अस्पतालको न्यूनतम आवश्यकता पूरा गर्न प्रदेश सरकार लागेको छ : मन्त्री बराल

स्वास्थ्यसमाचार /भीम अस्पतालमा आकस्मिक भवनको शिलान्यास गरिएको छ। लिलाराम कुन्तिदेवी न्यौपाने प्रतिष्ठानको सहयोगमा भीम अस्पताल विकास समिति भैरहवाले दुई तले अत्याधुनिक आकस्मिक भवन निर्माणका लागि शिलन्यास गरेको हो।

भवनको प्रतिष्ठानका संरक्षक कुन्तीदेवी न्यौपाने तथा अध्यक्ष शोभाखर न्यौपानेले प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालको प्रमुख आतिथ्यतामा शिलन्यास गरेका हुन्।

प्रमुख अतिथी सामाजिक विकासमन्त्री बरालले तीन तहको सरकारको सहकार्यले सरकारी अस्पतालमा उपचार सम्भव रहेको बताए। सबै अस्पतालको न्यूनतम आवश्यकतालाई पूरा गर्न प्रदेश सरकार लागेको बताउँदै गरिबदेखि उच्च तहका जनताका लागि सरकारी अस्पतालमा आउन सक्ने र उपचार गराई विरामीहरुको मनोबल बढाउने गरि काम अघि बढाएको बताए।

स्थानीय तह र संघीय सरकारको सहयोगले पनि सरकारी अस्पताललाई सुदृणीकरण भइरहेको छ, प्रदेश सरकारले यस वर्ष जिल्लाका अस्पतालहरुमा अटो क्लेब मेसिन जडान गर्देछ भने कम्तीमा पनि ४ वटा आइसीयु बेडको लागि योजना अघि सारेको बताए।

कुल १ करोड ५० लाखको लागतमा बन्ने उक्त भवनमा आवश्यक अन्य उपकरणहरु पनि प्रतिष्ठानले जडान गरी जिल्लाकै नमुना सरकारी अस्पतालको रुपमा निर्माण गर्ने लिलाराम कुन्ती देवी न्यौपानेका अध्यक्ष शोभाखर न्यौपानेले बताए।

एक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सुदिप निर्माण सेवाले अत्याधुनिक अपाङमैत्री भवनको निर्माणको काम गर्नेछ भने भैरहवा स्थित भक्त ईन्जिनियरिङले प्राविधिक र डिजाइनको काम गर्नेछ।

‘भवन बाहेक अत्याधुनिक र २ वटा आइसीयु वेड सहित करिब ८०–९० लाखको लागतमा उपकरणहरु जडान गछौं। जडित उपकरणको एक वर्ष सम्म मर्मत र संरक्षणको जिम्मा पनि हामीले लिने छौँ’ प्रतिष्ठानका अध्यक्ष न्यौपानेले भने।

‘भविष्यमा ५ तला सम्म बनाउन सक्ने गरी हामीले बेस बनाउने छौँ अहिले पहिलो चरणमा २ तला र उपकरण जडान गर्छौ।

२ हजार ७ सय ५० वर्ग फिटको आकस्मिक भवन बुवाको इच्छा अनुसार समाजिक क्षेत्रमा लगानी गरेका छौं। यो हाम्रो औधोगिक क्षेत्रको सामाजिक उत्तरदायित्व अन्तर्गतको नभएर केवल पारिवारिक प्रतिष्ठानको सामाजिक क्षेत्रमा सहयोग हो।’ प्रतिष्ठानका महासचिव विष्णु प्रसाद न्यौपानेले भने।

सम्बन्धित शिर्षक :