लुम्बिनी प्रदेशमा स्वास्थ्यको बजेट गत बर्षभन्दा २ प्रतिशतले बढी

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कूल ४० अर्ब ४७ करोड ८९ लाख ५७ हजारको बजेट सार्वजनिक गरेको छ।

सरकारले प्रस्तुत गरेको बजेटमा चालु आव २०७९/८० भन्दा दुई अर्ब १५ करोड कम बजेट आएको छ। चालु आवमा ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट आएको थियो। प्रदेश सरकारका तर्फबाट आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले आर्थिक वर्ष २०८०/८१ का लागि आज लुम्बिनी प्रदेशसभामा प्रस्तुत गर्नुभएको बजेटमध्ये चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख ९९ हजार र पूँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख एक हजार बजेट विनियोजन गरिएको छ।

त्यस्तै वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब ५८ करोड ९७ लाख बजेट विनियोजन गरिएको छ। प्रस्तुत बजेटमा चालुतर्फ ३३ दशमलव ६८ प्रतिशत, पूँजीगततर्फ ५७ दशमलव ४५ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ आठ दशमलव ८७ प्रतिशत रहेको छ।

यस्तो छ स्वास्थ्यको लागी बिनीयोजना भएको बजेट

लुम्बिनी प्रदेशमा स्वास्थ्यको बजेट गत बर्षभन्दा २ प्रतिशत बढी रहेको छ। स्वास्थ्यतर्फ भान्सा सुधार कार्यक्रम, दीर्घरोग पहिचान व्यवस्थापनमा जोड, प्राकृतिक उपचारमा ध्यान, मातृशिशु मृत्युदर घटाउन विशेष कार्यक्रम, राप्ती प्रादेशिक अस्पताललाई स्तरोन्नति गर्न रु छ करोड, लुम्बिनी प्रादेशिक अस्पताललाई २१ करोड ९० लाख, सन्धिखर्क अस्पताललाई रु छ करोड, लुम्बिनी र राप्तीबाट निःशुल्क टिकटलाई रु एक करोड, स्वास्थ्य सेविका रहेका ६० वर्ष पुगेकालाई अवकास दिन प्रतिव्यक्ति ५० हजार, प्रदेश राजधानीमा लालमटियामा स्वास्थ्य सेवा बनाउन एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ।

नवजात शिशु एकाइ बनाउन बजेट, प्रादेशिक आयुर्वेदिक अस्पताल थप व्यवस्थापन गराउने, बिजौरीलाई ५० शय्या, बुटवललाई १५ शय्या र सबै आयुर्वेदिक व्यवस्थापन, सबै उपचार केन्द्रलाई व्यवस्थापन गरिने सबै सरकारी अस्पतालमा निःशुल्क रगत व्यवस्थापनका लागि रकम व्यवस्थापन गरिएको बजेटमा उल्लेख गरिएको मन्त्री मास्कीले बताउनुभयो।

 

सम्बन्धित शिर्षक :