स्वास्थ्यसमाचार/स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १०० दिनको उपलव्ध सार्वजनिक गरेको छ । मन्त्री निशा मेहताको सचिवालयले आज २२ बुँदे उपलव्धी सार्वजनिक गरेको हो ।
उपलव्धीहरुमा निशुल्क स्वास्थ्य पोर्टल सार्वजनिक गरी सञ्चालनमा ल्याइएको, विभिन्न संघीय अस्पतालमा एकीकृत स्वास्थ्य ड्यासबोर्ड सञ्चालनमा ल्याइएको, बिरामी प्रेशण निर्देशिका कार्यान्वयनमा ल्याइएको लगायतका विषयहरु उल्लेख छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्नो १०० दिने कार्यकालका महत्वपूर्ण उपलब्धिहरू सार्वजनिक गरेको छ। यस अवधिमा मन्त्रालयले डिजिटल सुशासन, विपन्न नागरिकको निःशुल्क उपचार, अस्पतालहरूको भौतिक तथा प्रशासनिक सुधार, र कर्मचारी व्यवस्थापनमा ऐतिहासिक कार्यहरू सम्पादन गरेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ।
मन्त्रालयले सार्वजनिक गरेका मुख्य २२ बुँदे उपलब्धिहरूको विस्तृत विवरण यस प्रकार छ:
१. निःशुल्क उपचार प्रणाली र ‘निःशुल्क स्वास्थ्य पोर्टल’ को प्रभावकारिता
विपन्न नागरिकको उपचारलाई व्यवस्थित र पारदर्शी बनाउन मन्त्रालयले “लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३” कार्यान्वयनमा ल्याएको छ। यस पोर्टलमा हालसम्म २१७ वटा अस्पताल आबद्ध भइसकेका छन् भने ३,२५५ वटा निःशुल्क शैय्या (Beds) को व्यवस्था गरिएको छ। हालसम्म यसबाट २,२६२ जनाले सेवा प्राप्त गरिसकेका छन्। यसै पोर्टलमा ३१ वटा रक्तसञ्चार केन्द्रलाई लिङ्क गरी रगतको उपलब्धता (रक्तसमूह) समेत हेर्न मिल्ने र गुनासो दर्ता गर्ने प्रणाली थपिएको छ।
२. स्वास्थ्य बीमा कार्यक्रममा सुधार र १८.५८ अर्ब भुक्तानी
विगतका विकृतिहरूलाई व्यवस्थापन गर्दै स्वास्थ्य बीमा कार्यक्रमलाई थप सुदृढ बनाइएको छ। दाबी चुक्ता प्रक्रियालाई तीव्र बनाउन ७० जना थप जनशक्ति परिचालन गरी आर्थिक वर्ष २०८२ मंसीरसम्मको कुल १८ अर्ब ५८ करोड ९१ लाख रुपैयाँ अस्पतालहरूलाई भुक्तानी गरिसकिएको छ। हाल निजी सेवा प्रदायकबाट आकस्मिक सेवा मात्र र सरकारी/सामुदायिक संस्थाहरूबाट सबै सेवा प्रवाह हुने व्यवस्था मिलाई बीमाको सुविधा थैली परिमार्जन गरिएको छ।
३. एकीकृत राष्ट्रिय सूचना प्रणाली र डिजिटल ड्यासबोर्ड
देशभरका स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवाको विवरण र बिरामीको स्वास्थ्य अभिलेख (Patient Record) आवश्यकता अनुसार एक अस्पतालबाट अर्को अस्पतालमा सुरक्षित रूपमा आदान-प्रदान गर्न सकिने गरी “राष्ट्रिय एकीकृत स्वास्थ्य सूचना प्रणाली मापदण्ड” स्वीकृत गरिएको छ। साथै वीर, कान्ति बाल, ट्रमा, भरतपुर र पोखरा अस्पतालको एकीकृत ड्यासबोर्ड तथा जनस्वास्थ्य कार्यक्रमको एकीकृत स्वास्थ्य ड्यासबोर्ड सञ्चालनमा ल्याइएको छ।
४. १४ संघीय अस्पतालमा जलन (Burn) उपचार युनिट र २० करोडको कोष
अग्निपीडितहरूको रैथाने उपचारका लागि देशका १४ वटा प्रमुख संघीय अस्पतालहरूमा (कान्ति बाल, त्रि.वि. शिक्षण, कोशी, नारायणी, भरतपुर, डडेल्धुरा, भेरी, वीर, बी.पी. कोइराला, कर्णाली, पाटन, पोखरा, राप्ती र कीर्तिपुर) जलन उपचार युनिट स्थापना गरिएको छ। यसका लागि २० करोड रुपैयाँको ‘जलन उपचार कोष’ स्थापना गरिएको छ भने ६४ जना स्वास्थ्यकर्मीलाई ‘Primary Burn Care’ तालिम प्रदान गरिएको छ।
५. ‘अस्पताल सेवा सुधार कार्यविधि’ र सुलभ फार्मेसी
अस्पतालहरूको सरसफाइ, स्वास्थ्यकर्मीको बानी-व्यहोरा र सेवाको निरन्तरताका लागि ‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२’ लागू गरी प्रत्येक अस्पतालमा छुट्टाछुट्टै अनुगमन अधिकृत तोकिएको छ। यस्तै, नागरिकलाई प्रदान गरिने निःशुल्क र बीमा अन्तर्गतका औषधिहरू एकद्वार प्रणालीबाट वितरण गर्न अधिकांश संघीय अस्पतालमा ‘सुलभ फार्मेसी’ सञ्चालनमा ल्याइएको छ। सिंहदरबार वैद्यखाना र १५९ आयुर्वेद स्वास्थ्य संस्थाबीच ३३ प्रकारका आयुर्वेदिक औषधि खरिदका लागि सम्झौता समेत भएको छ।
६. नयाँ दरबन्दी, तलब व्यवस्थापन र रात्रिकालीन भत्ता दोब्बर
मन्त्रालयले लामो समयदेखि हुन नसकेको सङ्गठन तथा व्यवस्थापन (O&M) सर्वेक्षण सम्पन्न गरी ९७७ वटा नयाँ संघीय दरबन्दी थप गरेको छ। निजी तथा सामुदायिक अस्पतालका नर्सिङ/स्वास्थ्यकर्मीलाई न्यूनतम पाँचौँ तहको तलब स्केल दिने सम्झौता गरिएको छ भने इन्टर्न/आवासीय चिकित्सकको न्यूनतम तलब व्यवस्थापन गरी स्वास्थ्यकर्मीहरूको रात्रिकालीन ड्युटी भत्ता दुई गुणा (शतप्रतिशत वृद्धि) गरिएको छ।
७. ‘जेन जी’ (Gen Z) आन्दोलनका घाइतेको निःशुल्क उपचार
मन्त्रालयले विभिन्न आन्दोलन, द्वन्द्व तथा प्राकृतिक प्रकोपका घाइतेहरूको निःशुल्क उपचारका लागि कार्यविधि परिमार्जन गरी हालसम्म घाइतेहरूको औषधि उपचार वापत ८६ लाख ८३ हजार रुपैयाँ अस्पतालहरूलाई भुक्तानी गरिसकेको छ। १०२ वटा अस्पतालबाट २,६५५ घाइतेको विवरण सङ्कलन गरी गृह मन्त्रालयमा पठाइएको छ।
८. ‘हेलो स्वास्थ्य’ सक्रिय र आपतकालीन एयर एम्बुलेन्स
मन्त्रालयको हटलाइन १११५ (हेलो स्वास्थ्य) मार्फत प्राप्त शतप्रतिशत गुनासोहरू सम्बोधनका लागि पहल गरिएको छ भने ‘हेलो सरकार’ मा प्राप्त गुनासाहरूमध्ये ९४९ वटा फर्छ्यौट भइसकेका छन्। त्यस्तै, दुर्गम र पहाडी क्षेत्रमा आपतकालीन सेवाका लागि ११ वटा हेलिकप्टर कम्पनीहरूसँग सहुलियत दरमा Medical Evacuation गर्ने सम्झौता गरी हटलाइन १११५ मार्फत सेवा उपलब्ध गराइएको छ।
९. मोबाइल भ्यानबाट १५ हजारभन्दा बढी विषादि परीक्षण
नागरिकको स्वास्थ्य र खाद्य स्वच्छताका लागि काठमाडौँ उपत्यकामा गुड्ने ‘मोबाइल खाद्य प्रयोगशाला भ्यान’ मार्फत पछिल्लो तीन महिनामा १५,६९० वटा नमुनामा RBPR विषादि अवशेष परीक्षण गरिएको छ। साथै, देशभर ३,५४१ पटक खाद्य पदार्थको निरीक्षण तथा अनुगमन गरिएको छ।
१०. स्वदेशी औषधिलाई प्राथमिकता र अन्तर्राष्ट्रिय मञ्चमा सहभागिता
नागरिकलाई निःशुल्क वितरण गरिने अत्यावश्यक औषधिहरू स्वदेशमै उत्पादन गर्ने तयारी स्वरूप स्वास्थ्य सेवा विभागले नेपाल औषधि लिमिटेड सँग सोझै औषधि खरिद गर्ने सम्झौता गरेको छ। अन्तर्राष्ट्रिय क्षेत्रमा, ७९औँ विश्व स्वास्थ्य सभा (WHA) मा नेपालले उत्साहजनक सहभागिता जनाउँदै उपाध्यक्षको भूमिका निर्वाह गरेको छ र स्वास्थ्य जनशक्तिको अन्तर्राष्ट्रिय भर्ना सम्बन्धी महत्वपूर्ण प्रस्ताव पारित गराउन सफल भएको छ।


प्रतिकया दिनुहोस्