लुम्बिनीमा ३६.४ प्रतिशत सुर्तीजन्य पदार्थ सेवनकर्ता ७ प्रदेशमै बढी

स्वास्थ्यसमाचार/सुर्तीजन्य पदार्थको सेवनकर्ता सबै भन्दा धेरै लुम्बिनी प्रदेशमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।नेपालमा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनसम्बन्धी घोराहीमा राखिएको अन्तक्र्रिया कार्यक्रममा स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले लुम्बिनी प्रदेशमा ३६ दशमलव ४ प्रतिशत सुर्तीजन्य पदार्थ सेवनकर्ता रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार लुम्बिनीपछि सुदूरपश्चिम प्रदेशमा ३३ दशमलव ७ प्रतिशत सेवनकर्ता रहेका छन । सबै भन्दा कम प्रयोगकर्ता बागमती प्रदेशमा २२ दशमलव ९ प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा नेपाल स्टेप्स सर्वेक्षण २०१९ अनुसार हाल सुर्तीजन्य पदार्थ सेवन गर्नेको प्रतिशत २८ दशमलब ९ प्रतिशत रहेको जानकारी दिइएको थियो ।

मन्त्रालयका अनुसार धुम्रपान गर्ने १७ दशमलब १ प्रतिशत र धुम्रपान बाहेकका सुर्तीजन्य पदार्थ प्रयोगकर्ता १८ दशमलब ३ प्रतिशत रहेका छन् । पहिलोपटक धुम्रपान शुरु गर्दाको औसत उमेर १७ दशमलब ८ रहेको छ ।

कार्यक्रममा स्वास्थ्य सचिव डा। विकास देवकोटाले सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्न सचेतनाका कार्यक्रम विद्यालयस्तरमा लैजान जरुरी रहेको उल्लेख गर्दै स्थानीय तहले पनि यसमा ध्यान दिनुपर्ने बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जिल्लामा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका सवालमा अनुगमन नभएको स्वीकार्दै छिट्टै संयन्त्र तयार पारेर अनुगमन गरिने प्रतिबद्धता जनाउनुभयो ।

घोराही उपमहानगरगालिकाको स्वास्थ्य शाखा प्रमुख राधा पौडेलले प्राथमिकतामा राखेर सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनमा लाग्नुपर्ने उल्लेख गर्दै अब घोराहीले स्कूल स्कूलमा सचेतनाका कार्यक्रम लैजाने खालका कार्यक्रम बनाउने बताउनुभयो ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष सन्तोष सुवेदीले सबैको सरोकारको विषय भएकोले सबैको सहकार्यमा नियन्त्रण र नियमनका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपानेले आगामी वर्षदेखिनै सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन सम्बन्धी कार्यक्रम जनस्तरमा लैजाने बताउनुभयो ।

स्वास्थ्य सचिव डा विकास देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्रालयका कानुन उपसचिव गोपीकृष्ण रेग्मीले सुर्तीजन्य पदार्थका विषयमा भएका कानुनी व्यवस्थाबारे जानकारी दिनुभएको थियो ।

स्वास्थ्य कार्यालय दाङका प्रमुख डम्बरबहादुर कुँवरको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय दाङका प्रशासन प्रमुख वामदेव शर्माले गर्नुभएको थियो ।

कानुन छ कार्यान्वयन फितलो

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न कानुनी व्यवस्था भए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । सुर्तीजन्य पदार्थ ९नियन्त्रण र नियमन गर्ने० ऐन २०७६, सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ जारी भए पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा यसको नियन्त्रण पनि हुन सकेको छैन भने नियमन पनि भएको छैन ।

अहिले पनि सुर्तीजन्य पदार्थ सेवनको दर नघटेको सरकारी तथ्यांक छ । ऐनमा कडा व्यवस्था गरिए पनि सचेतना र अनुगमन नहुँदा सुर्तीजन्य पदार्थ सेवन गर्ने क्रम नरोकिएको हो ।

ऐन अनुसार सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्ती सेवन गर्न मिल्दैन । कारागार, विमानस्थल, रेष्टुरेन्ट वा होटल वा तोकिएको अन्य कुनै खास ठाउँमा अन्य व्यक्तिलाई प्रतिकूल असर नपर्ने गरी धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न सक्ने ऐनमा व्यवस्था छ तर अनुगमन प्रभावकारी नहुँदा अहिले पनि सार्वजनिक स्थलमै सुर्तीजन्य पदार्थ सेवन रोकिएको छैन ।

कसैले पनि अठार वर्ष उमेर नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न वा गर्न लगाउन वा निःशुल्क उपलब्ध गराउन नपाउने व्यवस्था सुर्तीजन्य पदार्थ ९नियन्त्रण र नियमन गर्ने० ऐन २०७६ छ तर व्यवहारमा छैन ।

कसैले पनि शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, ज्येष्ठ नागरिक आश्रम, पुनस्र्थापना केन्द्र, अनाथालय र नेपाल सरकार तथा प्रदेश सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तिमा एक सय मिटरभित्रको घर, पसलबाट सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न गराउन नपाउने व्यवस्थाको पनि कार्यान्वयन नभएको पाइएको छ ।

विद्यालय तथा विश्वविद्यालयको पोशाक लगाई सुर्तीजन्य पदार्थ खरिद गर्न जाने जुनसुकै उमेरको विद्यार्थीलाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने व्यवस्था पनि ब्यवहारमा लागू नै भएको छैन ।

कसैले ऐनविपरीत सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरे वा नगरेको वा उत्पादक वा व्यवस्थापकले यस ऐन बमोजिम गर्नुपर्ने कुराहरू पूरा गरे वा नगरेको सम्बन्धमा निरीक्षकले आफ्नो क्षेत्राधिकारभित्रको जुनसुकै सार्वजनिक स्थलको निरीक्षण गर्न सक्ने स्पष्ट व्यवस्थाको पनि जिल्लामा कार्यान्वयन भएकै छैन ।

त्यतिमात्रै होइन निरीक्षण गर्दा कसैले सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेको वा उत्पादक वा व्यवस्थापकले यस ऐन बमोजिम गर्नुपर्ने कुराहरू पूरा गरेको नदेखिएमा निरीक्षकले त्यस्तो ठाउँमा धूम्रपान वा सुर्ती सेवन गर्न रोक लगाउन वा यस ऐन बमोजिम गर्नुपर्ने कुराहरू पूरा गर्न सम्बन्धित उत्पादक वा व्यवस्थापकलाई निर्देशन दिन वा ध्यानाकर्षण गराउन सक्ने ऐनमा भनिएको छ । तर ऐन बने पनि जिल्लामा अनुगमन निष्प्रभावी छ ।

सम्बन्धित शिर्षक :