अतिरिक्त शुल्क फिर्ता माग गर्दे लुम्बिनी मेडिकलका विद्यार्थी आन्दोलित

स्वास्थ्यसमाचार /लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ अस्पतालका विद्यार्थी तीन दिनदेखि आन्दोलनमा उत्रिएका छन् । कलेजले इन्टर्नसिप तथा अन्य अतिरिक्त शुल्क फिर्ता नगरेपछि विद्यार्थीहरु शान्तिपूर्ण आन्दोलनमा उत्रिएका हुन् ।

विद्यार्थीहरुले विभिन्न नारा लेखिएका प्लेकार्डसहित कलेज परिसरमा प्रदर्शन गरेका हुन् । लुम्बिनी मेडिकल कलेज दसौं ब्याच ९२०१७ डिसेम्बर० एमबीबीएसका विद्यार्थीहरुले आफूहरुलाई कलेज प्रशासनले अनावश्यक अतिरिक्त शुल्क लिएको दाबी गर्दै आन्दोलन गरेको बताएका छन् । सय जनामध्ये ५६ जना विद्यार्थी अहिले इन्टर्नसिपमा जाने छन् ।

कलेजले इन्टर्नसिप शुल्क २ लाख, विश्वविद्यालय सम्बन्धन शुल्क ९५ हजार, शिक्षा सेवा शुल्क ४७ हजार ९ सय र अन्य अतिरिक्त शुल्क दसौं ब्याचका विद्यार्थीलाई मात्र लिएको दाबी छ । ‘यी र यस्ता अतिरिक्त शुल्क हाम्रो ब्याचलाई मात्र लिएको पाइएको छ,’ आन्दोलित एक विद्यार्थीले भने, ‘अन्य ब्याजका विद्यार्थीलाई लिएको पाइएन । हामीले इन्टर्नसिप हुनु भन्दा अघि नै अतिरिक्त शुल्क फिर्ता गर्न पटक पटक निवेदन दिएका थियौं तर सुनुवाइ भएन ।’

विद्यार्थीले पटकपटक निवदेन दिएपनि सुनुवाइ नभएपछि कलेज परिसरमा शान्तिपूर्ण आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन् । काठमाडौं विश्वविद्यालयले चैत–वैशाख मसान्तमा अन्तिम वर्ष लिएको परीक्षामा उतीर्ण विद्यार्थीहरुले असार ५ गतेबाट इन्टर्नसिप सुरु हुनुपर्ने थियो । विद्यार्थीले इन्टर्नसिप सुरु गर्न मानेका छैनन् ।

अतिरिक्त शुल्क र इन्टर्नसिपमा पाउनु पर्ने आधारभूत भत्ता यही समय अवधिभरमा पाउनु पर्ने हुन्छ । कलेजले उल्टै धम्क्याउने र जे गर्नुछ गर्नु भन्ने जवाफल दिने गरेको आन्दोलित एक विद्यार्थीले आरोप लगाए । ‘हामीले हाम्रो माग पूरा नभएसम्म इन्टर्नसिप सुरु नगर्ने अडान राखेका छौं,’ उनले भने, ‘हाम्रो माग पूरा नभएपछि शान्तिपूर्ण आन्दोलनमा उत्रिएका हौं ।’

लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलका कम्पनी सचिव कृष्णप्रसाद पराजुलीले पहिला लिन पाउने व्यवस्था अनुसार नै लिएको बताए ।कान्तिपुरबाट साभार।

सम्बन्धित शिर्षक :