स्वास्थ्यसमाचार/तिलोत्तमा नगरपालिकाले कार्तिक १७ गते जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पले प्रभावित क्षेत्रहरुमा स्वास्थ्यकर्मी सहितको औषधि र सहायता सामाग्री पठाएको छ।
नगरपालिकामा आज आयोजित आकस्मिक बैठकबसट नगरपालिकाले सो निर्णय गरेको हो। नगरप्रमुख रामकृष्ण खाणको अध्यक्षता तथा जागेश्वर देवी चौधरी र कार्यपालिका सदस्यहरु सहितको उपस्थितिमा बसेको बैठकबाट भुकम्पबाट ज्यान गुमाएका प्रति हार्दिक श्रद्धान्जली अर्पण गरि मृतकका परिवारमा समबेदना प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
नगरपालिकाले घाइते हरुको स्वास्थ्योपचार, उद्धार, तथा राहतका लागि जुट्न आग्रह गर्दै नगरपालिकाबाट समेत सो कार्यका लागि सामाग्री र टोलि पठाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो।
सो कार्यका लागि जाजरकोट तर्फ जान लागेका स्वास्थ्यकर्मीलाई नगरप्रमुख खाणले आफुले प्रयोग गर्दै आएको गाडी समेत उद्धारकार्यका लागि पठाउनु भएको छ।
जनस्वास्थ्य निरिक्षक रामेश्वर ढकाल सहितको ५ जना स्वास्थ्यकर्मीको टिम, एम्बुलेन्स, औषधी, पाल, उद्धार सामाग्री, सहित जाजरकोट र रुकुम पश्चिम जिल्लालाई ५र५ लाखका दरले राहत सामाग्रीका लागि रकम उपलब्ध गराउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो। उद्धारको टोली नगरपालिकाबाट सामाग्री सहित दिउसो प्रस्थान गरिसकेको छ।
प्रतिकया दिनुहोस्