पाल्पाको रामपुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा

स्वास्थ्यसमाचार / पाल्पाको रामपुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । पूर्ण खोपको मात्रा छुटेका बालबालिकाहरुलाई खोप प्रदान गरेसँगै नगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरीएको हो ।

रामपुरलाई घोषणा गरे संगै जिल्लाका १० वटै पालिका पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा भएको छ । रामपुर नगरपालिकामा एक कार्यक्रम गरी जिल्ला खोप समन्वय समिति पाल्पाले प्रमाण पत्र हस्तान्तरण गरेको थियो ।

जिल्ला खोप समन्वय समितिका संयोजक टंकनाथ खनाल, समितिका सदस्य सचिव डा .राजेन्द्र कुमार गिरीले रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापा, उपप्रमुख बालकुमारी थापालाई पूर्णखोप सुनिश्चितता भएको प्रमाण पत्र प्रदान गरी पूर्णखोप सुनिश्चित पालिका घोषणा गर्नु भएको थियो ।

खोप समन्वय समितिका सदस्य सचिव एवं स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डाक्टर राजेन्द्र कुमार गिरिले पाल्पालाई विसं २०७० फागुन १३ गते नेपालकै पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको र संघियता पश्चात २०७९ देखि पाल्पालाई निरन्तर तेस्रो वर्ष सम्म पूर्ण खोप सुनिश्चित जिल्ला घोषण गर्न सफल भएको बताउनुभयो ।

जिल्लालाई औपचारिक रुपमा यस वर्ष घोषणा गर्न बाँकी रहे पनि रामपुर संगै १० वटै पालिका पूर्ण खोप सुनिश्चित घोषणा भएको जानकारी दिनुभयो ।जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले रामपुर नगरलाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गर्दै उहाँले स्वास्थ्य र शिक्षामा गरिएको लगानी तत्काल नदेखिने भए पनि बालबालिकाको भविष्यमा यसको महवपूर्ण प्रभाव रहने बताउनुभयो ।

उहाँले भौतिक संरचना संगै स्वास्थ्य र शिक्षामा लगानी वृद्धि गर्न आग्रह गर्नुभयो । उहाँले पछिल्लो समय सर्ने रोग भन्दा पनि नसर्ने रोगको संक्रमण बढ्दै गएको भन्दै यस तर्फ सचेत हुने समय आएको बताउनुभयो ।

राज्यले खोपको लागि ठूलो धनराशी खर्च गर्दै आएको बताउँदै खोपलाई सामान्य रुपमा नलिन आग्रह गर्नुभयो ।रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले दिर्घकालिन विकास भनेको स्वास्थ्य र शिक्षामा लगानी भएको भन्दै नगरपालिकाले विगतको वर्षको तुलनामा थप कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । पूर्ण खोप सुनिश्चितता घोषणा गर्नका लागि सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।

पूर्ण खोप सुनिश्चिचताको लागि जिम्मेवारीको रुपमा लिएर निरन्तर रुपमा लाग्न स्वास्थ्यकर्मीहरुलाई अनुरोध गर्नुभयो । रामपुर नगरपालिका उपप्रमुख बालकुमारी थापाले सामाजिक विकास विना पूर्वाधार विकासले सार्थकता नपाउने भन्दै स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन नगरपालिका लागि परेको बताउनुभयो ।

रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का वडा अध्यक्ष कपिल बहादुर खाँणले पूर्ण खोप पाउनु बालबालिकाको अधिकार भएकाले सुनिश्चितताका लागि सबै जना सहकार्य गर्दै लाग्नु पर्नेमा जोड दिनुभयो । रामपुर नगरपालिका स्वस्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले चालु आर्थिक वर्षमा जन्मदेखि १५ महिना सम्मका ६ सय ८ र १६ महिना देखि ५९ महिना सम्ममा २ हजार १४० जनाले पूर्णखोप प्राप्त गरेको तथ्याङ्क रहेको स्वास्थ्य शाखाका प्रमुख गिरिराज घिमिरेले बताउनुभयो ।

बैशाख महिनामा महिला स्वास्थ्य स्वंसेविका, स्वास्थ्यकर्मीहरु परिचालन गरी सबै वडामा खोज र खोप अहिभाया सञ्चालन गरिएकोमा एकजना बालिका नियमित खोप लगाउन छुटेको पाईएको र अहिले नियमित खोपको मात्रा पुरा गर्ने क्रममा रहेको घिमिरेले बताउनुभयो ।
खरामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम, स्वास्थ्य शाखा प्रमुख घिमिरेको स्वागत र गाँडाकोट स्वास्थ्य चौकी प्रमुख मजिबुर रहमान शेखको सञ्चालनमा भएको हो ।

त्यस्तै कार्यक्रमको अवसरमा नगरभित्रका १६ वटा स्वास्थ्य संस्था मध्ये गाँडाकोट स्वास्थ्य चौकी र गेझा स्वास्थ्य चौकीलाई किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ ।साथै कार्यक्रमको अवसरमा उमेरहदका कारण अवकाश प्राप्त दर्छा स्वास्थ्य चौकीका सिनियर अहेव कृष्ण प्रसाद वाग्लेलाई सम्मान सहित विदाई गरिएको थियो ।

सम्बन्धित शिर्षक :