स्यानिटरी प्याडमा अनियमितता : प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध आरोपपत्र दायर

स्वास्थ्यसमाचार/अख्‍तियार दुरुपयोग अनुसन्धान आयोगले स्यानेटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा सप्तरीको रूपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजनाविरुद्ध मुद्दा दायर गरेको छ।आयोगले बिहीबार काठमाडौंस्‍थित विशेष अदालतमा पाँचजनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो

गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, माध्यमिक तह शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र लक्ष्मी ट्रेडर्स एन्ड सप्लायर्स राजविराज दोस्रो पक्षको तर्फबाट प्रोप्राइटर ललिताकुमारी साहविरुद्ध मुद्दा दायर भएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। उनीहरूले आठ लाख ७४ हजार तीन रुपैयाँ भ्रष्टाचार गरी सरकारलाई हानिनोक्सानी पुर्‍याएको आरोप छ।

गाउँ कार्यपालिकाको मिलेमतोमा सिलबन्दी दरभाउपत्रको माध्यमबाट खुद्रा मूल्यभन्दा दुई गुणा बढी रकममा स्यानेटरी प्याड खरिद गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो। उक्त उजुरीमाथि छानबिन हुँदा भ्रष्टाचार भएको पाइएको प्रवक्ता घिमिरेले बताए।

मालसामानको लागत अनुमान तयार गर्ने तथा लागत अनुमान तयार गर्दा स्थानीय बजार प्रचलित दरभाउसमेतलाई आधारको रूपमा लिई गर्नुपर्नेमा प्रचलित कानुनी व्यवस्थाको पालना नगरेको अख्तियारले जनाएको छ।

नौ लाख ११ हजार नौ सय २५ रकम पर्ने जस्मिन हाइजिन प्रोडक्ट प्रालिको प्याडलाई १७ लाख ८५ हजार नौ सय २८ रुपैयाँमा खरिद गरेको देखाइएको थियो।

यसरी आठ लाख ७४ हजार तीन रुपैयाँको अस्वाभाविक रूपमा रकम बढी तिरेर भ्रष्टाचार गरेको आरोप उनीहरूमाथि छ। अख्तियारले उनीहरूविरुद्ध बिगो रकम कायम गरी कैद र बिगोबमोजिमको जरिवाना माग गरेको छ।

सम्बन्धित शिर्षक :