लुम्बिनी प्रदेशमा पारिवारिक स्वास्थ्य प्रोफाइल तयार गर्ने अभियान सुरु

पहिलो चरणमा पाल्पा, अर्घाखाँची र बाँके चयन

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश सरकारले पारिवारिक स्वास्थ्य प्रोफाइल तयार गर्ने अभियान सुरु गरेको छ । प्रदेशले पहिलो चरणमा पाल्पा, अर्घाखाँची र बाँके गरी तीन जिल्लामा यो अभियान सुरु गरेको हो । यस अभियान अन्तर्गत मोबाईल मार्फत समुदाय स्तरमा रहेका हरेक व्यक्तिको पारिवारिक स्वास्थ्य प्रोफाइल तयार गरिने छ ।

तानसेनमा आज आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले सो अभियानको उद्घाटन गरे । समुदाय स्तरका परिवार स्वास्थ्य प्रोफाइल तयारी तथा मोबाईल स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रमकै अवसरमा यो अभियानको सुरुवात गरिएको हो ।

सो अवसरमा बोल्दै स्वास्थ्य मन्त्री सारुले नेता, नेतृत्व र व्यवस्थापनका विषयमा सुक्ष्म तरिकाले लाग्नुपर्ने बताए ।सरकारले सुविधा सम्पन्न स्थानमा भन्दा ग्रामीण क्षेत्रमा स्वास्थ्यका जनशक्ति व्यवस्थापन गर्न लागिपरेको भन्दै यसमा सबैको साथ चाहिने बताए । उनले भने, ‘एक्लो व्यक्ति वा संस्थाले मात्रै हुँदैन । यसमा सबै तह र क्षेत्र लाग्नुपर्छ ।’

कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले गर्भवती हुँदाको समयमा जाँच गर्ने, स्वास्थ्य संस्थामा सुत्केरी हुने र सुत्केरी भईसकेपछी गर्ने जाँचको प्रतिशत ९० भन्दा बढी पुर्‍याउने सरकारको लक्ष्य पुरा गर्न सबै लाग्नुपर्ने बताए ।

उनले पाल्पामा ११ प्रतिशत बच्चा कम तौल भएका, ४१ जना मरेको बच्चा जन्मिनु र सातै प्रदेश मध्ये लुम्बिनीमा पोषणको अवस्था कहालीलाग्दो हुनु दुखद भन्दै सरकारले विशेष योजना बनाएर काम गर्नुपर्ने जनाए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले सर्वेक्षण गर्दा त्यसको विश्वसनीयता कायम राख्नुपर्ने, मोबाइलको प्रयोग गर्न नसक्ने नागरिकहरुलाई सेवा दिन अप्ठेरो हुने लगाएतका विषयमा ख्याल गर्न अनुरोध गरे। मेडिकल मोबाइलका पवन जोशीले ओपन स्लो सफ्टवेयर अन्तरगतको मोबाईल एप मार्फत पारिवारिक स्वास्थ्य प्रोफाइल तयार गरिने बताए ।

उहाँले सबै स्वास्थ्य डाटा एकै ठाउँमा संकलन गर्ने र व्यवस्थापन गर्ने, जिल्ला, नगरपालिका र स्वास्थ्य संस्थाको स्वास्थ्य सम्बन्धी जानकारी एकै ठाउँमा हेर्न सकिने बताए  ।

तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले संघ र प्रदेश सरकारको योजना अनुसार स्थानीय तहले कार्यान्वयन गर्न थप लगानी गर्न तयार रहेको बताए । । उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रसस्त लगानी गर्न सके समाज परिवर्तन गर्न सहज हुने बताउनुभयो । उहाँले स्थानीय सरकारले शिक्षा र स्वास्थ्यमा लगानी गर्नुपर्छ भन्ने विषय बोलीमा मात्र सीमित रहेको बताए ।।

कार्यक्रममा माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले अधिकांश स्वास्थ्य समस्याहरुको समाधान गर्न, रोगको भार कम गरि उपचारात्मक सेवाको माग कम गर्न, कम लगानीमा अधिक प्रतिफल प्राप्त गर्न र स्वास्थ्यमा सर्वव्यापी पहुँच बढाउन स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले समन्वय गरेर आधारभूत स्वास्थ्य सेवामा लगानी बढाउनुपर्ने र त्यसका लागि स्थानीय सरकार प्रतिवद्ध रहेको बताए । ।

कार्यक्रममा स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक विशाल सुवेदीले नेपालको संविधान धारा ३५ मा रहेको स्वास्थ्य सम्बन्धी हक अनुसार प्रत्येक नागरिकलाई निशुल्क आधारभूत स्वास्थ्य सेवा राज्यले उपलब्ध गराउनुपर्ने बताउनुभयो । उहाँले पाल्पामा १० देखि १९ वर्ष सम्मका किशोर किशोरीहरूको संख्या ४६ हजार ३ सय ८१ जना रहेको छ ।

२० वर्ष मुनी विवाह गर्ने गर्नेको संख्या उच्च रहेको हुँदा किशोर किशोरीलाई लक्षित गरि काम गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । पाल्पामा ९३ प्रतिशतले गर्भवती जाँच गराउने गरेका छन् ।

लुम्बिनी प्रदेशमा ४४.४ प्रतिशत रक्तअल्पता, ३४ प्रतिशत कम तौल, ६.७ प्रतिशत मोटोपना रहेको छ । पाल्पामा १ हजार जनामा २८ जना ५ वर्षमुनिको उमेरमा मृत्यू हुने तथ्यांक छ ।

नेपालमा सुत्केरी देखी बच्चा जन्माइसकेको अवस्थामा १ लाख जना आमाहरु मध्ये १ सय ५१ जनाको मृत्यू हुन्छ । जसमा ५७ प्रतिशत स्वास्थ्य संस्थामा, १७ प्रतिशत बाटोमा र २६ प्रतिशत घरमा मृत्यू हुने गरेको छ । नेपालको औषत आयु लुम्बिनी प्रदेशमा सबैभन्दा कम ६९.५ वर्ष र कर्णाली प्रदेशमा सबैभन्दा बढी ७५.५ वर्ष रहेको छ ।

सम्बन्धित शिर्षक :