्रेसिङ भयो तर रिपोर्ट नआउँदै आत्तिएर अर्कबटी खानुभयो, अहिले सुधार भएको छ ।

’यी स्वास्थ्यकर्मीको उमेर ५२ वर्ष र उनका श्रीमानको उमेर ६५ वर्ष छ । बुटबलका पत्रकार डिआर घिमिरेले पनि बुटबलको नयाँ गाउँमा १० जना संक्रमित अर्कबटी सेवन गरेर निको भएको बताए । बुटबल उपमहानगरका एक कर्मचारी र उनकी श्रीमतीले पनि अर्कबटी सेवन गरेको र संक्रमणमुक्त भएको घिमिरेले बताए ।

कतै आश्वासन त कतै आरोप

संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आयुर्वेदिक औषधि अर्कबटीबारे जानकारी पाएर शुभकामना दिएको डा. गौतमले बताए । वागमती प्रदेशका मन्त्री अरुण नेपालले अनुसन्धानका लागि प्रयोगशाला आवश्यक भए सहयोग गर्ने आश्वासन दिएको पनि डा. गौतमले बताए ।

डा. गौतमले प्रदेश ५ का सामाजीक बिकास मन्त्री सुदर्शन बरालले फोन गरेर औषधी बारे अध्यन गर्न प्रदेश सरकारले टोली बनाएर पठाएको बताए । मन्त्री बरालले टोलीले अध्यन गरेपछि प्रदेश सरकारले आफनो धारण बनाएर औषधीको बारे छलफल गरेर अघि बढने बताए । तर प्रदेश ५का आयुर्वेदका चिकित्सकले उल्टै आयुर्वेद चिकित्सकले भ्रम फैलाएको वताए ।

औषधि दर्ताको प्रयास

डा. गौतमले आफूले बनाएको अर्कबटी आयुर्वेदिक औषधि दर्ताका लागि औषधि व्यवस्था विभागमा पठाएको बताएका छन् । श्वासप्रश्वास, रुघा र पाचनसँग सम्बन्धित रोग निको पार्ने औषधिका रूपमा दर्ता गर्ने प्रक्रिया अघि बढाएको उनको भनाइ छ ।

पाँच प्रकारका जडीबुटी र स्वर्ण धातु मिश्रित अर्कबटी दर्ता भएपछि वैधानिक रूपमा बजारमा ल्याउने डा. गौतमले बताए । स्वाद र गन्ध थाहा नपाउने, ज्वरो आउने, पखला लाग्ने र बान्ता हुने लक्षणका बिरामी अर्कबुटीले १० दिनमा निको हुने डा. गौतमको भनाइ छ ।

उनका अनुसार रोगको अवस्थाअनुसार औषधिको मात्रा फरक हुन्छ । औषधिको माग धेरै आएको भए पनि दर्ता नभएकाले आपूर्ति नगरेको उनले बताए । उनका अनुसार नेपालमा वार्षिक ५ अर्बको रुपैयाँको आयुर्वेद औषधि खपत हुन्छ । यसमध्ये भारतबाट साढे ३ अर्बको आउँछ ।

सम्बन्धित शिर्षक :