स्वास्थ्यसमाचार/कपिलवस्तुको बुद्धभूमि नगरपालिका ५ चौरीमा संचालन गरिएको बृहत निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय १७ जनाले सेवा लिएका छन् ।
शनिबार श्री नेपाल राष्ट्रिय मावि चौरीमा भएको स्वास्थ्य शिविरबाट ४ सय १७ जनाको स्वास्थ्य जाँच गरिएको वडा अध्यक्ष रोम थापाले बताए ।
शिविरमा १ सय ४७ जनाको ल्याब परिक्षण, १ सय ५ जनाको इसिजी र सबै बिरामीलाई निःशुल्क औषधी वितरण गरिएको थापाले बताए ।
स्वास्थ्य शिविरको उद्घाटन गर्दै मेयर केशव कुमार श्रेष्ठले निःशुल्क स्वास्थ्य शिविरको भरपुर उपयोग गर्न आग्रह गरे । यस्ता शिविरले विपन्न तथा आर्थिक अवस्थाकै कारण बुटवल जान नसकेका नागरिक लाभान्वित हुने भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष रोम थापाले स्वास्थयनै सबैभन्दा ठूलो धन भएपनि यहाँका नागरिकले स्वास्थ्यलाई ध्यान नदिने गरेको बताए । ‘बिरामी अन्तिम अवस्थामा भएपछि मात्र अस्पताल जानुहुन्छ जसले गर्दा झन समस्या हुन्छ उनले भने ।’
साथै यहि चैत्र ४ गते वडाले निःशुल्क आखा शिविर राखेको भन्दै शिविरमा सहभागी भएर आँखा परिक्षण गराउन पनि सबैमा आग्रह गरे ।
अध्यक्ष थापाले भने, ‘म जनताको सेवामा समर्पित हुन आएको हु, तपाईहरुको सेवा गर्ने हुटहुटी छ र निरन्तर जनताकै सेवामा लागि रहने छु ।’
वडा नम्बर ५ शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा पछि परेको हुँदा यहाँ शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै मेडिटेक इन्टरनेशनल हस्पिटल बुटवलका प्रशासन प्रमुख कृष्ण प्रसाद ज्ञवालीले मेडिटेक हस्पिटलले विगत १५ वर्षदेखि सर्वसुलभ रुपमा सेवा दिदै आएको बताए । यस्ता सामाजिक काम विगत देखिनै गर्दै आएको भन्दै आगामी दिनमा पनि निरन्तरता दिने बताए ।
यो शिविरमा आएका बिरामीले यहाँ जाँच गराएको कार्ड लिएर गएमा एक पटकको टिकट शुल्क छुट हुने बताए । यसैगरी एक्सरे र भिडियो एक्सरेमा १०– १० प्रतिशत, ल्याबमा १५, औषधीमा ५, बेडचार्जमामा १५ र अप्रेशन गर्नु परेमा १० प्रतिशत छुट हुने बताए ।
श्री नेपाल राष्ट्रिय माविका प्रधानध्यापक बुद्धिराम अधिकारीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन वडा सचिव निरज विक्रम थापाले गरेका थिए ।स्वास्थ्य शिविर बुद्धभूमि नगरपालिकाको संरक्षण वडा नम्बर ५ को आयोजना र मेडिटेक इन्टरनेशनल हस्पिटल बुटवलको प्राविधिक सहयोगमा भएको थियो ।
महिला रोग विशेषज्ञ डा. सतिश रुपाखेती, मेडिकल अफिसरद्धोय विवेक पन्त र सरिता महत्तो लगाएत स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परिक्षण गरेको थियो ।
प्रतिकया दिनुहोस्