शुद्धोदनको नीति तथा कार्यक्रम: स्वास्थ्य क्षेत्र सुधारका ३२ प्रतिबद्धता

स्वास्थ्यसमाचार/ रूपन्देहीको शुद्धोदन गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आयुर्वेद, योग, मातृ तथा बाल स्वास्थ्य, नसर्ने रोग नियन्त्रण, स्वास्थ्य बीमा, डिजिटल स्वास्थ्य प्रणाली तथा ज्येष्ठ नागरिक केन्द्रित कार्यक्रमसहितका व्यापक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

गाउँपालिका अध्यक्ष विष्णु प्रसाद बस्यालले गाउँसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रमअनुसार आयुर्वेद, योग तथा प्राकृतिक चिकित्सालाई प्रवर्द्धन गर्दै नागरिकमैत्री स्वास्थ्य सेवा विस्तार गरिनेछ। नसर्ने रोग (NCD) को रोकथाम तथा व्यवस्थापनमा आयुर्वेद र योग चिकित्साको प्रयोग बढाइने तथा जडीबुटी संरक्षण र प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिनेछ।

गाउँपालिकाले ‘स्वस्थ नागरिक, समृद्ध गाउँपालिका’ अवधारणालाई मुख्य मार्गदर्शक सिद्धान्त बनाउँदै सबै वडामा आधारभूत स्वास्थ्य सेवा प्रभावकारी रूपमा सञ्चालन गर्ने जनाएको छ। मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रको सेवा थप व्यवस्थित बनाइने तथा स्वास्थ्य संस्थामा डिजिटल प्रणाली र HMIS को प्रयोग विस्तार गरिने नीति लिइएको छ।

महिला, बालबालिका र किशोरकिशोरीको स्वास्थ्यलाई विशेष प्राथमिकतामा राख्दै सुरक्षित मातृत्व, परिवार नियोजन, पोषण सुधार तथा विद्यालय स्वास्थ्य कार्यक्रम सञ्चालन गरिनेछ। कुपोषण न्यूनीकरणका लागि समुदायस्तरीय पोषण प्रवर्द्धन अभियानलाई निरन्तरता दिइने भएको छ।

त्यसैगरी मधुमेह, उच्च रक्तचाप र क्यान्सरको प्रारम्भिक पहिचानका लागि नियमित स्वास्थ्य शिविर सञ्चालन गरिने, मानसिक स्वास्थ्य परामर्श सेवा विस्तार गरिने तथा क्षयरोगमुक्त पालिका अभियानलाई थप प्रभावकारी बनाइने नीति सार्वजनिक गरिएको छ।

स्वास्थ्य बीमाको पहुँच र प्रभावकारिता बढाउन विपन्न परिवारको बीमा प्रिमियममा सहयोग जारी राखिने, बीमित नागरिकलाई गाउँपालिकाभित्र अग्रिम भुक्तानी बिना सेवा उपलब्ध गराउने व्यवस्था मिलाइने तथा निजी स्वास्थ्य संस्थाको नियमित अनुगमन गरिने जनाइएको छ।

गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा पारदर्शिता, सामाजिक परीक्षण, नियमित लेखापरीक्षण तथा तथ्यमा आधारित निर्णय प्रक्रियालाई समेत प्राथमिकतामा राखेको छ। स्वास्थ्य सूचकहरूलाई दिगो विकास लक्ष्य (SDGs) सँग तुलना गर्दै वार्षिक प्रगति प्रतिवेदन तयार गर्ने व्यवस्था पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

यस्तो छ निति तथा कार्यक्रम

सम्बन्धित शिर्षक :