बुटवलको नीति तथा कार्यक्रम: जेष्ठ नागरिकको स्वास्थ्यदेखि सुविधासम्पन्न ट्रमा अस्पताल निर्माणसम्मको प्राथमिकता

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि शिक्षा, स्वास्थ्य, सीप, रोजगार, सूचना प्रविधि, खेलकुद, सुशासन तथा आर्थिक विकासलाई केन्द्रमा राख्दै महत्त्वाकांक्षी नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ।

नगर प्रमुख खेलराज पाण्डेयले नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम दोस्रो बैठकबाट सर्वसम्मत रूपमा अनुमोदन भएको हो। “समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल शहर” को दीर्घकालीन सोचलाई कार्यान्वयन गर्ने लक्ष्यसहित उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग, व्यापार तथा सूचना प्रविधिमा आधारित विकासलाई प्राथमिकता दिएको जनाएको छ।

स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै उपमहानगरपालिकाले जेष्ठ नागरिक लक्षित “बा–आमासँग नगरप्रमुख कार्यक्रम” लाई थप व्यवस्थित बनाउने भएको छ। यसअन्तर्गत जेष्ठ नागरिकलाई वर्षमा एक पटक निःशुल्क स्वास्थ्य परीक्षण, प्रयोगशाला परीक्षण तथा थेरापी सेवा उपलब्ध गराइनेछ।

त्यस्तै, सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) लाई थप सुदृढ गरी २०० शय्यामा विस्तार गर्ने, प्यारामेडिकल शिक्षा विस्तार गर्ने तथा आमा सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने नीति लिइएको छ।उपमहानगरपालिकाले बुटवल–११ मा आधुनिक आँखा अस्पताल निर्माण गर्ने तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा १०० शय्याको सुविधासम्पन्न ट्रमा अस्पताल स्थापना गर्ने घोषणा पनि गरेको छ।

महिला स्वास्थ्यतर्फ पाठेघर तथा स्तन क्यान्सर परीक्षण, भिडियो एक्सरे सेवा तथा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। एचआईभी संक्रमित तथा दीर्घरोगी विपन्न नागरिकलाई आर्थिक सहयोग कार्यक्रमलाई निरन्तरता दिइने नीति पनि समावेश गरिएको छ।

पूर्णखोप सुनिश्चितता, कुपोषण न्यूनीकरण, किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा तथा विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको छ।साथै, डेंगु, चिकनगुनिया तथा पानीजन्य रोग नियन्त्रणका लागि “लार्भा खोज र नष्ट गर” अभियान सञ्चालन गरिने उपमहानगरपालिकाले जनाएको छ।

सम्बन्धित शिर्षक :