स्वास्थ समाचार ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्यकर्मीहरूले उच्च मनोबलका साथ जनसेवामा समर्पित हुन आह्वान गर्नु भएको छ ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध भएको स्पष्ट पार्नु भएको हाे ।
प्रदेश सरकारले ऐन, नीति, नियममार्फत कर्मचारीकाे वृत्तिविकासकाे ढोका खोलेको उल्लेख गर्दै सरकार कुनै पनि पेशाकर्मीलाई निरुत्साहित नगर्ने, बरु प्रोत्साहित गर्दै अघि बढ्ने बताउनु भयो ।`
प्रदेश सरकारले कुनै पनि पेशाकर्मिलाइ निरुत्साहित गर्दैन, प्राेत्साहित गरेर सेवामा समर्पित हुने वातावरण निर्माण गरेकाे छ´मुख्यमन्त्री आचार्यले भन्नुभयाे-`प्रदेश सरकारले निजामती सेवा ऐन र स्थानीय सेवा ऐन कार्यान्वयन गर्न नियमावली बनाउने कामलाई अन्तिमचरणमा पुर्याएकाे छ ।
यसमा कर्मचारीकाे भावना समेटिन्छ ।´
उहाँले सामाजिक न्याय र पेशागत मर्यादाका लागि स्वास्थ्यकर्मीहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याउनु भयो । यस्तै उहाँले नेतृत्वमा पुगेका व्यक्तिहरूले आफ्नो मूलभूत जिम्मेवारी पूरा गर्नुपर्ने उल्लेख गर्दै संगठनका नेता तथा कार्यकर्ताहरू पारदर्शिता र उत्कृष्टताको उदाहरण बन्नुपर्ने बताउनु भयो ।
उहाँले नेता तथा कार्यकर्ताहरूको कार्यशैलीप्रति प्रश्न उठ्न थालेको विषय स्वीकार्य हुन नसक्ने बताउँदै वैचारिक रूपमा स्पष्ट रहन आवश्यक रहेको उल्लेख गर्नु भयो । सानातिना घटनाक्रमले विचलित हुन नहुने बताउँदै विचारमा दृढता आवश्यक रहेको बताउनु भयो ।
स्थानीय सेवा ऐन कार्यान्वयनका लागि नियमावली तयार पार्ने कार्य भइरहेको जानकारी गराउँदै ऐनमा नमिलेका विषयहरू नियमावलीमार्फत समेटिने उल्लेख गर्नु भयो ।
उहाँले ट्रेड युनियन प्रतिनिधिहरूसँग छलफल भइरहेको बताउँदै नियमावली भावना भन्दा बाहिर नजाने, बरु कर्मचारीको मनोबल उच्च बनाउन र व्यावसायिक विकासलाई अघि बढाउन टेवा पुग्ने गरी तयार गरिने बताउनु भयो ।
प्रदेश सरकार स्वास्थ्यकर्मीहरूको हक, हित तथा वृत्तिविकासका लागि प्रतिबद्ध रहेको स्पष्ट पार्नु भयो । उद्घाटन कार्यक्रम राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ लुम्बिनीका अध्यक्ष चिन्तामणी ज्ञवालीकाे अध्यक्षतामा सम्पन्न भएको थियाे । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने छ ।
प्रतिकया दिनुहोस्