लुम्बिनी प्रदेश प्रहरीको तीन दिने विशेष अभियान: साइबर अपराधदेखि आत्महत्या न्यूनीकरणसम्म

स्वास्थ्यसमाचार/  लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सार्वजनिक सुरक्षा, सामाजिक जिम्मेवारी र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले जेठ ३० देखि असार १ गतेसम्म तीन दिने विशेष अभियान सञ्चालन गर्ने भएको छ। प्रदेशका विभिन्न स्थानमा आयोजना हुने यो अभियानले प्रविधि, शान्ति र नागरिक संवादलाई एकसाथ जोड्ने लक्ष्य राखेको छ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख (डिआईजी) भूपेन्द्रबहादुर खत्रीका अनुसार बढ्दो साइबर अपराध, लागूऔषध दुर्व्यसन र सडक दुर्घटनाजस्ता आधुनिक सुरक्षा चुनौतीलाई सम्बोधन गर्न प्रविधि र सामुदायिक सहकार्यलाई प्राथमिकता दिइएको हो। “परम्परागत सुरक्षा उपायले मात्र वर्तमान चुनौतीको सामना गर्न सकिँदैन, त्यसैले हामी युवा पुस्ता र प्रविधिलाई सुरक्षासँग जोड्दै छौं,” डिआईजी खत्रीले भने।

अभियानका प्रमुख कार्यक्रमहरू:

-ह्याकाथन (Hack4Safety): बुटवलस्थित प्रहरी तालिम केन्द्रमा हुने यस कार्यक्रममा युवा डेभलपर, इन्जिनियर र विद्यार्थीहरूलाई साइबर सुरक्षा, अनुसन्धान र प्रविधिमार्फत प्रहरी सेवामा योगदान पुर्‍याउने गरी परिचालन गरिनेछ।

-शान्ति पदयात्रा (Peace Walk): बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना हुने यस पदयात्राले शान्ति, सहिष्णुता र सामाजिक सद्भावको सन्देश दिनेछ। शान्ति सुरक्षा प्रहरीको मात्र नभई समाजको साझा दायित्व हो भन्ने भाष्य निर्माण गर्नु यसको उद्देश्य रहेको छ।

-सामुदायिक सचेतना कार्यक्रम: बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने यस कार्यक्रममा विद्यार्थी, अभिभावक र स्थानीय समुदायसँग प्रत्यक्ष संवाद गरिनेछ। जसमा साइबर अपराध, लागूऔषध दुर्व्यसन, सडक सुरक्षा र आत्महत्या न्यूनीकरणजस्ता विषयमा केन्द्रित रहेर जनचेतना जगाइने छ।

प्रहरीले यी कार्यक्रममार्फत प्रविधिमैत्री प्रहरी र जिम्मेवार नागरिकबीचको सम्बन्धलाई बलियो बनाउने विश्वास लिएको छ। लागूऔषध दुर्व्यसन र डिजिटल कुलतलाई गम्भीर स्वास्थ्य चुनौतीका रूपमा लिँदै त्यसको नियन्त्रणका लागि मनोसामाजिक परामर्श र सचेतनामूलक गतिविधिहरूलाई अभियानको मुख्य केन्द्रमा राखिएको छ।

सम्बन्धित शिर्षक :