बुटबलको कोरोना विशेष अस्पतालको भेन्टिलेटरमा राखिएका संक्रमित डिस्चार्ज

स्वास्थ्यसमाचार /कपिलबस्तुबाट अचेत अवस्थामा बुटबल ल्याईएका कोरोना संक्रमित युवा १६ दिनपछि डिस्चार्ज भएका छन् ।

जटिल अवस्थामा ल्याईएका कपिलवस्तु नगरपालिका–१२ का २२ वर्षे युवा आईसीयूको भेन्टिलेटरमा राखेर उपचार पछि आज डिस्चार्ज भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले बताए ।

 

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचार भइरहेका बिरामीमध्ये निको भएका उनी देशकै पहिलो बिरामी रहेको खनालले बताए । उनलाई जेठ १४ मा अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । उनी मधुमेहका समेत बिरामी थिए । अस्पतालमा ल्याएपछि गरिएको २ पटकको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ आएको र मधुमेहसमेत स्थिर भएकाले डिस्चार्ज गरिएको हो ।

अस्पतालमा ल्याएपछि उनलाई २ दिन भेन्टिलेटरमा राखिएको थियो । स्वास्थ्यमा केही सुधार आएपछि मात्र आईसीयूमा राखिएको थियो । जटिल अवस्था रहेकाले उनको उपचारमा विशेषज्ञसहित ५ जना स्वास्थ्यकर्मी खटेका थिए ।जेठ पहिलो साता भारतको मुम्बईबाट आएका उनी कपिलवस्तु नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसेका थिए ।

१२ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले सिकिस्त उनलाई अन्यत्र जान भन्दै बुटवल रिफर गरेको थियो । उनी उपचारको साटो पुन क्वारेन्टाइमा फर्काइएका थिए । स्वास्थ्य जटिल बन्दै गएपछि जेठ १४ मा उनलाई कोरोना विशेष अस्पतालमा ल्याइएको डा खनालले बताए ।

बुटबलको कोरोना बिषेश अस्पतालमा अहिले पनि ४ जना आईसोलेशन र ३ जना आईसियुमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालकि नर्सिड ईन्चार्ज ज्योति पौडेलले बताईन ।

 

सम्बन्धित शिर्षक :