काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा ४ जना बिरामीमा दादुरा पुष्टि

स्वास्थ्यसमाचार/काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा ४ जना बिरामीमा दादुरा पुष्टि भएको छ । परिवार कल्याण महाशाखामा प्रमुख डा विवेकलाल कर्णकाअनुसार गोकर्णेश्वर नगरपालिका—९ स्थित जोभो कदम्पा विद्यालयका ४ जना विद्यार्थीमा दादुरा पुष्टि भएको हो ।

२४ जेठमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ४ जनामा दादुरा पुष्टि भएको हो । उनीहरु सबै कदम्पा विद्यालयका हुन् । विद्यालयमा ५६० जना रहेकामा ६२ जनामा उस्तै खालको लक्षण देखिएको थियो ।

डा लालकाअनुसार उस्तै लक्षण देखिएकाहरुको उमेर ८ देखि ३८ वर्ष रहेको छ । जसमध्ये ९ जना बिरामी अस्पताल भर्ना भएकामा ७ जना डिस्चार्ज भइसकेका छन् भने दुई जना उपचाररत रहेका छन् ।

१३ जेठमा ज्वरो र बिबरा भएका शंकास्पद दादुरा बिरामीहरु रहेको कुरा स्वास्थ्य सेवा विभागमा जानकारी आएको थियो । त्यसपछि महाशाखाले १४ जेठमा गोकर्णेश्वरको जोभो कदम्पा विद्यालयमा सक्रिय खोज पड्ताल गरेको थियो ।

त्यसको भोलिपल्ट १५ जेठमा स्थानीय आरआरटी टिम परिचालन गरेर स्थानीय अधिकारीहरुसँगै संयुक्त खोज पडतात अगाडि बढाइएको थियो । उक्त टिमले नजिकका विद्यालयमा पनि खोज पडताल गरेर शंकास्पद बिरामी भए नभएको टुंगो लगाएको थियो ।

लगतै शंकास्पद बिरामीहरुको आइसोलेसन तथा रोकथाम नियन्त्रणबारे जानकारी गराइनुका साथै बिरामीलाई भिटामिन ए खुवाइएको महाशाखाले जनाएको छ ।

खोप पहुँचमा छैनन् बालबालिका

नेपालमा दादुराविरुद्धको खोप सन् १९७९ बाट लगाउन सुरु गरिएको हो । एक डोजले कम्तीमा ८५ प्रतिशत प्रतिरक्षा शक्ति प्रदान गर्छ । दुई डोजले करिब सय प्रतिशतसम्म बालबालिका पूर्ण रूपमा सुरक्षित हुन्छन् । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार १६ प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित छन् भने ४ प्रतिशतले खोपै लगाएका छैनन् ।

९ महिनासम्म खोप लगाए पनि पूर्ण खोप लगाउने समयसम्म धेरैजसो ‘ड्रप आउट’ हुने तथ्यांकमा देखिन्छ । नेपालमा पहिलो खोप लगाउने ९५ प्रतिशतभन्दा बढी भए पनि ९२।८ प्रतिशतले मात्र दोस्रो मात्राको खोप लगाएका छन् ।

खोपप्रतिको महत्त्व कम हुनु, खोप अभियान फितलो हुनु, खोपमा पहुँच नहुनुजस्ता कारण बालबालिका खोपबाट वञ्चित हुन पुगेका छन् । कोभिड महामारीले पनि धेरै बालबालिकाले खोप लगाउन नपाएको अनुमान गर्न सकिन्छ । दादुरा निवारणका लागि ९५ प्रतिशतले खोप लगाएको हुनुपर्छ । विज्ञहरूका अनुसार एकै पटक ५ जनाभन्दा बढीमा संक्रमण पुष्टि भए दादुरालाई महामारीका रूपमा लिने गरिन्छ ।

दादुरा–रुबेला रोगबाट पूर्णरुपमा बचाउन नियमित खोपमार्फत बालबालिकालाई ९ महिना पुगेपछि पहिलो र १५ महिना पुगेपछि दोस्रो मात्रा लगाउनैपर्छ । कारणवश खोपको कुनै मात्रा छुटेमा २४ महिनाभित्र दुवै खोपको मात्रा पूरा लगाउनुपर्ने विज्ञहरूको भनाइ छ । विश्व स्वास्थ्यले संगठनले परिभाषित भौगोलिक क्षेत्रमा कम्तीमा १२ महिनासम्म संक्रमण देखा नपरेको र ३ वर्षसम्म सोही अवस्था कायम भए दादुरा निवारण भएको मान्न सकिने बताएको छ ।

परिवार कल्याण महाशाखाका खोप अधिकृत भरत भण्डारी खुला सिमाना, बसाइँसराइले पनि दादुरा फैलिन सक्ने बताउँछन् । ‘ज्यालादारी गर्ने मजदुरका बालबालिका बढी समस्यामा छन्, अभिभावक कामका लागि नयाँ–नयाँ ठाउँमा गइराख्ने भएकाले खोपको पहुँचबारे थाहा नपाएको हुन सक्छ,’ उनले भने, ‘स्वास्थ्यकर्मीलाई पनि त्यसको ट्र्याकिङ गर्न गाह्रो छ ।

कतिपय खोप लगाउनै हिचकिचाउँछन्, त्यसैले पनि संक्रमण फैलिएको देखिन्छ ।’ यिनै कारण दादुरा निवारणमा बर्सेनि चुनौती थपिँदै गइरहेको उनले बताए । ‘संक्रामक रोगको चुनौती घना बस्तीमा बढी देखिन्छ । एउटा वडामा मात्र खोपको कभरेज राम्रो छैन भने पनि निवारण गर्न गाह्रो छ,’ उनले भने, ‘सबैले आफ्नोतर्फबाट विशेष गरी स्थानीय तहले यसमा बढी जोड दिनुपर्छ ।’

खोप शाखाका अनुसार ९ महिनासम्म खोप दिन अभिभावकहरू सचेत भए पनि १२ र १५ महिनामा लिनुपर्ने खोपको जानकारी कममा देखिन्छ । ‘पहिलो मात्रा लिइसकेपछि अर्को मात्रा मात्रा लिनुपर्छ भन्नेमा कतिपयको ध्यान जाँदैन । त्यसले खोप कभरेज कम देखिन्छ,’ अधिकृत भण्डारी भन्छन्, ‘समग्रमा हेर्दा कभरेज ९२ प्रतिशत जति छ ।’

के हो दादुरा  ?

मिजल्स भाइरसका कारण दादुरा संक्रमण हुन्छ । संक्रमण छिटो फैलने दादुराबाट मृत्युदर पनि उच्च रहन्छ । १ जना संक्रमितले १८ जनासम्मलाई रोग सार्न सक्छन् । बालबालिका मात्रै होइन यो रोग कुनै पनि उमेरकालाई लाग्न सक्छ । अति संक्रामक भएकै कारण यसले छिट्टै महामारीको रूप लिन सक्छ । संक्रमितले खोक्दा, हाच्छिउँ गर्दा वा श्वासप्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अकर्को व्यक्तिमा दादुरा सर्छ ।

बालमृत्युको कारणमध्ये दादुरा एक प्रमुख कारण मानिन्छ । रुबेला पनि ‘रुबेला भाइरस’ कै कारण हुने दादुराजस्तै संक्रामक रोग हो । यी रोग प्रायः ५ वर्षमुनिका बालबालिकामा धेरै लाग्छ । बालबालिकामा दादुराको संक्रमण भएमा गम्भीर प्रकारका जटिलता देखिनुका साथै मृत्युसमेत हुन सक्छ । रुबेलाको असर दादुराभन्दा सामान्य प्रकारको हुन्छ तर गर्भावस्थामा संक्रमण भए गर्भपतन हुने, समय नपुगी वा मृत बच्चा जन्मने तथा जन्मजात विकलांगजस्तो समस्या देखापर्न सक्छ ।

संक्रमितको सम्पर्कमा आएको १०–१२ दिनपछि मात्र दादुराको लक्षण ज्वरो देखापर्छ भने १२ देखि २३ दिनपछि रुबेलाको लक्षण देखिन्छ । घाँटीको माथिल्लो भागमा धेरै दिनपछि बिबिरा निस्किन्छ । यो करिब ३ दिनमा शरीरभरि फैलिन्छ र एक सातासम्म रहनछ । भाइरसको सम्पर्कमा आएको सातदेखि अठार दिनभित्र त्यस्तो बिबिरा देखिने विज्ञहरूको भनाइ छ ।

पाँच वर्षमुनिका बालबालिका वा ३० वर्षमाथिका वयस्कमा जटिल संक्रमण देखिने डब्लूएचओले जनाएको छ । यो रोग लागेमा झाडापखाला लाग्ने, कुपोषण हुने, कान पाक्ने, श्वासप्रश्वासको कडा संक्रमण निमोनिया हुने, आँखामा समस्या भई अन्धोपन देखिन्छ । मस्तिष्कमा कडा खालको सुजन वा मस्तिष्क ज्वरो आउने, कम्पन हुनेजस्ता जटिलताले मृत्यु पनि हुने सक्ने सम्भावना हुन्छ । कमजोर प्रतिरक्षा प्रणाली भएका, कुपोषित बालबालिकालाई दादुराको संक्रमणको जोखिम बढी हुन्छ ।

६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई वर्षको २ पटक वैशाख र कात्तिकमा भिटामिन ‘ए’ क्याप्सुल खुवाउन, पोसिलो खानेकुरा दिन, सरसफाइमा ध्यान पुर्‍याउन, ९ महिना र १५ महिनाका बालबालिकालाई दादुरा र रुबेला मिश्रित खोप २ मात्रा अनिवार्य लगाउन चिकित्सकहरूको सुझाव छ ।

सम्बन्धित शिर्षक :