दादुरा रुबेला खोप सम्बन्धि जनप्रतिनिधि र सरोकारवालालाई अभिमुखीकरण

स्वास्थ्य समाचार/ दादुरा रुबेला खोप अभियान सम्बन्धि जनप्रतिनिधि तथा सरोकारवालाहरु लाई पालिकास्तरीय अभिमुखीकरण कार्यक्रम बुटवल उपमहानगरपालिकामा सम्पन्न भएको छ ।

सन् २०२३ सम्ममा नेपालबाट दादुरा–रुबेला रोग पूर्णरुपमा निवारण गर्नेउदेश्यले बालबालिकाको स्वास्थ्य रक्षा गर्ने लक्ष्यका साथ पाँच वर्षमुनिका बालबालिकाहरुलाई लक्षित गरी संचालन हुन लागिरहेको खोपको बारेमा जानकारी गराईएको हो ।

बुटवल उपमहानगरपालिकाका काबा प्रमुख गुमादेवी आचार्यको अध्यक्षतामा भएको अभिमुखि करणमा जिल्ला स्वास्थ्य कार्यालय, रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले अभियानको उद्येश्य तथा अपेक्षित प्रतिफल लगायत स्थानीय तह र समुदायको भूमिकाका बारेमा प्रस्तुतीकरण गरे।

तालिममा बुटवल उपमहानगरपालिका जनस्वास्थ्य शाखा खोप कार्यक्रम फोकल पर्सन कल्पना पौडेलले नगरपालिका क्षेत्रभित्रका खोप केन्द्र तथा खोप संचालन हुने मितिका बारेमा गराईन।उनले ९ दिनसम्म संचालन हुने सो अभियानमा ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरु लाई दादुरारुबेला खोप लगाउनुका साथै जन्मेदेखि ५ वर्षमुनिका बालबालिकाहरुलाई पोलियो थोपा समेत खुवाउने व्यवस्था रहेको बताईन ।

उनले बुटवल उपमहानगरपालिकाभित्रका १९ वटा वडामा दादुरा रुबेलाको लागि १०हजार ८सय ५५ जना र पोलियो थोपाको लागि १३ हजार ४सय ५४ जना लक्षित बालबालिकाको संख्या रहेको तथा जम्मा १सय १८ वटा खोप केन्द्रमार्फत् खोप अभियान संचालन गरिने बताईन ।

अभियानका क्रममा हुनसक्ने खोपजन्य अवांछित घटना व्यवस्थापनका लागि बुटवल उपमहानगरपालिकाका मेडिकल अफिसरको नेतृत्वमा लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य टोली रहने समेत व्यवस्था मिलाइएको जानकारी छ ।

जनस्वास्थ्य शाखाका सिअनमी निरीक्षक गिता पाण्डेको संचालनमा सम्पन्न उक्त कार्यक्रममा समापन मन्तव्य दिंदै का.बा. नगर प्रमुख गुमादेवी आचार्यले संघीयता लागू भए पश्चात् स्थानीय सरकारको नेतृत्वमा शुरु हुन गइरहेको यो अभियानलाई सफल पार्नका लागि सबै मिलेर अघि बढ्नु पर्नेमा जोड दिंदै सीमित स्रोत र साधनका बाबजूद कार्यक्रम सफल हुने बताईन ।

उक्त अभिमुखिकरणमा विश्वव्यापी रुपमा चासो र चिन्ताको विषय बनेको नोभल कोरोना भाइरस सम्बन्धी जानकारीमूलक प्रस्तुती समेत गरिएको थियो ।
शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र, बुटवल–१२ का मेडिकल अफिसर डा. राजिव के.सी.ले कोरोना भाइरसका बारेमा जानकारीमूलक प्रस्तुतीकरण गर्दै उठेका जिज्ञासाहरुको जवाफ दिएका थिए ।

डा केसिले विशेषगरी, यसबाट बच्नका लागि अपनाउनुपर्ने रोकथामका उपायहरुका बारेमा छलफल तथा अन्तरक्रिया गरिएकोे थियो । बुटबलमा फागुन १ देखि ९ गतेसम्म उक्त अभियान संचालन हुने छ ।

सम्बन्धित शिर्षक :