बुटवलको बजेट २ अर्ब ९९ करोडः स्वास्थ्यलाई बिषेश प्राथमिकता

वडा नम्बर १३ मा फिजियोथेरापी अस्पताल सञ्चालन गरिने

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाले २ अर्ब ९९ करोड २२ लाख बराबरको आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । आइतबार उपप्रमुख सावित्रा देवी अर्यालले नगर सभाको १५औं अधिवेशनको तेश्रो बैठकमा चालु तर्फ ४८ दशमलव ६५ प्रतिशत र पूँजीगततर्फ ५१ दशमलव ३५ प्रतिशत रहने अनुमानसहितको आगामी आर्थिक वर्ष २०८१/ ०८२ को वार्षिक बजेट तथा कार्यक्रम पेश गर्नु भएको हो।

बुटवलले आगामी आर्थिक वर्षमा आन्तरिक श्रोतबाट ८५ करोड राजस्व संकलन गर्ने अनुमान गरेको छ । बजेट प्रस्तुत गर्दै उपप्रमुख अर्यालले, स्वास्थ्य, विशेष प्राथमिकता दिदै बजेट छुट्याइएको वताउनु भयो।

उहाले बजेटमा उल्लेख भएअनुसार बुटवलले आगामी आर्थिक वर्षमा वडा नम्बर १३ र १७ मा निर्माण सम्पन्न भएका अस्पताल सञ्चालन गर्ने गरी बजेट ल्याएको छ । वडा नम्बर १३ मा फिजियोथेरापी अस्पताल र १७ मा जनरल अस्पताल सञ्चालन गर्ने गरी पर्याप्त बजेट विनियोजन गरेको अर्यालले वताउनु भयो।

यस्तै, बुटवलले निजी तथा सार्वजनिक क्षेत्रसँग सहकार्य गरी सार्वजनिक निजी साझेदारी कार्यक्रममार्फत् बुटवल ११ मा १ सय बेडको अस्पताल स्थापनाका लागि ५ करोड रुपैयाँ छुट्याएको छ ।

बजेट प्रस्तुत गर्दै उपप्रमुख अर्यालले सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न १ करोड रुपैयाँ, नगर मातहतका अस्पताल, स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्रहरुको स्तरोन्नति गर्दै थप व्यवस्थित र सुविधासम्पन्न बनाउन १ करोड रुपैयाँ बजेट विनियोजन गरेको वताउनु भयो।

बुटवलले बुटवल बासीलाई उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ निशुल्क उपलब्ध गराउने, जेष्ठ नागरिक लक्षित बा आमासँग नगरप्रमुख कार्यक्रममार्फत ज्येष्ठ नागरिकको स्वास्थ्य हेरचाह गर्ने र उपप्रमुख सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत गर्भवती महिलालाई निशुल्क प्रयोगशाला सेवालाई निरन्तरता दिएको छ ।

आइतबारको बैठकमा नगर प्रहरी ऐन र अन्य केही ऐनहरु शंसोधनका लागि टेबुल भएका छन् । बुटवलको नगरसभाको आगामी बैठक २१ गते बोलाइएको छ ।

सम्बन्धित शिर्षक :