सीटीईभीटीद्धारा नर्सिङ, एचए र फार्मेसीको शुल्क बृद्धि, कसको कति ?

स्वास्थ्यसमाचार/प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले प्रमाणपत्र तह नर्सिङ, प्रमाणपत्र तह सामान्य चिकित्सा (एचए)र डिप्लोमा इन फार्मेसीको अध्ययन शुल्क वृद्धि गरेको छ ।

सीटीईभीटीले  सूचना प्रकाशित गर्दै शुल्क बृद्धि भएको जानकारी दिएको हो ।सीटीईभीटीले नर्सिङ तर्फ करीब डेढ लाख रुपैँया, एचए तर्फ १ लाख १९ हजार रुपैयाँ र फार्मेसी तर्फ साढे ८६ हजार रुपैयाँ बढाएको छ ।

बढेको शुल्क अनुसार अब प्रमाणपत्र तह नर्सिङको तीन वर्षे अध्ययन् पुरा गर्न ६ लाख २४ हजार २ सय ३० रुपैयाँ शुल्क लाग्ने भएको छ । यसअघि नर्सिङ अध्ययनका लागि ४ लाख ७५ हजार रुपैयाँ तिरे पुग्थ्यो ।

त्यस्तै अब एचए पढ्न ५ लाख २३ हजार ८ सय २० रुपैयाँ शुल्क तोकिएको छ । यसअघि ४ लाख ४ हजार शुल्क थियो । एचएको शुल्क एक लाख १९ हजारले वृद्धि भएको छ । फार्मेसी असिस्टेन्टको नयाँ शुल्क ४ लाख २३ हजार ६ सय ६० तोकिएको छ । यसअघि ३ लाख ३७ हजार शुल्क थियो ।

निजी सम्बन्धनमा सञ्चालित शिक्षण संस्थामा २०७१/२०७२ पछि शुल्क समायोजन गरिएको सीटीईभीटीले जनाएको छ । तोकिएको शुल्कमध्ये ५० प्रतिशत रकम पहिलो किस्ता र २५र२५ प्रतिशत रकम दोस्रो र तेस्रो किस्तामा बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।

गत २०७९ पुस ६ गतेको शिक्षामन्त्रीस्तरीय निर्णय, विभिन्न समयमा गठित शुल्क समायोजन समितिको सुझावको आधारमा सीटीईभीटीले गत १ असारमा शुल्क समायोजन सम्वन्धी निर्णय गरेको जनाएको छ ।

उसले यी तीन विषयका बाहेक अन्य विषयको शुल्क भने बृद्धि नगरिएको स्पष्ट पारेको छ । यस्तै सीटीईभीटीले बृद्धि भएको शुल्क शैक्षिक सत्र २०८०/०८१ बाटै लागू हुने समेत जानकारी दिएको छ ।

सम्बन्धित शिर्षक :