कोभिड हिरो नरेशबाबु श्रेष्ठ पूर्ण खोप दिगोपना घोषणामा सम्मानित

स्वास्थ्यसमाचार / स्वास्थ्य सेवा र खोप कार्यक्रममार्फत उल्लेखनीय योगदान पुर्‍याएका स्वास्थ्य कार्यालय प्युठानका प्रमुख (जनस्वास्थ्य अधिकृत) नरेशबाबु श्रेष्ठ सम्मानित भएका छन्।

जिल्ला खोप समन्वय समिति बाँकेले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा कार्यक्रमका अवसरमा शनिबार उनलाई सम्मान गरेको हो। लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरे, स्वास्थ्य मन्त्रालयका सचिव दुर्गालक्ष्मी श्रेष्ठ तथा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले संयुक्त रूपमा सम्मानपत्र प्रदान गरेका हुन्।

श्रेष्ठ कर्णाली प्रदेशबाट समायोजन भई २०७६ भदौ २७ गतेदेखि २०८२ माघ ५ गतेसम्म बाँके जिल्लामा कार्यरत थिए। त्यस अवधिमा उनले पाँच वर्षमुनिका बालबालिकालाई गुणस्तरीय खोप सेवा विस्तार, पूर्ण खोप सुनिश्चितता अभियान तथा खोपजन्य रोगबाट हुने बिरामी र मृत्युदर न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए।

विशेषगरी विश्वव्यापी कोभिड–१९ महामारीका बेला उनले कोभिडविरुद्धको खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न, क्वारेन्टाइन तथा आइसोलेसन व्यवस्थापनमा नेतृत्वदायी भूमिका निर्वाह गर्न र महामारी नियन्त्रणमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै उनलाई सम्मान गरिएको हो।

जनस्वास्थ्य सेवामा पुर्‍याएको योगदानका कारण श्रेष्ठ यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानबाट विभूषित भइसकेका छन्। उनी प्रबल जनसेवा श्री (चौथो), COAS Commendation Badge (नेपाली सेना), Integrity Icon National Covid Hero तथा भारत सरकारको डा. भीमराव अम्बेडकर पुरस्कार लगायत दर्जनौं सम्मान तथा अवार्डबाट सम्मानित भइसकेका छन्।

हाल स्वास्थ्य कार्यालय प्युठानको प्रमुखका रूपमा कार्यरत श्रेष्ठ जनस्वास्थ्य सेवाको गुणस्तर सुधार, खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा नागरिकको स्वास्थ्य अवस्थामा सकारात्मक परिवर्तन ल्याउन निरन्तर सक्रिय छन्।

सम्बन्धित शिर्षक :