२२ माघ देखि पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपीभी खोप अभियान सञ्चालन गर्दै सरकार

स्वास्थ्यसमाचार/सरकारले विश्व क्यान्सर दिवसको अवसर पारेर आगामी २२ माघ देखि पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै खोप सञ्चालन गर्ने मिति तोकेका हुन् ।

यो निर्णय संगै १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ जना किशोरीले निशुल्क खोप पाउने छन् । खोप अभियान १५ दिन (६ फागुन) सम्म चल्ने छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा. अभियान गौतमले किशोरी लक्षित यो कार्यक्रम विद्यालय केन्द्रीत हुने बताए । ‘खोप अभियान चल्छ, १८ हजार ९०० वटा विद्यालयलाई यो खोपका लागि केन्द्र तोकिएको छ । विद्यालय बाहेकका स्वास्थ्य संस्थाहरुमा पनि खोप चल्छ । थप ८ हजार २०० वटा यस्ता केन्द्र तोकिएका छन्,’ उनले भने । डा. गौतमले खोप अभियानमा २७ हजार ८० जना स्वास्थ्यकर्मी, ५४ हजार १६० जना स्वयंसेवक, १५ हजार ६७४ जना सुपरिवेक्षक परिचालन गरिने बताए । यस्तै उनले अभियानका लागि १७ लाख ७० हजार २० डोज खोप तयारी अवस्थामा रहेको १७ हजार ८४३ वटा सेफ्टी बक्स प्रयोग हुने समेत जानकारी दिए ।

विभिन्न अनुसन्धानले बार्षिक करीव २ हजार नेपाली महिलाको ज्यान पाठेघरको मुखको क्यान्सरबाट जाने गरेको छ । यस्तै एचपीभी खोप लगाउँदा एचपीभीको संक्रमणबाट हुने मुखको क्यान्सरलाई ७० प्रतिशतले घटाउन सहयोग पुर्‍याउने पाइएको छ ।

मन्त्री पौडेलले एचपीभीको संक्रमणबाट बचाउन र अकाल मृत्युबाट जोगाउन खोप अभियान सुरु गर्न लागिएको बताए । उनले भने, ‘हामीले धेरै महिलाले पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाएको देखेका छौं, मन्त्री पौडेलले भने, किशोरावस्थामै खोप दिन सकिए धेरै ज्यान जोगाउन सकिन्छ भनेर अभियानकै रुपमा खोप थाल्ने निर्णय गरेका हौं ।’

त्यसो त सरकारले यो वर्ष अभियान सञ्चालन गरे पनि आगामी वर्ष देखि एचपीभीलाई नियमित खोप सूचीमा पार्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी भन्छन्, आगामी वर्षबाट सबै किशोरीले नियमित रुपमा खोप लगाउन पाउने गरी व्यवस्था गरिएको छ ।

नेपालमा एचपीभी खोप निशुल्क गर्ने भनेर राष्ट्रपतिबाट बाचन हुने सरकारको नीति तथा तीन पटक आइसकेको छ । पहिलो पटक आर्थिक वर्ष २०७६/०७७, दोस्रो पटक २०७९/०८ र तेस्रो पटक २०८०/०८१ को नीति तथा कार्यक्रममा यो आएको हो ।

एचपीभी खोपको सुरुवात धेरै पटक देशव्यापी अभियान भने पहिलो पटक

‘ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन’ (गाभी) को सहयोगमा प्राप्त खोप सरकारले यसपटक १० देखि १४ वर्ष उमेर समूहका १६ लाख बढी किशोरीहरुलाई निशुल्क दिने तयारीमा छ । यसरी देशव्यापी रुपमा तोकिएको उमेर समूहका सबै किशोरीलाई दिन थालिएको पहिलो पटक हो । तर एचपीभी खोप सुरु गरेको पहिलो पटक भने होईन ।

सन् २००६ मा पहिलो पटक पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप एचपीभी सुरु गरेको नेपाल सरकारले त्यस यता कम्तिमा तीन पटक यस्ता ‘पाइलटिङ’ गरिसकेको छ ।

सन् २००६ देखि २०१३ सम्म १० जिल्लाका ३० हजार किशोरीहरुलाई पाइलटिङ भन्दै सरकारले पहिलो पटक एचपीभी खोप दिएको थियो ।त्यसपछि सन् २०१५ मा स्वास्थ्य मन्त्रालयले पुन: पाइलटिङ भन्दै कास्की र चितवनमा यो खोप सुरु गरेको थियो ।

गतवर्ष सरकारले अघिल्लो आर्थिक वर्षको बजेटबाट खरीद गरेर ल्याएको २० हजार खोप गत भदौको अन्तिम साता देखि असोजको १० गतेसम्म सातै प्रदेशका सात ठूला अस्पतालमा लगेर १४ वर्षका किशोरीलाई दिएको थियो । तर त्यो बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप अभियानलाई ‘डेमोस्ट्रेसन’को रुपमा परिभाषित गरेको थियो । यसपटक भने खोप देशव्यापी रुपमा सुरु हुन लागेको हो ।

त्यस कारण पनि स्वास्थ्य मन्त्री पौडेलले गत महिना विश्व स्वास्थ्य शिखर सम्मेलनका क्रममा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस लगायत अधिकारीहरुसँग नेपालले सञ्चालन गर्न लागेको खोप अभियानबारे जानकारी गराउँदै आवश्यक सहयोगका लागि आग्रह गरेका थिए ।

एचपीभी खोप किन आवश्यक ?

पाटन अस्पतालका मेडिकल अंकोलोजिष्ट डा. अरुण शाही किन आवश्यक छ भनेर प्रश्न गर्नु अघि एचपीभीबारे जान्न जरुरी रहेको बताउँछन् । उनी भन्छन्, ‘पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन प्यापीलोमा भाइरस (एचपीभी) लाई मानिएको छ । जुन यौन क्रियाकलापको माध्यमबाट महिला वा पुरुषमा सर्दछ । एचपीभी भाइरसहरूको समूह हो ।

यो भाइरस १७० भन्दा बढी प्रकारको हुन्छ । यो संसारभर पाइन्छ । यीमध्ये १४ प्रकारका एचपीभी भाईसरको संक्रमणले पाठेघरको मुखको क्यान्सर, योनी, लिंग, गुदद्धार र घाँटीको समेत क्यान्सर गराउन सक्दछ । एचपीभी १६ र एचपीभी १८ ले मात्रै ७१ प्रतिशत भन्दा बढी क्यान्सर गराउँछ । त्यसैले बालिकाहरूको सक्रिय यौन जीवन शुरु हुनु भन्दा अघि नै अर्थात ९ देखी १४ बर्ष उमेरको बीचमा एचपीभीको संक्रमणबाट हुने क्यान्सरबाट जोगाउन एचपीभी विरुद्धको खोप दिइनु पर्दछ भनिएको हो ।,’

उनका अनुसार विश्वका कतिपय मुलुकहरुले आफ्नो नियमित खोप सेवामा एचपीभी विरुद्धको खोपलाई समावेश गरिसकेका छन् । यो खोप सुरक्षित, प्रभावकारी र अर्थिक रुपले उपयुक्त छ भनि विश्व स्वास्थ्य संगठनले सिफारिस गरिसकेको छ । यसको नकारात्मक असर देखिएको छैन । यो खोपले एचपीभीको संक्रमणबाट हुने मुखको क्यान्सरलाई ७० प्रतिशतले घटाउन सहयोग पुर्‍याउँछ ।

विश्व स्वास्थ्य संगठनले मान्यता दिएको एचपीभी खोपहरूमा अहिले सर्भरिक्स, गाडासित, गाडासित –९, र सिकोलिन ब्राण्डका चारवटा खोपहरू आएका छन् ।स्मरण रहोस् भविश्यमा लाग्न सक्ने पाठेघरको मुखको क्यान्सरबाट जोगाउन विश्वका ११७ वटा देशले त्यस विरुद्धको खोपलाई राष्ट्रिय खोप कार्यक्रममा सूचीबद्ध गरिसकेको छ ।

सम्बन्धित शिर्षक :