स्वास्थ्यसमाचार/ गुल्मीको छत्रकोट गाउँपालिकामा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका खोप समन्वय समितिका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको हो।
पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा निर्देशिकाअनुसार आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी गरिएको घरदैलो सर्वेक्षणमार्फत १५ देखि ५९ महिनासम्मका जम्मा ७३९ जना बालबालिकाले पूर्णखोप प्राप्त गरेको सुनिश्चित गरिएको जनाइएको छ।
कार्यक्रममा जिल्ला खोप समन्वय समितिका सचिव तथा जनस्वास्थ्य प्रशासक पुष्पा थापाले गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे तथा स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोखरेललाई प्रमाणीकरण पत्र प्रदान गरेकी थिइन्। साथै गाउँपालिका अध्यक्ष पाण्डेद्वारा गाउँपालिकाका ६ वटै वडाका वडा अध्यक्ष तथा स्वास्थ्य संस्था प्रमुखहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।
पूर्णखोप अभियान सफल बनाउन योगदान पुर्याउने १३ जना खोप कार्यकर्तालाई कार्यक्रममा सम्मान समेत गरिएको थियो। कार्यक्रममा सहभागीहरूले बालबालिकाको स्वास्थ्य सुरक्षा तथा खोपको दिगोपनाका लागि स्थानीय तह, स्वास्थ्यकर्मी र समुदायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए। कार्यक्रमको संञ्चालन पालिका स्वास्थ्य शाखा प्रमुख स्याम सुन्दर पोखरेलले गरेका थिए ।

प्रतिकया दिनुहोस्