लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैली शल्यक्रिया सेवा पुनः सुचारु

अपरेशन सेवा दोब्बर गर्ने योजना अधुरै

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैली शल्यक्रिया सेवा पुनः सुचारु भएको छ । विगत केही महिनाअघिदेखि ल्याप्रोस्कोपी मेशिन विग्रीएर अवरुद्ध भएको सेवा यही साउन १ गतेदेखि पुनः सुचारु भएको हो ।

यो सेवा सुचारु भएसँगै विगतमा पालो कुरेर बसेका र नयाँ बिरामीहरुलाई मिलाएर शल्यक्रिया सेवा सञ्चालन गरिने अस्पताल प्रशासनले जनाएको छ । सेवा सुचारु सातामा ५/६ जना बिरामीको शल्यक्रिया गर्न सकिने अस्पतालका वरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर इन्द्र ढकालले जानकारी दिए ।

अस्पतालमा साताको सोमबार र विहिबार गरी दुई दिन यो सेवा उपलब्ध हुँदै आएको छ । यो सेवालाई थप बिस्तार गर्नका लागि अप्रेशन थिएटर थप गर्नुपर्ने भए पनि केही प्राविधिक समस्याले बिलम्ब भइरहेको डा. ढकालले बताए । ढकाललाई लुम्बिनी प्रदेश सरकारले अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त गरेपछि साउन महिनाभित्रै अपरेशन थिएटर थप गरी शल्यक्रिया सेवालाई दोब्बरमा वृद्धि गर्ने प्रतिवद्धता गरेका थिए ।

तर, उनको नियुक्तिको विषयलाई लिएर अदालतमा मुद्दा परेपछि हाल आर्थिक तथा प्रशासनिक अधिकार नभएका कारण प्रतिवद्धता पूरा गर्न नपाइएको डा. ढकालले गुनासो गरे । अस्पतालमा शल्यक्रिया सेवाका लागि बिरामीले महिनौं समय पालो कुर्नुपर्ने अवस्था रहेको छ । ढकाल मेसु भएपछि गत असारदेखि अनलाइन टिकेटको व्यवस्था सुरु गरेका थिए भने अस्पतालमा नियमित औषधी सेवनका लागि आउने बिरामीहरुलाई मध्येनजर गरी विहान ८ बजेदेखि नै रिफिल सेन्टर सञ्चालनमा ल्याउने व्यवस्था गरेका थिए ।

लुम्बिनी प्रदेश सकारको गौरव आयोजनाका रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा अदालतकै कारण बिकास समिति निश्क्रिय छ भने मेडिकल सुपरिटेन्डेन्टको विषय पनि अदालतमै गएर अड्किएको छ । ६ अरब बढीको नयाँ भवन निर्माणको कार्य जारी रहेको अस्पतालमा अदालती विवादले नेतृत्वविहीन बन्दा योजनाको प्रभावकारी कार्यन्वयनमा प्रश्न उठेको छ ।

सम्बन्धित शिर्षक :