स्वास्थ्यसमाचार/ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुरोगको परीक्षण तथा उपचारका लागि क्याथ ल्याब सेवा सुरु भएको छ।
प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सेवाको उद्घाटन गर्नुभएको हो।
क्याथ ल्याब सेवा सञ्चालनमा आएसँगै दाङसहित आसपासका जिल्लाका नागरिक लाई मुटुरोगको परीक्षण तथा उपचारमा सहज हुने अपेक्षा गरिएको छ। यसले मुटुसम्बन्धी उपचारका लागि टाढाका अस्पतालमा जानुपर्ने बाध्यता कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
सेवा शुभारम्भका अवसरमा मन्त्री मेहताले प्रतिष्ठानको सेवा विस्तार र स्तरोन्नतिका लागि मन्त्रालयले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नागरिकलाई आफ्नै क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिष्ठानको क्षमता अभिवृद्धि आवश्यक रहेको उल्लेख गर्दै उहाँले यसको विकासका लागि मन्त्रालयले सहजीकरण गर्ने बताउनुभयो।
प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा आयोजित अन्तरक्रियामा सेवा विस्तार, पूर्वाधार विकास र स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले यस क्षेत्रका नागरिकलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो।
उहाँले प्रतिष्ठानको विकास र स्वास्थ्य सेवा सुधारमा जोड दिनुभयो। त्यसैगरी, कमल सुवेदीले प्रतिष्ठानको समग्र विकासका लागि स्वास्थ्य सेवाको गुणस्तर सुधारसँगै प्रशासनिक सुधार पनि आवश्यक रहेको धारणा राख्नुभयो।
कार्यक्रममा स्वास्थ्य सचिव डा. विकास देवकोटा, मन्त्रीका प्रमुख विज्ञ सल्लाहकार डा. मनोहर प्रधान, प्रतिष्ठानका उपकुलपति डा. अजयकुमार मिश्र र रजिस्ट्रार श्याम लम्साललगायत सहभागी हुनुहुन्थ्यो।


प्रतिकया दिनुहोस्