स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि र पर्यटन सुशिल गुरुङका प्राथमिकता

स्वास्थ्यसमाचार/ रुपन्देही–३ मा प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेसका उम्मेदवार सुशिल गुरुङ मतदातासँग आफ्नो विकास योजना प्रस्तुत गर्दै व्यस्त छन्। गुरुङले “सम्रुन्त नेपाल, सम्मानित नेपाली” भन्ने नारासहित स्वास्थ्य, शिक्षा, पूर्वाधार, रोजगारी, कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन र सुशासनलाई प्राथमिकतामा राखेका छन्।

उहाँले भैरहवामा निर्माण सम्पन्न गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने, लुम्बिनी क्षेत्रको पर्यटनमैत्री पूर्वाधार विकास, सीमा नाका व्यवस्थापन सुधार र विशेष आर्थिक क्षेत्र (सेज) प्रभावकारी बनाउने योजना अघि सारेका छन्।

स्थानीय तहमा, सिद्धार्थनगर नगरपालिकाको फोहोर व्यवस्थापन, अव्यवस्थित पार्किङ समस्या समाधान, अधुरा अस्पताल र पूर्वाधार सम्पन्न गर्ने तथा औद्योगिक क्षेत्र विस्तारमार्फत रोजगारी सिर्जना गर्ने योजना गुरुङले प्रस्तुत गरेका छन्।

स्वास्थ्य क्षेत्रमा अस्पतालको स्तर उन्नति, स्वास्थ्य बीमा सहज बनाउने र सबैलाई स्वास्थ्य सेवा पहुँचमा ल्याउने विशेष पहल गरिने उहाँको प्रतिबद्धता छ। शिक्षा क्षेत्रमा प्राविधिक शिक्षा विस्तार, नमूना विद्यालय स्थापना र सरकारी प्राविधिक इन्स्टिच्युट निर्माण गर्ने योजना पनि समावेश छ।

युवालाई उद्यमशीलता विकासका लागि स्टार्टअप फन्ड सञ्चालन, वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीप उपयोग गर्ने तथा धार्मिक–सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने प्रतिबद्धता गुरुङले व्यक्त गरेका छन्। दलित, आदिवासी, मधेसी, मुस्लिम र पछाडि परेका समुदायको अधिकार सुनिश्चित गर्दै समावेशी विकासमा पनि जोड दिइने उनले बताए।

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :