स्वास्थ्यसमाचार/रुपन्देही जिल्लामा रहेका ५८ हजार ८ सय ९८ जना किशोरीहरुलाई पाठेघरको क्यान्सर विरुद्धको (एचपीभी) खोप लगाइने भएको छ ।
देश व्यापी अभियान अन्तरगत रुपन्देही जिल्लामा यहि माघ २२ गते देखि फागुन महिनाको ६ गते सम्म खोप लगाइने जिल्ला स्वाथ्य कार्यालय रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीले बताउनु भयो ।
उहाँका अनुसार जिल्लामा दुई चरणमा खोप अभियान चलाइने छ । जस अनुसार पहिलो चरणमा माघ महिनाको २२ गते देखि २९ गते सम्म जिल्लाको बुटवल उपमहानगरपालिका र सिद्धार्थ नगर नगरपालिकामा र माघ २२ देखि २७ सम्म सैनामैना, कञ्चन, गैडहवा, शुद्धोधन, सियारी र मायादेवी गाउँपालिकामा रहेका विद्यालयमा खोप केन्द्र निर्माण गरी खोप अभियान चलाइने छ ।
यस्तै जिल्लामा दोस्रो चरणमा फागुन १ देखि ६ गते सम्म देवदह नगरपालिका, तिलोत्तमा नगरपालिका सहित ओमसतिया, रोहिणी, लुम्बिनी सास्कृतिक, सम्मरीमाई, मर्चवारी गाउँपालिकामा खोप अभियान चलाइने छ ।
पाठेघरको क्यान्सर विरुद्धको यो खोप विद्यालय मा अध्ययनरत कक्षा ६ देखि १० सम्मका सबै छात्राहरु र विद्यालय बाहिरका १० बर्ष उमेर देखि १४ बर्ष उमेर सम्मका सबै छात्राहरुलाई खोप लगाइने छ । अभियानको लागि जिल्लामा कुल ६ सय ८५ खोप केन्द्र सञ्चालन गरिने स्वाथ्य कार्यालय रुपन्देहीका ल्यावटेक्नीसियन अधिकृत खिमलाल पाण्डेले बताउनु भयो ।
पत्रकार सम्मेलनमा डब्लु एचओका चिकित्सक डा सागर तिवारीले भन्नुभयो पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक तत्व यही एच.पि.भी. हो । यो भाइरसको २सय भन्दा बढी किसिमका प्रजातिहरू हुन्छन् । तीमध्ये १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने कारक तत्व मानिन्छ भने यसमध्ये पनि प्रजाति १६ र प्रजाति १८ प्रमुख कारण हुन भन्ने कुरा बिभिन्न अध्ययनहरूले देखाएको छ ।
नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर यी २ प्रजातिबाट भएको पाईन्छ । पाठेघरको मुखको क्यान्सर मुख्य गरेर एच.पि.भी. भाइरसको संक्रमणबाट हुन्छ । यो रोगबाट नेपालमा प्रत्येक दिन ४ जना महिलाको मृत्यु हुन्छ भने बिभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर महिलाको मृत्युको पहिलो कारण बनेको समेत बताउनु भयो ।
त्यस्तै कार्यक्रममा जिल्ला समान्य प्रमुख उमाकान्त चपाईले खोपको वारेमा सबैलाई सहज जानकारी पुराउन सञ्चारकर्मीलाई आग्रह गर्नु भयो।
प्रतिकया दिनुहोस्