स्वास्थ्य मन्त्रालयको निर्देशन: नयाँ कार्यविधि नआएसम्म आइतबार पनि सेवा निरन्तर दिनू

स्वास्थ्यसमाचार/ सरकारले इन्धन खपत घटाउनका सार्वजानिक क्षेत्रमा शनिबार र आइतबार बिदा गरेको छ । स्वास्थ्य क्षेत्र संवेदनशील भएको भन्दै स्वास्थ्य मन्त्रालयले आइतबार सेवा सञ्चालन गर्नु र त्यसको सट्टामा अर्को दिन कर्मचारीलाई बिदा दिन स्वास्थ्य संस्थालाई निर्देशन दियो ।

तर कतिपय स्वास्थ्य संस्थाले भने स्वास्थ्य मन्त्रालयको निर्देशन मानेन् ।आइतबार ओपीडी बन्द गरे । सयौं बिरामी लाइनमा कुरे । तर अस्पतालले सेवा नदिएपछि घर फर्किन बाध्य भए । नेपाल चिकित्सक संंघ (एनएमए) ले चिकित्सकलाई सरकारले दोस्रो दर्जाको नागरिकझैं व्यवहार गरेको भन्दै जनशक्ति थप नभएसम्म र सेवा–सुविधाको विषयलाई उठाएर आइतबार सेवा दिन नसक्ने उर्दी जारी गर्‍यो ।

त्यसपछि स्वास्थ्य मन्त्रालयले आइतबार दिउँसो थप प्रेस विज्ञप्ति जारी गरेको छ ।मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध जनशक्ति र कार्यभारको आधारमा स्वास्थ्य सेवा प्रवाहको व्यवस्था मिलाउन सबै अस्पतालहरूलाई निर्देशन दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘ उक्त कार्यविधि तयार नभएसम्म बिरामीको हितलाई सर्वाेपरि राखी आ-आफ्नो अस्पतालबाट उपलब्ध जनशक्ति र कार्यभारको आधारमा यथासम्भव स्वास्थ्य सेवा प्रवाहको व्यवस्था मिलाउन सम्बन्धित सबैमा अनुरोध छ ।’

कतिपय अस्पताल तथा स्वास्थ्य संस्थाहरूले जनशक्ति अभावका कारण आइतबार ओपीडी सञ्चालन गर्न नसक्ने बताएपछि मन्त्रालयको यस्तो निर्देशन जारी गरेको हो ।

सरकार स्वास्थ्यकर्मीको विश्राम अधिकारबारे सचेत रहेकाले नयाँ कार्यविधिमार्फत स्वास्थ्यकर्मीको हकहित र नागरिकको उपचार अधिकारीबीच सन्तुलन कायम गर्ने व्यवस्थापन तयार गरी कार्यान्यवन गर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आइतबार ओपीडी सेवा सञ्चालन गर्ने अस्पतालहरूलाई धन्यवाद व्यक्त गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार हप्ताको दुई दिन सार्वजनिक बिदा लागु भए पनि बिरामीको हितलाई ध्यानमा राख्दै सञ्चालन गर्ने अस्पताललाई धन्यवाद व्यक्त गरेको हो ।

स्वास्थ्य सेवा जस्तो अत्यावश्यक सेवालाई निरन्तरता दिनु सबैको प्रमुख दायित्व रहेको मन्त्रालयको भनाइ छ ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :