युनिभर्सल मेडिकल कलेज डाक्टरहरू सुरक्षाको माग गर्दै पेन डाउन

स्वास्थ्यसमाचार/ युनिभर्सल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी तथा डाक्टरहरूले सुरक्षाको माग गर्दै पेन डाउन गरेका छन्। सोमबार डाक्टरमाथि भएको आक्रमणलाई लिएर काममा सुरक्षाको ग्यारेण्टीको माग गर्दै दोषीलाई कारवाही नभए सम्म कुनै पनि काम नगरी पेन डाउन गरेका हुन्।

स्वास्थ्य सेवा दिइरहेका डाक्टरलाई कार्यकक्षमै निर्घात कुटपिट गरेको र डराउँदै काम गर्नु वातावरण नहटेसम्म आफूहरुले काम नगरि कालोपट्टी बाँधेर विरोधमा उत्रिएको उनीहरुले बताए।

आइसियू कक्षामै पुगेर डाक्टरमाथि आक्रमण गर्दा पनि प्रहरी प्रशासनले व्यक्ति पहिचान हुँदा पनि अझै सम्म कारबाही नगरेको गुनासो पोख्दै काममा सुरक्षाको प्रत्याभूति नभए सम्म शान्तिपूर्ण आन्दोलन जारी राख्ने बताए।शुक्रबार देखि नवलपरासी बर्दघाटकी ५० वर्षीया यमकुमारी बुढामगरको उपचारकै क्रममा सोमबार बिहान पौने ९ बजे मृत्यु भएको थियो।

मस्तिष्कमा रगत जमेको कारण स्थिती गम्भीर रहेको अवस्थामा आइसियू कक्षमा राखेर बुढामगरको उपचार भइरहेको थियो। यद्यपी उपचारको क्रममा मृत्यु भए पनि आफन्तद्वारा अस्पतालले विरामीको उपचारमा लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै डाक्टरमाथि कुटपिट गरेका थिए।

आइसियू कक्षामै रहेका सर्जन डाक्टर अर्चन घिमिरे माथि आफन्तहरुले हातपात गरेका थिए। कुटपिटबाट घाइते भएका डाक्टरको आकस्मिक कक्षमा उपचार पछि मंगलबार उपचार भइरहेको मेडिकल कलेजका जनसम्पर्क अधिकृत शुशिल गुरुङले बताए।अस्पतालका प्रशासनका अनुसार विरामी थापाको टाउको दुखेकोले सिटी स्क्यान गर्दा मष्तिस्क रगत जमेकाले अवस्था गम्भीर भएपछि आइसियू कक्षामा राखी उपचार गरेका हो।

अस्पताल प्रशासन पनि घटना प्रति गम्भिर छ अस्पतालका जनसम्पर्क अधिकृत गुरूङले भने। बिरामीका आफन्तकोे समूहले चिकित्सक माथि कुटपिट गर्दा पनि अस्पताल र प्रहरी प्रशासन मौन बसेकोले शान्तिपूर्ण आन्दोलनमा आउनु परेको हो।डाक्टरले कुटाई खाएपछि डाक्टरहरुको टिमले पनि कुटपिट गर्दै अस्पताल गेटबाट निकालेको मृतकका आफन्तले बताएका छन् ।

आक्रोशित ६–७ जना आफन्तको समूहले बाहिर निस्किएका आकस्मिक कक्षसहित अन्य डाक्टर र स्वास्थ्यकर्मी माथि पनि हातपात गरेका थिए।
मेडिकल कलेज प्रशासनले दोषीलाई छिटो भन्दा छिटो पक्राउ गरि कारवाहीको दायरामा ल्याउनु पर्ने, चिकित्सकहरुलाई सुरक्षाको प्रत्याभूति दिने गरि काम गर्ने बातावरण सृजना गर्ने माग राख्दै सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका थिए।

नेपाल चिकित्सक संघको लुम्बिनी अञ्चल शाखाले विज्ञप्ति जारी गर्दै चिकित्सकमाथि कुटपिट गर्ने समूहलाई पक्राउ गरी कारबाही माग गर्दै ४८ घण्टे अल्टिमेटम दिएको छ। संघका महासचिव डा। सन्तोष पोखरेलद्वारा हस्ताक्षरीत विज्ञप्तिमा ४८ घण्टासम्म पनि कुटपिटमा संलग्नलाई कारवाही नगरे संघर्षका थप कार्यक्रम गर्न बाध्य हुने बताएका छन्।

सम्बन्धित शिर्षक :