रक्तअल्पता र कुपोषण हटाउने सरकारी कार्यक्रम खोई ?

रुपन्देहीको बुटवल उपमहानगरपालिका ११ नहरपुरकी पुष्पा परियार १३ असार, २०८० मा प्रसुति भइन् । लुम्बिनी प्रादेशिक अस्पतालमा सामान्य रुपमा प्रसुति भएकी उनको त्यसपछि भने रगत रोकिएन ।

त्यहीकारण एक साता थप उपचार गर्नुपर्यो । ९ महिना पुगेर जन्मेकी छोरी पनि स्वस्थ थिइनन् । उनको तौल १ किलो २ सय ग्राम मात्र थियो । सुत्केरी भएपछिका १० दिन आमा र शिशुको उपचार गरेपछि मात्रै उनीहरू घर फर्के । धेरै रगत बगेकाले पुष्पा अहिले पनि निकै कमजोर छन् । छोरीको तौल पनि सामान्य बनेको छैन । पुष्पाको शरीरमा गर्भवती भएदेखि नै रगतको कमी थियो । यसले गर्दा पेटको शिशुको तौल बढेन र बच्चा जन्मिएपछि रगत बग्न रोकिएन, उनको उपचारमा संलग्न स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा। विवि राउतले बताए ।

बुटवल १३ की संगीता रानाको गर्भ ५ महिना पुग्दै थियो । एक्कासी रगत बग्यो । असार २३ गते हतारिएर उनी लुम्बिनी प्रादेशिक अस्पताल गइन् । चिकित्सकले परिक्षण गरे । उनको गर्भ तुहियो । त्यसपछि पनि रगत थामिएन । तीन दिन थप उपचार गरेपछि मात्रै उनी घर गइन् । उनको उपचारमा संलग्न डा। राउतका अनुसार, कुपोषण र रक्त अल्पता भएकाले उनको गर्भ तुहिएको र रगत बगेको हो । संगिताको यसअघि पनि २ पटक गर्भ तुहिएको थियो ।

रक्तअल्पताको मुख्य कारण आइरन अर्थात् फलामको कमी हुनु हो । पोषकतत्व नपुग्नाले यसो हुन्छ । रगतमा रातो कोष बन्न फलाम चाहिन्छ । यो माछा मासुमा धेरै मात्रामा पाइन्छ । शाकाहारी वा माछामासु कम खाने मानिसमा रक्तअल्पता बढी हुने गर्छ । जुका पर्दा पनि शरीरमा फलाम कमी हुन्छ जसले रक्तअल्पता गराउँछ ।

नेपालका धेरै गर्भवती र सुत्केरीले रक्त अल्पताको समस्या भोग्नु परेको छ । यसको कारणले धेरैले ज्यान गुमाउने गरेका छन् । गतवर्ष लुम्बिनी प्रदेशमा ७४ जना महिलाले गर्भावस्था र सुत्केरी हुँदा ज्यान गुमाए । ज्यान गुमाउनेमध्ये २८ जनामा रक्तअल्पता रहेको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ । रक्तअल्पता हुँदा गर्भवती अवस्थामा समेत रगत बग्छ भने प्रसुति भएपछि रगत बग्न नरोकिने हुन्छ ।

स्वास्थ्य मन्त्रालयकी नर्सिड अधिकृत सुनिता ज्ञवालीले रक्तअल्पता कुपोषणको एक प्रकार रहेको बताइन् । उनका अनुसार शरीरलाई चाहिने सन्तुलित आहार लामो समयसम्म प्राप्त नहुँदा हुने विकृत अवस्थालाई कुपोषण भएको भनिन्छ । कुपोषणको समस्या बालबालिका र गर्भवती एवं सुत्केरीमा बढी हुन्छ । गर्भवती भएका बेलामा रगत पातलिन्छ ।

यो समस्या गर्भावस्थाको ३२ हप्तातिर बढी देखिन्छ । गर्भावस्थामा हेमोग्लोबिनको मात्रा १० ग्राम प्रतिशतभन्दा कम भयो भने सजग हुनुपर्छ । नौ ग्राम प्रतिशतभन्दा कम हुँदा रक्तअल्पता मानिन्छ । गर्भवती महिलामा रगत बन्ने तत्वहरू आइरन, फोलिक एसिड, ‘भिटामिन बी १२’ र प्रोटिन नपुगेर रक्तअल्पता हुन्छ । गर्भवती र सुत्केरीमा रक्तअल्पता हुन नदिन आइरन चक्की अनिवार्य खुवाउने नीति लिएपनि गर्भवतीले आइरन खान बीचमै छोड्दा समस्या भएको नर्सिड। अधिकृत ज्ञवालीले बताइन् ।

गर्भावस्थामा रक्तअल्पता हुँदा कारण रक्तचाप बढ्ने, पटकपटक संक्रमण हुनसक्ने, मुटु फेल हुने, महिना नपुग्दै व्यथा लाग्ने हुनसक्छ । सुत्केरी भएपछि अधिक मात्रामा रक्तस्राव हुन्छ । सुत्केरी व्यथा राम्रोसँग नबढ्ने र बेहोश हुने हुन्छ । यति बेला धेरै रगत बग्यो भने स्थिति अझ जटिल हुन्छ । ‘रक्तअल्पताले गर्दा सुत्केरी भएपश्चात् संक्रमण बढ्ने, पाठेघर पूर्वावस्थामा फर्किन समय लाग्ने, स्तनपानमा गडबडी हुने र रक्तनलीमा रगत जम्ने हुन्छ,’ सुनिताले भनिन्, ‘गर्भावस्थाको ३० देखि ३२ हप्तामा, सुत्केरी व्यथा लागेका वेलामा, शिशु पाउनेबित्तिकै र शिशु पाएको एक हप्तापछि यस्तो अप्रत्याशित घटना हुने सम्भावना बढी हुन्छ । रक्तअल्पताकै कारण गर्भे शिशुको तौल कम हुने तथा गर्भ भित्रै शिशुको मृत्यु हुनसक्छ ।’

नेपाल स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षण २०२२ का अनुसार १५ देखि ४९ वर्षका महिलामा धेरै रक्तअल्पता हुनेमा लुम्बिनी दोस्रो प्रदेश हो । मधेशका ५२ प्रतिशत महिलामा कुपोषण छ भने लुम्बिनीका ४४ प्रतिशतमा छ । मधेसका पाँच वर्षमूनिका बालबालिकामध्ये ५१ प्रतिशतमा रक्तअल्पता छ भने लुम्बिनीका ४९ प्रतिशतमा छ । ५ वर्षमूनिका बालबालिकामा हुने कमतौल र ख्याउटेपन लुम्बिनीमा सबैभन्दा धेरै छ । यहाँका १६ प्रतिशतमा ख्याउटेपन छ भने कर्णालीका १० प्रतिशतमा त्यस्तो समस्या छ । १५ देखि ४९ वर्ष उमेरका महिलामध्ये मधेशमा सबैभन्दा धेरै २९ प्रतिशत ख्याउटे छन् भने यसपछि क्रमशः कर्णाली र लुम्बिनी आउँछन् । कर्णालीका २२ र लुम्बिनीका १९ प्रतिशत महिला ख्याउटे छन् ।

महिला र बालबालिकामा कुपोषणका यति धेरै समस्या देखिँदा पनि लुम्बिनी प्रदेश सरकार संवेदनशील भएको पाइदैन । प्रदेशमा १ सय ९ पालिका छन् । तिनले पनि कुपोषण हटाउन र पोषण सुधार्न उल्लेख्य काम गरेको पाइदैन । लुम्बिनीका स्वास्थ्य निर्देशक विनोदकुमार गिरीले पछिल्लो समय सुत्केरी आमा र शिशुलाई लक्षितगरी सुत्केरी पोषण झोला बाँड्न थालिएको बताए । आमा र शिशुको पोषणको अवस्थालाई सुधार गरी आमा र शिशुलाई स्वस्थ बनाउने उद्देश्यले यस्तो कार्यक्रम ल्याएको उनले जनाए ।

प्रदेशका जुनसुकै सरकारी स्वास्थ्य संस्थामा प्रसुति हुने महिलाले निशुल्क पोषण झोला पाउँछन् । त्यसमा आधाआधा केजीका १० प्याकेट सातु हुन्छ जसमा चामल, गहु“, मकै, जौ, भटमास, चना, दूग्धपदार्थ मिसाएको हुन्छ । प्रतिदिन १०० ग्रामका दरले खाँदा त्यो सातु तीन महिनालाई पुग्छ । स्वास्थ्य निर्देशक गिरीका अनुसार हुनुखानेले सुत्केरी महिलालाई घिउभात र मासु मात्रै खुवाउ“दा पोषण नपुग्ने भएकाले सरकारले नै पोषण झोला बा“डेको बताए । ‘यसले आमालाई बढी शक्ति दिन्छ । दूूध बढी आउँछ र शिशुमा कुपोषण हुन दिदैन ।’ यसबाहेक पोषण सुधार्न स्वास्थ्यका अन्य कार्यक्रममा पनि पोषणका कुरा गर्ने र खाने बानी सुधार्ने पहल गरेको निर्देशक गिरीले बताए ।

देशव्यापी रुपमा लागू भएको बहुक्षेत्रीय पोषण कार्यक्रम लुम्बिनी प्रदेशमा पनि चालु छ । त्यसले स्वास्थ्य, शिक्षा, कृषि लगायतका बहुक्षेत्रबाट पोषण सुधार्ने लक्ष्य राखेको छ । त्यसको प्रभावबारे भने सरकारी निकाय मौन छन् ।

पालिका तहमा पोषण सुधार्ने कार्यक्रम के छ ?
पालिका नागरिकको ढोका अगाडिका सरकार हुन् । पालिकाका स्वास्थ्य शाखा, स्वास्थ्य केन्द्रहरूमा अन्य स्वास्थ्य परीक्षणसंगै पोषण अवस्थाको पनि परीक्षण हुन्छ । हरेक पटक शिशुलाई खोप लगाउँदा उसको तौल लिएर वृद्धि विकास हेर्ने र त्यसअनुसार पोषण खुवाउन आमालाई सल्लाह दिइन्छ । तर, सुत्केरी र शिशुमा रहेको कुपोषण हटाउने र नतिजा देखिनेगरी काम भएको छैन ।

गर्भवती, सुत्केरी र शिशुको स्वास्थ्य सुधार्ने र मातृमृत्यु कम गर्ने मुख्य लक्ष्यसहित जनप्रतिनिधिका नाम जोडेर आएका कार्यक्रमले केही पोषणका बारेमा भने छोएका छन् । उदाहरणका लागि, गुल्मीको गुल्मीदरबार गाउ“पालिका । यस पालिकाले गर्भवती अवस्थामा ३६ वटा र गर्भवती भएपछि ३० वटा अण्डा कोसेली दिन्छ ।

गर्भावस्थामा ध्यान दिनुपर्ने कुरा, खानुपर्ने पोषिला खानेकुरा, स्वास्थ्य जाँच र सुत्केरी एवं शिशुले २ वर्षसम्म लगाउनु पर्ने खोप र रेखदेख जस्ता कुरामा बाबुले के कसो गर्नुपर्छ भन्ने कुरा सम्झाएर हरेक गर्भवतीको घरमा चिठी पठाउँछ । गर्भावस्थादेखि बच्चा २ वर्षको हुदासम्म स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयम् सेविकाले कम्तीमा ६० पटक भेट गर्नैपर्ने नियम बनाएको छ । गाउँपालिकाका उपाध्यक्ष तारा थापा ढेंगाले पोषण र मातृशिशु सुधार गर्न यसो गरिएको बताइन् । ‘पैसा दिँदा गर्भवतीले नखालान् भनेर जनप्रतिनिधिको रोहबरमा अण्डा दिन्छौं ।’

अरु पालिकाले भने पोषण सुधारका लागि भनेर छुट्टै कार्यक्रम गरेका छैनन् । अधिकांशले उपाध्यक्ष वा उपप्रमुख सुत्केरी राहत÷सुत्केरी भेटका नाममा पोषण खाना र न्यानो लुगा बाँड्ने गरेका छन् । जनप्रतिनिधि र स्वास्थ्यकर्मी घरमै गएर भेट्दा कतै पोषणबारे जानकारी त कतै पोषण सामग्री दिने गरेका छन् । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले स्वास्थ्य केन्द्रमा सुत्केरी भएका आमाहरूलाई ३ हजार रुपैया बराबरको घिउ, मह, ज्वानो लगायतका पोषकतत्व दिन्छ । उपप्रमुख उमा अधिकारी आमा र शिशुमा पोषणतत्वको कमी हुन नदिन तथा स्वास्थ्य केन्द्रमा सुत्केरी हुने चलन बढाउन यसो गरेको बताउँछिन् ।

रुपन्देहीको सियारी गाउँपालिकाले सुत्केरी पोषण तथा शिशु स्वागत कोसेली कार्यक्रम सञ्चालन गरेको छ । कोसेलीका रुपमा घ्यू, टावल, डिटरजेन्ट, साबुन, नेल कटर, ब्रस र मञ्जन दिने गरिएको छ । स्वास्थ्य संस्थामा सुत्केरी भएका आमाहरुलाई एक हजार ५ सय रुपैयाँ पनि प्रदान गर्छ । उपाध्यक्ष तारा थारुले पोषणसहितको कोसेलीले सुत्केरी आमाहरूको मुहारमा खुसी ल्याउन मद्दत पुगेको बताइन् ।

कोसेली पाउन वडा कार्यालयमा निवेदन दिनुपर्ने, जन्मदर्ताको प्रमाणपत्र, गर्भवती जाँच गरिएको स्वास्थ्य संस्थाको कार्ड र बुबा आमाको नेपाली नागरिकताको प्रतिलिपि हुनुपर्ने प्रावधान छ । गर्भवती र शिशुको पोषणमा समस्या देखिएको भन्दै नवलपरासी पश्चिमको प्रतापपुर गाउ“पालिकाले सुत्केरीलाई पौष्टिक आहार बाँड्न थालेको छ । उपाध्यक्ष सुत्केरी महिला भेटघाट कार्यक्रम अन्तरगत सुत्केरीलाई हलुवा प्याकेट, मिठो दलिया, खिचडीको प्याकेटको झोला बनाएर दिइन्छ ।

सरोकारवालाको सुझाब के छ ?

पोषणका क्षेत्रमा लामो समय काम गरेका लवहरि बुढाथोकीका अनुसार पोषकतत्वको अभाव हुँदा र खाने तरिका नमिल्दा लुम्बिनीमा धेरै महिला र बालबालिकामा कुपोषण देखिएको हो । यसका लागि बढ्ने उमेरका बालबालिकाहरूलाई पौष्टिक खाना र जुकाको औषधि खुवाउने झाडापखाला लाग्ने क्रम घटाउने जस्ता काम गर्दा पनि रक्तअल्पता कम हुर्ने उनले जनाए । अधिकारकर्मी ज्ञानु पौडेलका अनुसार, कुपोषण हुन नदिन बजारिया तयारी खाजाको साटो घरमै बनाएका खाजा, मौसमी फलफूल, गेडागुडी, हरियो तरकारी, माछामासु, अण्डा र दूध लगायतका खाना बढी खानु पर्छ । किशोरी अवस्थादेखि नै महिलाहरूमा पोषण कम भएकाले त्यसको सुधारका लागि घरपरिवारमा खानपानको शैली बदल्न चेतना पैmलाउनु पर्छ ।नितिपात्रोवाट

सम्बन्धित शिर्षक :