स्वास्थ्यसमाचार/काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत डाक्टरमाथि भएको हातपातको घटनाप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ ।
संघका अनुसार सोमबार बिरामीको मृत्युको विषयलाई लिएर केएमसी अस्पतालमा कार्यरत चिकित्सक प्रा डा बिनिता प्रधान र डा पूजा शाहमाथि हातपात हुनुका साथै अस्पतालमा तोडफोड भएको थियो ।
‘अस्पताल जस्तो संवेदनशील क्षेत्रमा उपचारको क्रममा भएको मृत्युलाई लापरबाही भनी अस्वाभाविक आरोप लगाई स्वास्थ्य संस्था नै तोडफोड गर्ने जस्ता अपराधिक कार्य गरेको घटना प्रति यस संघ घोर भत्सर्ना र निन्दा गर्दछ’, संघका महासचिव डा सञ्जीव तिवारीले विज्ञप्तिमा भनेका छन् ।
उपचारमा कुनै त्रुटि भएको शंका लागे कानुनी प्रक्रियामा जाने व्यवस्था हुँदाहुँदै चिकित्सकमाथि कुटपिट र तोडफोड गर्दा स्वास्थ्य सेवा प्रवाहमा समस्या हुने संघले बताएको छ ।
संघले चिकित्सकमाथि कुटपिटमा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को पहिलो संशोधन २०७९ अनुसार कारबाही गर्न पनि माग गरेको छ ।
प्रतिकया दिनुहोस्