स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ४० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा त्यसबाट प्रभावित नागरिकको राहत र पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा पदाधिकारीको तलब–भत्ताबाट उक्त रकम संकलन गरी कोषमा जम्मा गरिने भएको हो।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विष्णु गौतमले अस्पताल परिवारको तर्फबाट ४० लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको जानकारी दिए। उनका अनुसार विपद्का कारण प्रभावित नागरिकलाई सहयोग पु¥याउन अस्पतालका कर्मचारीहरूले आफ्नो तलबबाट योगदान गर्ने निर्णय गरेका हुन्।
अस्पतालका प्रशासकीय प्रमुख प्रेम गौतमका अनुसार विभिन्न तहमा कार्यरत कर्मचारीको निश्चित दिन बराबरको तलब कट्टा गरी रकम संकलन गरिनेछ।
जसअनुसार ११ औँ तहका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको ११ दिनको तलब, ७, ८, ९ र १० औँ तहका कर्मचारीको ७ दिनको तलब, ४, ५ र ६ औँ तहका कर्मचारीको ५ दिनको तलब तथा तहविहीन कर्मचारीको २ दिन बराबरको तलब कट्टा गरिनेछ।
यसरी संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिने प्रशासकीय प्रमुख गौतमले बताए।


प्रतिकया दिनुहोस्