लुम्बिनी प्रदेशका तराईका जिल्लामा देखियो आँखा पाक्ने रोगको प्रकोप

संक्रमणबाट बच्न स्वास्थ्य सावधानी नै मुख्य विषय :डाक्टर गुरुङ

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका अधिकांश स्थानमा अहिले आँखा पाक्ने रोग प्रकोपका रुपमा फैलिएको छ । विशेषगरी तराई क्षेत्रमा आँखा चिलाउने, आँखा रातो हुने, पाक्ने र अत्याधिक दुख्ने समस्या देखिएको छ । आँखामा संक्रमण देखिएपछि आँखा अस्पतालहरुमा आँखा पाकेका बिरामीहरुको भिड लागेको छ ।

मौसमको परिवर्तनसँगै फैलिएको भाइरल प्रकोपले नेपाल र भारतको सिमाक्षेत्रमा प्रभावित बनाएको लायन्स आँखा अस्पताल बुटवलले जनाएको छ । कोहलपुर मेडिकल कलेजका डाक्टर तथा चिकित्सक संघका प्रदेश संयोजक नन्दा गुरुङले प्रदेशको तराईका जिल्लामा भाइरलका रुपमा आएको बताइन् । उनले धेरै जमघट हुने ठाउँहरुमा यस्तो प्रकोप बढेको बताइन् ।

नेपालगन्जको भिजन आँखा अस्पतालका प्रमुख डाक्टर प्रचण्ड गौतमका अनुसार यो संक्रमणलाई कन्जन्टिभाइटिस भनिन्छ । एडेनो भाइरसले गर्दा आँखाको सेतो भाग माथिको पातलो पत्र कन्जन्टाइभामा हुने संक्रमण नै कन्जन्टिभाइटिस भएको डा। गौतमले बताए । संक्रमणबाट बच्न स्वास्थ्य सावधानी नै मुख्य विषय भएको उनले बताए ।

संक्रमणबाट बच्न र फैलन नदिन आफ्नो हातले आफ्नो आँखा नछुने, आफ्नो हात बारम्बार साबुन पानीले धुने, दैनिक सफा तौलिया प्रयोग गर्ने, हरेक दिन कपडा फेर्न डा। गौतमले सल्लाह दिए । उनले तौलिया वा संक्रमितले प्रयोग गरेको कपडा अरुले प्रयोग नगर्ने, आफ्नो तकिया बारम्बार परिवर्तन गर्ने तथा आँखा कस्मेटिक्स वा व्यक्तिगत आँखा हेरचाह वस्तुहरू साझा नगर्न सबैलाई आग्रह गरे ।

विशेषगरी स्कुले बालबालिकामा संक्रमण बढी देखिएको छ । उनीहरुमार्फत घरघरमा पुगेको छ । आँखा पाकेमा स्कुल नपठाउन अभिभावकलाई डा। गौतमले आग्रह गरेपनि विद्यालयले त्यसलाई कडाई गर्न नसक्दा झन् बढी फैलिएको छ। संक्रमितले प्रयोग गरेको मोबाइल, कलम, रुमालजस्ता वस्तुबाट भाइरस अन्यमा सरेपनि नजर मिलाउँदैमा वा हेराहेर गर्दैमा यो संक्रमण नसर्ने उनले बताए ।

अहिले फैलिएको संक्रमणले दृष्टिबिहीन नबनाएपनि आँखाको सेतो भागमा असर पर्ने भएकाले जोखिम भने रहेको चिकित्सकहरुले बताउने गरेका छन् । बढी नै दुख्ने, पोल्ने र चिलाउने गरेमा भने नजिकको आँखा उपचार केन्द्रमा जानुपर्ने चिकित्सकको सुझाव छ ।

आँखा पाक्ने समस्या फैलिएपछि तराइका विभिन्न आँखा अस्पतालहरुमा बिरामीहरुको चाप बढेको छ । रुपन्देहीका विभिन्न विद्यालयले विद्यार्थीको आँखा रातो भए विद्यालयमा विद्यार्थी नपठाउन सूचना जारी गरेका छन् ।

सम्बन्धित शिर्षक :