भीम अस्पतालमा सिटी स्क्यान सेवा भएपछि बिरामीहरुलाई राहत

मन्त्री सन्तोष कुमार पाण्डेयको पहल भीम अस्पतालमा सिटी स्क्यान मेशिन आएको हो :मेसु डा गुप्ता

स्वास्थ्यसमाचार/ भैरहवास्थित भीम अस्पतालमा सिटी स्क्यान सेवा शुभारम्भ भएपछि बिरामीहरुलाई सहज र राहत भएको छ ।

२ करोड ७४ लाख ४० हजार रुपैयाँ लागतमा अस्पतालमा सिटी स्क्यान राखिएको थियो ।सेवा शुभारम्भ भएपछि हालसम्म २७ जना बढी बिरामीले सेवा लिएको भीम अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा. सकन्तुला गुप्ताले बताइन् ।

अस्पतालको सेवा विस्तारका क्रममा सिटी स्क्यान मेशिन थपिएपछि सेवाग्राहीबाट राम्रो प्रतिक्रिया आएको बताइन् ।लुम्बिनी प्रदेशसभा सदस्य तथा मन्त्री सन्तोष कुमार पाण्डेयको पहल र अग्रसरतामा अस्पतालमा सिटी स्क्यान मेशिन राखिएको डा. गुप्ताले बताइन् ।

‘माननीय सन्तोष कुमार पाण्डेय लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री हुँदा अस्पतालको विकास र सेवा विस्तारलाई मध्यनजर गर्दै सिटी स्क्यान मेशिनका लागि पहल गर्नुभएको थियो, उहाँले भीम अस्पतालको विकासका लागि निरन्तर चासो देखाउनुभएको छ ।

यसका लागि अस्पताल परिवारकोतर्फबाट उहाँलाई धन्यवाद दिन चाहन्छु, ’उनले भनिन् ।केही दिनअघि दाङको लमहीमा भएको मिनिमल सर्भिस एक्सटेण्डर (अस्पतालहरुको समीक्षा कार्यक्रममा) भीम अस्पतालमा गुणस्तरीय सिटी स्क्यान सेवा रहेको भन्ने कुरा सुन्दा गर्वको अनुभुति भएको डा. गुप्ताले बताइन् ।

उनले भीम अस्पतालले प्रदान गर्ने सेवाप्रति उक्त कार्यक्रममा प्रशंसा गरिएको बताइन् ।अस्पतालको विकासका लागि लुम्बिनी प्रदेश सरकारले चासो लिएको भन्ने कुरामा आफू विश्वस्त रहेको उनको भनाइ छ ।

सम्बन्धित शिर्षक :