बुटवलमा क्वारेन्टाइनमा बसेकालाई योग प्रशिक्षण

जुनसुकै रोगले च्याँप्ने पनि मुक्ती हुनका लागि योगा नै उपयुक्त विधि

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाले यहाँका क्वारेन्टाइनमा रहेकाको शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भन्दै योगा अभ्यास सिकाउन थालेको छ । बुटवल–१२, तामनगरमा रहेको बुटवल कोरोना बिशेष क्वारेन्टाइनमा योगा सिकाउन थालिएको हो ।

क्वारेन्टाइनमा रहेकाहरुको रोगप्रतिरोधक क्षमता बढाउन आयुर्वेद चिकित्साको महत्व र स्थानीय जडिबुटीको यथोचित प्रयोगका साथै योगा सिकाउन थालिएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले वताए ।

क्वारेन्टाइनमा राखिएकाहरुलाई तनावबाट मुक्त पार्न र शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त राख्ने उपयुक्त विधिका रुपमा योगा सिकाउन थालिएको प्रमुख सुवेदीले वताए । ‘जब मानिस व्यक्तिगत रुपमा शारीरिक र मानसिक रुपमा स्वस्थ्य हुन्छ, त्यसपछि मात्र उसलाई अन्य कुराको चेत आउँछ’ प्रमुख सुवेदीको भनाइ छ ।

तनाव लिने, नैराश्यता देखाउने, मनलाई अशान्त बनाउँदा जुनसुकै रोगले पनि च्याँप्ने गर्छ तसर्थ यी सबैबाट मुक्त हुनका लागि योगा नै उपयुक्त विधि रहेको विज्ञहरुको भनाइ छ ।

शुक्रबार बिहान एक समारोहका बीच उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले योगाको शुभारम्भ गराउँदै आवश्यक परेमा सबै वडामा विस्तार गर्नेगरि योजना बनाइएको वताईन। तामनगरको क्वारेनटाइनमा रहेका ३६ जनालाई योगा गुरु र आयुर्वेदका जानकारहरुले योगाका विभिन्न आसन सिकाइरहेका छन् ।

केही दिन अघि धागो काराखानामा रहेको कोरोना विशेष अस्पतालमा उपचारका लागि आएका कोरोना संक्रमित रुपन्देहीको कोटहीमाइका युवा करिब एक सातापछि निको भएर घर फर्किए । ती युवा अस्पतालमा नाच्ने र ध्यान गर्ने गर्दै आएको भिडियोसमेत सार्वजनिक भएको थियो ।
नृत्यलाई पनि उपचारको एउटा विधि मानिन्छ र यो योगा अन्तर्गत नै पर्ने योगा गुरु बिष्णुहरि आचार्यले वताए।

कोरोना महामारीका बेलामा सबैतिर तनाव उत्पन्न भइरहेका बेलामा बुटवलले तनाव व्यवस्थापनको प्रभावकारी र उपयुक्त विधिको शुभारम्भ गरेको छ ।

सुरक्षामा खटिनेलाई पनि योगा अभ्यास

यसैबीच बुटवल उपमहानगरपालिकाले सुरक्षामा खटिने नगरका प्रहरी र स्वयमसेवकहरुलाई पनि योगा अभ्यास सिकाएको छ । योगा गुरुमार्फत नगर प्रहरीलाई तनावबाट मुक्त हुने, काममा एकाग्रता बढाउनेलगायतका विषयमा योगाको अभ्यास गराइएको उपमहानगरको स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहले वताए ।

के हो योगा ?

मस्तिष्कको स्वास्थ्यका लागि योगा एक प्राकृत्तिक औषधी हो । योगालाई योग पनि भन्ने गरिन्छ । योगको शाव्दिक अर्थ जोड हो । आत्माको परमात्मासितको जोडलाई नै योग भन्ने गरिन्छ । अहिले मनसँग शरीरको जोड कायम राख्ने र त्यसैका आधारमा शारीरिक तथा मानसिक स्वास्थ्यलाई बलियो बनाउने कामलाई नै योगा भन्न सकिन्छ ।

यस अर्थमा शारीरिक रुपमा स्वस्थ्य, मानसिक रुपमा शान्त र आधात्मिक रुपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई नै योगा भनिन्छ । परापूर्वकालमा ऋषिमुनि तथा योगीहरु अदृश्य शक्तिसित आफूलाई जोड्नका लागि योगा गर्थे । योगा र आयुर्वेदको प्रादूभार्ब नेपालबाटै भएको मानिन्छ । बद्लिदो जीवनशैली तथा खानपानका कारण मानिसहरुलाई स्वस्थ रहन पनि योगा आवश्यक छ ।

योगालाई रोगी व्यक्तिहरुको महत्वपूर्ण चिकित्सा पद्दति पनि मानिन्छ । योगको माध्यमबाट रोगी व्यक्तिले आफुलाई निरोगी, स्वस्थ्य तुल्याउन सक्छन् । स्वस्थ्य व्यक्तिहरुका लागि जीवन पद्दति र योगीरुका लागि साधना पद्धति मानिन्छ ।

योगाका याम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान, समाधि र त्याग जस्ता आठ प्रकारका आसनमध्येको योगाको ध्यान विधि अहिलेको महामारीमा जोसुकैले पनि गर्न जरुरी र आवश्यक देखिएको योगगुरु आचार्यको भनाइ छ ।

केही वर्ष अघि जर्नल अफ अल्टरनेटिभ एण्ड कम्प्लीमेन्ट्री मेडिसिनमा प्रकासित एक सोधपत्रको जर्नलअनुसार दैनिक ६० मिनेट योगा गर्नाले मानिसको मस्तिकमा ‘गाभा’को मात्रा २७ प्रतिशतले बृद्धि हुन्छ । मस्तिष्कलाई आघात पु¥याउँदा नै स्मरण शक्ति नाश हुने, तनाव बढ्ने, संवेदनशीलतामा गडबढी आउने, टाउको दुख्ने र बोलीचाली गर्दा शब्दको उचित प्रवाह नहुने हुन्छ । जुन योगा गर्नाले समस्याको समाधान हुन्छ ।

सम्बन्धित शिर्षक :