कोरोना महामारी विरुद्ध लडन योग र आयुर्वेद औषधी प्रभावकारी

रुपन्देहीका क्वारेन्टिन र आइसोलेशनमा लाखौको आयुर्वेद औषधी बितरण

स्वास्थ्यसमाचार /कोरोना महामारी विरुद्ध लडन मानिसमा रोगप्रतिरोधक क्षमता बढाउन योग र आयुर्वेद औषधी प्रभावकारी बनेको सरोकारवालाले बताएका छन । रुपन्देहीका क्वारेन्टिन र आइसोलेशन सेन्टरमा चैतबाट नै योग सगै आयुर्वेद्धिक औषधी वितरण थालिएको थियो ।

रुपन्देही भन्दा बाहिरबाट आएका देश भित्रैका तथा बाहिरी मुलुकबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्न थालेपछि उनीहरुको क्वारेन्टाइन बसाइ सुखद बनाउन योग तथा चिकित्सापद्धतीलाई पनि जोडिएको थियो ।

शुरु शुरुमा क्वारेन्टाइनहरुमा मात्रै शुरु गरिएको यस अभियान पछि कोरोना संक्रमित रहेका आइसोलेसन सेन्टरहरुमा समेत शुरु गरियो । बुटवलका सबै जसो आइसोलेसन तथा क्वारेन्टाइनहरुमा पुगेर योग सिकाउदै आएका योग प्रशिक्षक विष्णुहरि आचार्य (योगीराज) ले साढे तीन महिनाको यस अवधीमा लाखौंको आयुर्वेद्धिक औषधी समेत वितरण भएको बताए ।

उनका अनुसार सिद्ध फमुलेशन प्रालिबाट झण्डै एक लाख बराबरको आयुर्वेद्धिक औषधी जन्य सामाग्री प्राप्त भएको र सो वितरण गरिएको छ । त्यस्तै गोर्खा आयुर्वेद प्रालि, जनता आयुर्वेद भवन, पशुपति अन्नपूर्ण आश्रम प्रदेश ५, जी २५ क्लव बुटवललगायतबाट झण्डै २ लाखका औषधी प्राप्त भएको र ती वितरण गरिएका छन ।

वितरण गरिएका च्यावनप्रास, जडिवुटि चियालगायतले मानिसमा रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्दछ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिबाट कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा व्यवस्थापन निर्देशिका अनुसार अश्वगन्धा पाउडर, मुलेठी पाउडर, गुडुची चिया, त्रिकटु चूर्ण तथा च्यावनप्रास लगायतका औषधी क्वारेन्टाइन तथा आइसोलेसनहरुमा वितरण गरिएको छ ।

रुपन्देहीका क्वारेन्टाइनहरुमा उच्च महत्वका साथ योग शिक्षा प्रदान गरिएपछि यसलाई अन्य जिल्लामा पनि विस्तार गरियो । साथै आयुर्वेद औषधीलाई पनि उच्च महत्व दिइएको छ । प्रदेशका रुपन्देहीसहितका जिल्लाहरुमा आयुर्वेद पद्धतिलाई विशेष जोड दिए अनुसार प्रतिफल आएको योग प्रशिक्षक आचार्यको भनाइ छ ।

क्वारेन्टाइनहरुमा बस्नेहरुलाई विहानै योग गनुपर्छ भन्ने शिक्षाले उनीहरुको दैनिकीमा सकरात्मक प्रभाव पारेको र शरिर स्वस्थ्य राख्न मद्दत मिलेको उनको भनाइ छ । उनी भन्छ,–क्वारेन्टाइनमा बसेकाहरुलाई योग शिक्षाले तनाव मुक्त बनाउनेदेखि सहज रुपमा दिन विताउन मद्दत मिल्छ ।

रुपन्देहीका अधिकांश क्वारेन्टाइनमा योग शिक्षा दिएका योग प्रशिक्षक विष्णुहरि आचार्य (योगीराज) योगलाई शारीरिक तथा मानसिकरुपमा तन्दुरुस्त राख्ने उपयुक्त विधिका रुपमा लिइने बताउछन ।मानिसलार्ई निरोगी, स्वस्थ्य राख्न योगको महत्व बढी हुने भन्दै उनले अहिलेको महामारीमा जोसुकैले पनि योग अभ्यास गर्दा राम्रो हुने भएकाले क्वारेन्टाइनहरुमा गरिएको योग अभ्यास प्रभावकारी भएकोे बताए ।

मस्तिष्कको स्वास्थ्यका लागि योग एक प्राकृतिक औषधि मानिने भन्दै योग प्रशिक्षक आचार्य योगले शारीरिक तथा मानसिक स्वास्थ्यलाई बलियो बनाउने बताउछन ।योग प्रशिक्षकका क्रममा नाचगानसहित विभिन्न योग आसन तथा ध्यान विधिबारे सिकाइएको छ । त्यस्तै क्वारेन्टिन तथा आइसोलेशनमा स्थानीय औषधियुक्त जडीबुटीको उचित प्रयोग गर्नसमेत सिकाइएको छ ।

प्रदेश सरकारले पनि योग र आयुर्वेद चिकित्सा पद्धतीलाई विशेष महत्व दिदै आएको छ । प्रदेश कोरोना संकट व्यवस्थापन केन्द्रले क्वारेन्टाईन, आईसोलेसन सेन्टर तथा आईसोलेसन अस्पतालमा रहेका व्यक्तिहरुमा रोग प्रतिरोधात्मक क्षमताको विकासको लागि योग, ध्यान तथा मनोसामाजिक परामर्शको नियमित प्रवन्ध गर्ने निर्णय गरेको थियो ।

त्यसका लागि आयुर्वेद अस्पताल ,स्वास्थ्य केन्द्र , स्वास्थ्य कार्यालय तथा स्थानीय संघ संस्थाहरु मार्फत गर्ने गरी आवस्यक व्यवस्था सामाजिक विकास मन्त्रालयले गर्ने निर्णय केन्द्रले गरेको थियो । सोही अनुरुप प्रदेश सरकार तथा स्थानिय तहहरुले समेत विशेष महत्वका साथ योग र आयुर्वेद पद्धतीलाई अगाडी बढाएको आचार्यले बताए ।

सम्बन्धित शिर्षक :