सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसु डा. राजेन्द्र बस्यालमाथि कुटपिट, चिकित्सकहरु विरोधमा

स्वास्थ्यसमाचार/सुत्केरी मृत्युको विषयलाई लिएर मृतकका आफन्तहरुले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथि कुटपिट गरेका छन् र दोस्रो बच्चा सुत्केरी गराउने क्रममा अस्पतालमा आएकी गुल्मी ठूलो लुम्पेककी ३२ वर्षीय भवानी रास्कोटीको मृत्यु भएसंगै विवाद बढेपछि मृतकका आफन्तहरुले अस्पतालका चिकित्सक मेसु डा. बस्यालमाथि हातपात गरेका हुन् । नवजात शिशु भने सकुशल भएको अस्पताल व्यवस्थापनले जनाएको छ ।

लुम्बिनी चिकित्सक संघका सचिव डा. सन्तोष पोखरेलले उपचार गर्ने चिकित्सक माथि हातपात हुनु दुभाग्यपूर्ण भएको बताए । चिकित्सकको सुरक्षाको ग्यारेन्टी नभएसंग आफुहरु उपचार रोकेर बिरोध गर्ने बताए ।कुटपिटबाट घाइते डाक्टरको लुम्बिनी प्रादेशिक अस्पतालको आइसियू कक्षमा उपचार भैरहेको छ ।

अस्पताल श्रोतका अनुसार मृतकका आफन्तले मृत्युको विषयमा छानबिन गर्ने भन्दा पनि सुरु देखि नै ५० लाख रुपैयाँ क्षतिपूर्ति रकम मागेपछि स्थिति असहज बन्दै गएको अस्पताल श्रोतले बताएको छ ।छलफलकै क्रममा बिरामीका आफन्तले चिकित्सकहरू माथि कार्यालयकै कुर्ची टेबलका खुट्टा भाँचेर टाउको र छातीमा प्रहार गरेको अस्पताल श्रोतले बताएको छ ।

अस्पताल प्रशासनसँग सहमति भई मृतकको शव आफन्तले शव बहनामा राखेर निस्कने तयारी भई सकेपछि केही उत्तेजक समूहको भिड पसेर मेसु बस्यालमाथि आक्रमण गरेको एक चिकित्सकले बताए । अहिले मृतक महिलाको शव अस्पताल परिसरमै शव बहनामा राखिएको छ ।

मृतकका आफन्तहरूको आक्रमणमा अस्पतालको प्रशासनिक भवनका झ्याल ढोका लगायतका फर्निचरहरू तोडफोड भएको छ। अस्पताल अहिले प्रहरीको सुरक्षामा रहेको र कुनै पनि नयाँ बिरामीहरूको भर्ना गरिएको छैन ।राती २ बजेबाट अस्पताल आउने बिरामीहरू अस्पतालको गेटबाटै फर्काइएको छ भने अहिले अस्पतालका भर्ना भएर उपचाररत बिरामीहरू हेर्नेबाहेक सबै काम ठप्प रहेको अस्पताल प्रशासनले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले बताए ।

सम्बन्धित शिर्षक :