स्वास्थ्यसमाचार / महिलाको स्तनसम्बन्धी रोग पहिचान र उपचारमा नयाँ आयाम थप्दै लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले म्यामोग्राफी सेवा सुरु गरेको छ । साथै, स्तनसम्बन्धी रोगहरूको परीक्षण, परामर्श र उपचारका लागि विशेष ब्रेस्ट क्लिनिक समेत सञ्चालनमा ल्याएको छ ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेबहादुर सारुले सोमबार म्यामोग्राफी तथा ब्रेस्ट क्लिनिकको समुद्घाटन गर्दै यहाँको स्वास्थ्य सेवामा नयाँ आयाम थपिएको बताए । अस्पतालमा ‘स्वचालित ल्याव रिपोर्ट डिस्प्याच’को समेत मन्त्री सारुले शुभारम्भ गरे । अस्पतालमा स्थापना गरिएको म्यामोग्राफी सेवाले महिलाहरुको स्तन क्यान्सर सम्बन्धी रोगहरुको पहिचान तथा उपचारमा ठूलो सफलता मिल्ने अपेक्षा गरिएको छ भने स्वचालित ल्याव रिपोर्ट डिस्प्याच मेसिनबाट सेवाग्राहीले आफै सम्पूर्ण रिपोर्ट बुझ्न पाउने छन् ।
अस्पतालमा शुभारम्भ गरिएका सेवाहरुको शुभारम्भपछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री सारुले स्वास्थ्य सेवालाई सबैको पहुँचमा बिस्तार गर्ने सरकारको दायित्व भएको उल्लेख गरे । सहज रुपमा जनताले स्वास्थ्य सेवा प्राप्त गर्नुपर्ने बताउँदै उनले लुम्बिनी प्रादेशिक अस्पतालले पछिल्लो अवधिमा गर्दै गएका सुधार तथा सेवामा विशिष्टिकरणले जनविश्वास बढ्दै गएको उल्लेख गरे ।
अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले अस्पतालको सेवा बिस्तारका लागि निरन्तर प्रयत्नशिल भएको दाबी गरे ।अस्पतालमा शुभारम्भ गरिएका नयाँ सेवाहरु बारे जानकारी गराउँदै मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले सेवालाई विशिष्टिकृत गर्ने सवालमा उल्लेख्य प्रगति हासिल हुँदै गएको दाबी गरे । अस्पतालमा पछिल्लो १ वर्षको अवधिान विभिन्न सेवाहरुको बिस्तार गरिएको उनले बताए । सोही अनुसार महिलाहरुको स्तन क्यान्सर सम्बन्धी रोगहरुको पहिचान तथा उपचारका लागि म्यामोग्राफी मेशिन जडान गरी सञ्चालनमा ल्याइएको जानकारी दिए ।
संघीय सरकार स्वास्थ्य मन्त्रालय अन्तरगत व्यवस्थापन महाशाखाको करिब २ करोड ८० लाख लागतमा म्यामोग्राफी मेशिन खरिद गरी जडान गरिएको उनले जानकारी दिए । इटालियन प्रविधिको यस मेशिनले स्तनको धेरै कोणबाट लगातार एक्स–रे निकाल्नुका साथै यसलाई कम्प्युटर माध्यमबाट थ्रीडी स्वरुपमा पनि देखाउछ जसले गर्दा रोग पहिचान गर्न सजिलो हुन्छ ।
यो मेशिनले निकै कम विकिरण फाल्ने हुँदा यहाँ काम गर्नेहरुको स्वास्थ्यका लागि पनि उपयुक्त हुने बताउँदै उनले जाडान गरिएको म्यामोग्राफी मेशिनले कुनै पनि महिलामा स्तन क्यान्सर हुने सम्भावनालाई ३÷४ वर्ष पहिले नै पत्ता लगाउन सकिने उल्लेख गरे । यसैगरी अस्पतालमा स्थापना गरिएको ब्रेस्ट क्लिनिकले प्राप्त रिपार्टहरुका आधारमा उपचार सेवा तथा परामर्श सेवा उपलब्ध गराउने बताए ।
अस्पतालमा स्थापना गरिएको अर्को नयाँ सेवा ‘स्वाचालित ल्याव रिपोर्ट डिस्प्याच’ मेशिनले सेवाग्राहीले थप सहज हुने अपेक्षा गरिएको मेसु ढकालले बताए । यो मेशिनबाट सेवाग्राही आफैले क्यूआर स्क्यान गरी सम्पूर्ण मेडिकल रिपोर्ट बुझ्न पाउनेछन् । १० लाख लागतमा जडान गरिएको २ वटा डिस्प्याच मेशिनमा सेवाग्राहीले आफ्नो टिकटमा रहेको क्यूआर स्क्यान गरेपछि सम्पूर्ण मेडिकल रिपोर्ट तथा ल्याव रिपोर्टका विवरणहरु पेपरमा प्रिन्टसहित पाउने छन् ।
अस्पतालले सेवा सहजताका लागि यसअघि एसएमएसबाट मेडिकल रिपोर्ट प्राप्त गर्ने प्रविधि, अनलाइन टिकेटिङ, डिजिटल टिकट काउन्टर, फार्मेसीतर्फ क्यास काउन्टरहरु थप गरी भीड व्यवस्थापन, अप्रेशन थिएटर थप लगायतका महत्वपूर्ण सुधारका कामहरु भैसकेको मेसु ढकालले जानकारी गराए । अस्पतालका वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत राजन केसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।
प्रतिकया दिनुहोस्