भक्तपुर क्यान्सर अस्पतालमा डाक्टर र कर्मचारी कोठामा थुनिए, बिरामी र कुरुवाको भागदौड

भक्तपुर : पुरानो व्यवस्थापन समितिले अस्पतालको नयाँ कार्यकारी निर्देशक र मेडिकल डाइरेक्टर नियुक्त गरी पदबहाली गर्न पठाएपछि भक्तपुर क्यान्सर अस्पतालमा आइतबार तनाव उत्पन्न भएको छ।

नयाँ कार्यकारी निर्देशक र मेडिकल डाइरेक्टरलाई पदबहाली गर्न नदिएपछि तनाव उत्पन्न भएको हो। दुई पक्षबीच झडप हुँदा उपचार गर्न आएका बिरामी र उनीहरुका कुरुवाको भागदौड चल्याे। अस्पतालको पुरानो व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ नेतृत्वको व्यवस्थापन समितिको बोर्ड बैठकले प्रमुख कार्यकारी निर्देशकमा रूपेश शिलाकार र मेडिकल डाइरेक्टरमा डा. दिपेश धिताललाई नियुक्त गरेको थियो। उनीहरूले पदबहाली गर्ने क्रममा कर्मचारीले विरोध गरेका हुन्।

हाल अस्पतालमा मेडिकल डाइरेक्टरको जिम्मेवारी सम्हाल्दै आएका डा. ऋषिकेश नारायण श्रेष्ठको ‘नेम प्लेट’ हटाएर नयाँको नेम प्लेट राख्ने र पदबहाली गर्ने क्रममा औपचारिक कार्यक्रम भइरहँदा कर्मचारीको टोलीले ‘भ्रष्टाचारीलाई कारवाही गर’ भन्दै अस्पतालमा नारावाजी गरेका थिए।

स्थिति तनावग्रस्त बनेपछि अस्पतलाको पुरानो व्यवस्थापन समितिका कोषाध्यक्ष केपी ताम्राकार, महासचिव विमल होडा, सचिव महेश श्रेष्ठ, नयाँ कार्यकारी निर्देशक शिलाकार, नयाँ मेडिकल डाइरेक्टर डा. धिताललगायतलाई अस्पतालको कार्यक्रम हलमै दुई घण्टासम्म बन्द गरिएको थियो । स्थानीयवासीसमेतले अस्पताललाई घेराबन्दीमा राखेर अस्पताल प्राङ्गणमा तथा कर्मचारीले अस्पताल प्रशासनमा नाराबाजी गरेपछि प्रहरीले उनीहरूलाई बाहिर निकालेका थिए ।

अस्पतालमा स्थिति असहज बन्दै झडप भएपछि पदबहाली नगरी बन्द कोठामा रहेकालाई प्रहरीले बाहिर निकालेर सुरक्षित स्थानतर्फ लैजाने क्रममा अस्पताल प्राङ्गणमै उनीहरूमाथि आक्रमण भएको थियो ।

आक्रमणसँगै अस्पतालबाट पुरानो व्यवस्थापनका पदाधिकारी र नयाँ नियुक्ति पाएकालाई व्यासीसम्म लखेटेर शिलाकार र होडामाथि आक्रमण गरिएको थियो । स्थानीयवासीले होडाको हातबाट ‘माइन्युट’समेत खोसेर च्यात्नुका साथै उनीमाथि हातपातगरेका थिए । झडपको क्रममा कार्यकारी निर्देशक शिलाकारको बा१२च ४८६ नम्बरको कार तोडफोड गरिएको छ ।

‘पुरानो व्यवस्थापन समितिले भ्रष्टाचार गरेपछि अस्पताल जोगाउन कर्मचारी एक भएका हौँ’, अस्पताल कर्मचारी कल्याणकारी समितिका संयोजक शिवराम धुख्वाले भने, ‘भ्रष्टाचारको छानबिन गरी सत्यतथ्यबाहिर नल्याइ नयाँ कार्यकारी निर्देशक र मेडिकल डाइरेक्टर नियुक्ति गर्ने नाटक गरेपछि विरोध गरेका हाैँ।’ भ्रष्टाचारको छानबिन नभएसम्म पूर्वव्यवस्थापन समितिका भ्रष्टाचारको अभियोग लागेकालाई अस्पताल प्रवेश निषेध गरेको उनले बताए।

अस्पतालका रेडियोथेरापीका कन्सल्टेन्ट डा. विद्यापति झाले आफू २०५७ सालदेखि अस्पतालमा काम गर्दै आएको बताए। पुरानो व्यवस्थापन समितिले करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अवस्थामा यो अस्पताल जोगाउनु आवश्यक रहेको उहाँको भनाइ छ।

पुरानो व्यवस्थापन समितिलाई खारेज गर्दै भक्तपुर नगरपालिकाले अस्पतालमा नगरप्रमुख सुनिल प्रजापतिको नेतृत्वमा नयाँ व्यवस्थापन समिति गठन गरी हाल सञ्चालन गर्दै आएको छ। यसबारेमा सर्वोच्च अदालतमा परेको रिटमा अदालतले अन्तरिम आदेश जारी गर्दै हाललाई यथावस्था मै सञ्चालन गर्न आदेश दिए पनि रिटको किनारा भने नलाग्दा थप अन्योल भएको छ। रासस

सम्बन्धित शिर्षक :