चिनीजस्तै नुन पनि बढी सेवन स्वास्थ्यका लागि जोखिमपूर्ण :पोषणविद्

खानपानमा नुनको मात्रा बढी हुँदा थाइराइडलगायत नसर्ने खालका रोगको जोखिम बढ्दै

स्वास्थ्यसमाचार/ चिनीजस्तै नुन पनि बढी सेवन गर्न नहुने भन्दै पोषणविद्हरूले सचेत गराएका छन् । आयोडिन मन्थका अवसरमा राष्ट्रिय उपभोक्ता मञ्चद्वारा  काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरूले सचेत गराएका हुन् ।

नुन उत्पादन, ढुवानी, भण्डारण, वितरण र उपभोग सम्बन्धमा जनचेतना जगाउन विश्वव्यापीरूपमा उपभोक्ता जागरण गराउने उद्देश्यले मनाउँदै आएको महिनाव्यापी प्रचार अभियानको पहिलो दिन मञ्चले आयोजना गरेको कार्यक्रममा बढ्दो शहरीकरणसँगै नागरिकमा खाद्यवस्तुको उपभोग गर्ने बानीमा पनि परिवर्तन भइरहेको र त्यसमा पनि जंकफुडको व्यापक प्रयोगले खानपानमा नुनको मात्रा बढी हुँदा थाइराइडलगायत नसर्ने खालका रोगको जोखिम बढ्दै गएको बताइएको छ ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालय, महिला कल्याण महाशाखा, न्युट्रिसन प्रमुख लिलाबिक्रम थापा, आयोडिन ग्लोबल नेटवर्कका कन्ट्री रिप्रिजेन्टिटिभ मचाराजा महर्जन, युनिसेफ नेपालका न्युट्रिसन अफिसर नवीन पौड्याललगायतले वढी नुन सेवनले विभिन्न स्वास्थ्य समस्या आउन सक्ने बताएका हुन् । तथापि हालसम्मका अध्ययनले आयोडियुक्त नुन सेवन गर्नेभन्दा नगर्नेमा बढी स्वास्थ्य समस्या आउन सक्ने देखाएको पनि उनीहरूको दाबी गरेका छन् ।

कार्यक्रममा साल्ट टे«डिङ कर्पोरेसनका नायब कार्यकारी प्रमुख कुमार राजभण्डारी, वाणिज्य, आपूर्ति तथा उभपोक्ता संरक्षण विभागका निर्देशक आनन्दराज पोखरेलले साल्ट टेडिङले बिक्री गर्ने आयोनुनको गुणस्तरमा कुनै समस्या नरहेको दाबी गर्नुभयो । पोरखेलले भन्नुभयो, ‘विभागले हालै खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागको ल्याबमा आयोनुनको गुणस्तर परीक्षण गरेको थियो, उक्त परीक्षणमा आयोनुनको गुणस्तरमा कुनै समस्या देखिएन तर क्रस चेकिङका लागि हामीले अर्को ठाउँमा पनि परीक्षणका लागि पठाएका छौँ, त्यो रिपोर्ट भने आउन बाँकी छ ।’

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले केही व्यापारीले साल्ट टे«डिङले बिक्री गर्ने आयोडिनयुक्त नुनका कारण रक्तचाप, थाइराइडलगायतका नसर्ने रोगको जोखिम बढेको भ्रम फैलाउँदै सिधेनुन प्याकेजिङ गरेर महँगोमा उपभोक्तालाई भिडाउने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘केही उद्योगीले आयोडिनयुक्त नुन स्वास्थ्यका लागि हानिकारक रहेको भन्दै ६० रुपैयाँ केजीमा पाइने सिधेनुन प्रशोधन र प्याकेजिङ गरेर तीन सय रुपैयाँसम्ममा बिक्री गरेको पाइएको छ । जुन उपभोक्तामाथि ठगी हो ।’ राष्ट्रिय उपभोक्ता मञ्चका महासचिव पुष्पराम पौडेलले अति संवेदनशील मानवीय स्वास्थ्यमा खेलबाड हुने कुरामा सबै सचेत र सजग हुनुपर्ने भन्दै हल्लाका पछाडि नलागी उपभोक्ताले स्वस्थकर वस्तु खरिद र उपभोगमा ध्यान दिनुपर्ने बताउनुभयो । जसका लागि स्थानीय सरकारले सहजीकरण गर्नुपर्ने उहाँको सुझाव थियो ।

विश्व खाद्य संगठनको आहृवान र मापदण्डबमोजिम २०२० देखि नेपाल सरकारले आमउपभोग गर्ने नुनमा आयोडिन मिश्रण गरी वितरण गर्दै आएको छ । आयोडिनयुक्त नुन साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत् विगत ६० वर्षदेखि सरकारले दुर्गम क्षेत्रमा ढुवानी अनुदानसमेत दिई बिक्रीवितरण गर्दै आएको छ ।

आयोडिनयुक्त नुनको अभावमा आजभन्दा ६० वर्षअघि नेपालमा गलगाँड, सुस्त मनस्थिति, लुलो, लंगडो र लेठेब्रोलगायत स्वास्थ्य समस्या थिए तर हाल उक्त समस्या हट्दै गएको छ । आयोडिनयुक्त नुनको गुणस्तर मापदण्ड तोकिएको छ ।

जसअनुसार सोडियम क्लोराइडको मात्रा ९६ प्रतिशतभन्दा घटी हुन नहुने र आयोडिनको मात्रा ५० मिलिग्राम प्रतिकिलोग्राममा नघटेको हुनुपर्ने र बिक्रीस्तरमा ३० मिलिग्राम अनिवार्य हुनुपर्ने व्यवस्था छ ।

उक्त मापदण्ड तयार हुँदा नेपालको कुल जनसंख्या एक करोड ३६ लाखमात्रै थियो तर अहिले नेपालको जनसंख्या बढेर झण्डै तीन करोड पुगेको छ । त्यसैले नेपालमा स्थापित पुराना ऐन कानुनमा वर्तमान आवश्यकता र अवस्थालाई मध्यनजर गरी सुधार हुनुपर्ने विज्ञहरूले बताएका छन् ।

सम्बन्धित शिर्षक :