स्वास्थ्यसमाचार/पछिल्लो समयमा गुल्मीमा आत्महत्याको दर बढ्दै गएपछि इस्मा गाउँपालिकामा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम संचालन गरिएको छ।
इस्मा गाउँपालिकाको वडा नम्बर ५,इस्मा रजस्थलको आयोजना र जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्री र जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालको सहजीकरणमा स्थानीयलाई आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो।
सचेतना कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले सकारात्मक सोचसँग सम्बन्धि कुराहरुको बारेमा जानकारी गराउनुभयो।सकारात्मक सोचाइले मानिसले गर्ने हरेक कार्यमा सफलता मिल्ने भन्दै उहाँले सबैले मानसिक स्वास्थ्यलाई विशेष ख्याल गर्न आग्रह गर्नुभयो।
समाजलाई सकारात्मक दिशामा लैजानका लागि सबैमा सकारात्मक सोच हुन आवश्यक रहेको हुँदा हरेक नागरिक तनाव मुक्त हुन र आफू स्वस्थ रहन विशेष ख्याल गर्नुपर्ने कुरामा प्रमुख खत्रीले जोड दिनुभयो।
सबैले सकारात्मक सोचसहित सत्कर्मका लागि अगाडि बढ्न जरुरी रहेको इस्मा गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले बताउनुभयो।हरेक नागरिकले तनाव मुक्त भएर आफ्ना दैनिकी क्रियाकलापलाई निरन्तर दिनुपर्ने भन्दै उहाँले आत्महत्या न्यूनीकरणका लागि नागरिकमा हुने एकोहोरो र निराशालाई हटाउन जरुरी रहेको बताउनुभयो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले आत्महत्या न्यूनीकरणका लागि दिमागबाट नकारात्मक सोच हटाउन जरुरी रहेको बताउनुभयो। मनमा आएका हरेक कुरालाई दिमागले नियन्त्रण गर्नुपर्ने भन्दै उहाँले सबैले खानपानमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो।
विशेषगरी उमेर समूह, सामाजिक, आर्थिक, विविध कारणबाट पनि आत्महत्या हुने गरेको भन्दै डिएसपी दाहालले आत्महत्या न्यूनीकरणका लागि जनस्तरमा प्रहरी तथा विभिन्न सङ्घ संस्थाले समेत सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। चिकित्सकका अनुसार डिप्रेसन, चिन्ता र भय आत्महत्याको प्रमुख कारण रहेको पाइएको छ।
तीन वर्षको अवधिमा गुल्मी जिल्लामा २ सय ४३ जनाले आत्महत्या गरेको र विगत वर्षको तुलनामा यो संख्या बढ्दै गएकोले यस्ता घटना न्यूनीकरणका लागि यो कार्यक्रम उपलब्धिमूलक हुने विचार जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक दाहालले ब्यक्त गर्नुभयो।
यस वडामा आत्महत्या न्यूनीकरणसँगै नागरिकमा सकारात्मक सोचको विकास गर्न सचेतना कार्यक्रम संचालन गरिएको वडा अध्यक्ष झविन्द्र अर्यालले जानकारी दिनुभयो।
आर्थिक,सामाजिक र पारिवारिक तनावका कारणले आत्महत्या गर्ने भएकाले न्यूनीकरण गर्न समुदायका व्यक्तिलाई त्यसबारेमा सचेत पारिएको वडाअध्यक्ष अर्यालले बताउनुभयो।
जिल्ला समन्वय समिति सदस्य सुनिता जिसी कुँवर, वडा सदस्य, कार्यपालिका सदस्य लगायतको सहभागिता थियो। आत्महत्या न्यूनीकरण र सकारात्मक सोचको विकाससँग सम्बन्धित सचेतना कार्यक्रम अत्यन्तै महत्त्वपूर्ण कार्यक्रम रहेको सहभागीहरुले बताउनुभयो। उहाँहरुले वडाले आगामी दिनमा पनि यस्ता महत्त्वपूर्ण कार्यक्रमलाई विशेष महत्त्व दिन आग्रह गर्नुभयो
प्रतिकया दिनुहोस्