खुला दिसामुक्त पाल्पाका शहर र राजमार्गमा पर्याप्त छैनन् शौचालय

स्वास्थ्यसमाचार/घर-घरमा शौचालय भएको विश्लेषण गर्दै पाल्पा जिल्लालाई २४ चैत्र २०७४ मा खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । खुला दिसामुक्त घोषणा गरिएको ६ वर्ष पुुग्न लाग्दा पनि यहाँका शहर र राजमार्गमा भने पर्याप्त शौचालय छैनन् ।

पर्याप्त सार्वजनिक शौचालय नहुँदा बटुवा र यात्रुले चर्को समस्या झेल्नुपरेको छ । भएका शौचालयहरू पनि प्रयोगलायक छैनन् ।घरदेखि बाहिर निस्कनसाथ हरेक मानिसले दैनिक सार्वजनिक शौचालयका कारण विविध समस्या भोग्न बाध्य छन् । शुक्रबार त्यस्तै समस्या भोग्न बाध्य हुनुभयो बुटवलबाट तानसेन घुम्न आउनुभएकी सम्झना पन्तले ।

तानसेनस्थित दरबार घुमेर सम्झना नारायणस्थानतर्फ लाग्नुभयो । तर, त्यहाँ नपुग्दै उहाँलाई पिसाबले च्याप्यो । पिसाबले च्यापेकाले यताउति शौचालय छ कि भनेर सम्झनाले हेर्नुभयो तर त्यहाँ कतै देख्नुभएन । नारायणस्थानका मन्दिर हेर्न जानुपर्ने सम्झना शौचालय हेर्दै शीतलपार्टी पुग्नुभयो । तर, त्यहाँ पनि उहाँले शौचालय देख्नुभएन । ‘होटल वा घरमा जाऊँ कोही कसैलाई चिनेकी छैन, नजाऊँ पिसाबले च्यापेको छ, धेरै समय लगाएर बल्ल तल्ल टँुडिखेल छेउमा रहेको शौचालयमा छिरेर शौच गरेँ’ पन्तले भन्नुभयो । उहाँले शौचालय त भेट्नुभयो, तर अँध्यारो ।

शौचालयको दुर्गन्ध बाहिरसम्मै थियो । ‘करिब २० मिनेटदेखि पिसाब च्यापेँ, यहाँ आइपुगेपछि पिसाब नफेरी फर्कूँ जस्तो लाग्यो,’ उहाँले भन्नुभयो । शौचालय नहुँदा खुलामञ्च भित्रै खुला रूपमा शौच गरेको उहाँले नदेख्नुभएको भने होइन । महिला भएकै कारण पन्तले खुल्ला ठाउँमा शौच गर्न सक्नुुभएनन् ।

बजार क्षेत्रमा एउटा पनि सार्वजनिक शौचालय नहुँदा आफू जस्ता बाहिरबाट आउनेहरूले सास्ती खेप्नुपरेको उहाँको गुनासो छ । सम्झना मात्र होइन्, शौचालय अभाव हुँदा घरबाट बाहिर निस्केपछि हरेक महिला तथा व्यक्तिले यस्ता समस्या भोग्नुपर्छ । एक त तानसेनमा कम शौचालय छन्, भएका पनि दुर्गन्धित, महिला र अपांगता भएका व्यक्तिका लागि उपयुक्त छैनन् ।

जिल्लाका सडकमा सार्वजनिक सवारीसाधन चलाउने अधिकांश चालकको व्यथा पनि यही हो । पर्याप्त सार्वजनिक शौचालय छैनन् र भएका पनि दुर्गन्धित र अव्यवस्थित । नागरिकता, राहदानी वा अन्य प्रशासनिक कामका लागि आएका हुन् वा बिरामी भएर औषधि गर्नका लागि तानसेन आउने हुन्, जो केहीलाई पनि यस्तै समस्याले सताउने गर्दछ ।

यो जिल्लाका शहरी क्षेत्रको समस्या मात्र होइन, यहाँका स्थानीय तहका केन्द्रहरूको समस्या पनि यस्तै छ । ६ वर्षअघि पाल्पालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको भए पनि यहाँ अझैसम्म पर्याप्त सार्वजनिक शौचालय निर्माण हुन सकेका छैनन् । जसले गर्दा सर्वसाधारणले सास्ती भोग्न बाध्य छन् । बेला–बेलामा सरकारले सार्वजनिक शौचालयको योजनाहरू ल्याउने गरेको भए पनि ती कार्यान्वयन भएका छैनन् । भएका शौचालयहरूको पनि स्तरोन्नति हुन सकेको छैन ।

यहाँ सार्वजनिक शौचालय नभएको भने पक्कै पनि होइन, तर जति हुन पर्ने हो त्योभन्दा निकै न्यून छन् । संघीय संरचना निर्माण भएपछि खानेपानी तथा सरसफाइ डिभिजनको सरसफाइ तथा स्वच्छतासम्बन्धी कार्यक्रम स्थानीय सरकारसमक्ष गएको छ । तर, स्थानीय तहमा जग्गा अभावले सार्वजनिक शौचालय बन्न नसकेको सम्बन्धित स्थानीय सरकार बताउँछन् । १० स्थानीय तह रहेको पाल्पामा अहिले ५२ देखि ६० वटा मात्र सार्वजनिक शौचालय रहेका छन् । जसमध्ये ३० वटा मात्र प्रयोगमा छन् । मानिसहरूको बाक्लो उपस्थिति रहने क्षेत्रमै सार्वजनिक शौचालय निर्माण हुन सकेका छैनन् । सार्वजनिक शौचालय निर्माणमा भने स्थानीय सरकारहरूले कुनै चासो देखाएका छैनन् ।

जसका कारण यी क्षेत्रमा सार्वजनिक शौचालय भेट्न मुस्किल छ । शौचालय प्रयोग गर्नकै लागि सर्वसाधारण होटेल, खाजा घर छिरेर केही न केही उपभोग गर्न बाध्य हुने गरेका छन् । कुनै पनि स्थानीय तहको बजार क्षेत्रमा सार्वजनिक शौचालय नबनाउँदा नागरिकले सास्ती त पाएका छन् नै, जथाभावी शौच गर्दा वातावरणसमेत दुर्गन्धित हुन थालेको छ ।

तानसेन नगरपालिकाको बजारभित्र अहिले तीनवटा मात्र सार्वजनिक शौचालय प्रयोगमा छन् । टुँडिखेल, विद्युत् कार्यालय अगाडि र श्रीनगरमा सार्वजनिक शौचालय प्रयोगमा छन् भने बसपार्कमा अहिले प्रयोगमा छैन । यहाँको जनसंख्या र बाहिरबाट आउनेहरूको संख्यालाई हेर्ने हो भने यी शौचालय पर्याप्त देखिँदैन । पहिले कैलाशनगर, वसन्तपुर, मेहल्धारा, मिसन अस्पताल, नारायणस्थान, टक्सारटोल लगायतका स्थानमा सार्वजनिक शौचालय थिए तर अहिले भने देख्न पाइँदैन । कतिपय भत्केर गए भने कतिपय सार्वजनिक शौचालय अतिक्रमणको चपेटामा परे ।

नारायणस्थानमा रहेको डोजर लगाएर जिप पार्क बनेको छ । टक्सारमा रहेको शौचालय भने प्रयोगमा आउन सकेको छैन् । पर्यटनको आवश्यक पूर्वधारमध्य शौचालय महत्वपूर्ण रहे पनि यसतर्फ कसैको पनि ध्यान पुग्न नसकेको तानसेन नगरपालिका( ६ का वडा अध्यक्ष तथा पर्यटन व्यवसायीको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स नाट्टा पाल्पाका पूर्वअध्यक्ष सागरमान महर्जनले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘बसपार्कमा सार्वजनिक शौचालयको आवश्यकता हो ।

यसै आर्थिक वर्षमा आवशयकता र चाहनाअनुरूप वडाकै बजेटमा भए पनि निर्माण गरिनेछ ।’ बजारमा चोकचोकमा सार्वजनिक शौचालयको आवश्यकता रहेको महर्जन बताउनुहुन्छ ।

वडाको बजेट सीमित हुने भएकाले यसको लागि नगर सरकारले नै पहल गर्नुपर्ने उहाँले बताउनुभयो पर्दछ । वडा अध्यक्ष भन्नुभयो, ‘हामीसँग शौचालय निर्माणका लागि आवश्यक ज्ञान भएका होनहार इञ्जिनियरहरू हुनुहुन्छ, केही महिना अघि मात्र धनगढीमा भएको सार्वजनिक शौचालय निर्माणका लागि भएको प्रतियोगितामा देशभरका इञ्जिनियरहरूमध्येबाट पाल्पाका राहुल बज्राचार्यले उत्कृष्ट अवार्ड प्राप्त गर्न सफल हुुनुभएको छ ।

यस्ता इञ्जिनियरहरूलाई यही नै वातावरण सिर्जना गरिदिन सक्ने हो भने पनि यस्ता सस्मया आउने थिएनन् ।’ सहरीकरण विस्तार भइरहँदा सार्वजनिक शौचालय निर्माणमा कुनै स्थानीय तहले योजना बनाएका छैनन् ।

अहिले स्थानीय तहका केन्द्रहरूमा सेवाग्राहीहरूको चाप बढे पनि सार्वजनिक शौचालय भने निर्माण हुन सकिरहेका छैनन् । बगनासकाली गाउँपालिकामा ३, माथागढी गाउँपालिकामा २, तिनाउ गाउँपालिकामा ४, रम्भा गाउँपालिकामा १८, पूर्वखोला गाउँपालिकामा ६, निस्दी गाउँपालिकामा २, रिब्दीकोट गाउँपालिकामा २, रामपुर नगरपालिकामा ३ वटा मात्र सार्वजनिक शौचालय छन् । भएका शौचालय छिरिसक्नु छैनन् । केहीको चुकुल लाग्दैन, कुनैमा ढोकाको पाता फुटेको छ । केहीमा पानी छैन ।

दिसापिसाबको दुर्गन्ध पनि उस्तै छ । गाउँपालिकाका धेरै ठाउँहरूमा सार्वजनिक शौचालयको आवश्यक भए पनि जग्गा अभावका कारण बनाउन नसकिएको स्थानीय सरकारहरू बताउँछन् । नेपाली कांगे्रसका नेता राजेन्द्र गोपाल सिंह स्थानीय सरकार र स्थानीय समुदायको चासो नहुँदासम्म कुनै संरचनाको पनि संरक्षण नहुने बताउनुहुन्छ । ‘हामी देखिरहेका छौँ अहिले अधिकांश जिल्ला खुला दिसामुक्त भनेर भनिएको छ । एकातिर खुला दिसामुक्त भन्ने अर्कातिर दिसापिसाब गर्ने ठाउँ पनि नबनाउने, यो अलिकति मिलेको छैन । यसमा चाहिँ स्थानीय सरकारहरूले ध्यान दिनुपर्नेछ ।’

जिल्लाका दुई नगर र आठ गाउँपालिकाको सबै घरधुरीमा शौचालय निर्माण भएकै छैन । सदरमुकाम तानसेनमै सबै घरधुरीमा शौचालय छैन । जिल्लाको अर्चले, ज्यामिरे, कोलडाँडा, यम्घा, भुवनपोखरी, शिद्देश्वरलगायत गाउँका अधिकांश घरमा अझै पनि शौचालय छैन । रामपुर र तानसेनको केही बस्तीमा अझै शौचालय बनेको छैन । कोलडाडाको सत्यवती गाउँमा झण्डै ५० घरका महिला जंगलमा शौच गर्छन् ।

सम्बन्धित शिर्षक :