एच.आई.भी. एड्सको न्यूनिकरणका लागि ओपन म्युजिक लाइभ कन्सर्ट

चिसो मौसमलाई रंगिन र तातो बनाएका कालीले आफ्नो गीत प्रस्तुत गर्दा दर्शक झुमे

स्वास्थ्यसमाचार/सधै फेसनमा भन्ने थिमका साथ एच.आई.भि. एड्सको न्यूनिकरणका लागि बुटवलमा ओपन म्युजिक लाइभ कन्सर्ट सम्पन्न भएको छ।अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसरमा मंगलबार दिउसो ३ बजेदेखि बुटवलमा म्युजिक लाइभ कन्सर्ट गरिएको थियो ।

एड्स हेल्थ फाउण्डेसन AHF को सहयोग तथा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको संयोजन र आस्था समुहको आयोजनामा बुटवलको ट्राफिकचोकमा ओपन म्युजिक लाइभ कन्सर्ट गरिएको एड्स हेल्थ फाउण्डेसनAHF का दिव्यराज जोशीले बताउनुभयो।

लाइभ कन्सर्टमा नेपाली गीत संगीतका ख्यातिप्राप्त गायक तथा संगीतकार काली प्रसाद बास्कोटाले करिव १ दर्जन गीत मार्फत ट्राफिक चोकलाई झुमाएका थिए। चिसो मौसमलाई रंगीन र तातो बनाएका कालीले आफ्नो गीत प्रस्तुत गर्दा दर्शक झुमेका थिए। भ्यालेन्टाइनको मौका छोपी कालीले आफ्ना निर जैले रिसाउनी, अजम्मरी लाउला पिरती,माया रैछ र भर रैछ नि ,जीवन जात्रा हो लगायतका दर्जन गीत गाएका थिए। वान्स मोरको बर्षात भएको कालीको प्रस्तुतिले मंगलबार राती एकैछिन ट्राफिक चोक तात्यो।

कन्सर्टमा नेभारा फेसन डिजाइनिङ्ग इन्स्टिच्युटको फेसन-शो संगै कलाकारहरु निरज थापा, सगुन थापा, बिगेन गुरुङ, अस्टिन शाही, कुश्मिता पुन लगायत सत्यलाई कला केन्द्रको नृत्य प्रस्तुति, एचआईभी सम्बन्धी जनचेतनाका साथै नाटक, लोकल ब्याण्ड प्रस्तुति र स्थानिय कलाकारहरुको प्रस्तुति समेत देखाइएको आस्था समुहका केशब पुन मगरले जानकारी दिनुभयो।

कन्डमको विषयमा जनचेतना जगाउन मंगलबार ३ बजे देखि राती ९ बजेसम्म कन्सर्ट गरिएको थियो भने एचआईभी एड्स र कण्डम सम्बन्धि नाटक प्रदर्शन, कण्डम वितरण, एचआइभी टेस्ट र कण्डम सम्बन्धि विभिन्न खेलहरु समेत खेलाइएको एड्स हेल्थ फाउण्डेसनका राधेश्याम श्रेष्ठले बताउनुभयो।हिजो सम्पन्न म्युजिक लाइभ कन्सर्ट कार्यक्रमको होस्ट बुटवलका ख्याति प्राप्त आरजे सुमन श्रेष्ठले गरेका थिए।

सम्बन्धित शिर्षक :