दाङमा सुत्केरीको मृत्युपछि आन्दोलनमा आफन्त

स्वास्थ समाचार /राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सुत्केरीको मृत्यु भएपछि मृतकका आफन्तले न्यायको माग गर्दै आन्दोलन गरिरहेका छन् ।

सामान्य रुपमा सुत्केरी भएकी मधुको अस्पतालका नर्स र डाक्टरको लापरबाहीका कारण मृत्यु भएको परिवारले दावी गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ८ सौरीकी २८ वर्षकी मधु बुढाथोकी केसीको बिहीवार प्रतिष्ठानमा मृत्यु भएपछि घटनाको उचित अनुसन्धानसहित क्षतिपूर्तिको माग राख्दै शुक्रबार बिहानैदेखि आफन्त तथा पीडितहरु प्रतिष्ठान परिसरमा आन्दोलनमा उत्रिएका छन् ।

मृतकका श्रीमान शेरबहादुर केसीका अनुसार मधु बुढाथोकी केसी बिहीबार दिउँसो १ बजे सामान्य रुपमा सुत्केरी भएको तर बच्चाको सालनाल ननिस्केको भन्दै उपचारमा खटिएका नर्सहरुले हात हालेर जबर्जस्ती सालनाल निकाल्न खोज्दा सुत्केरीको ज्यान गएको दावी छ ।

उपचारमा संलग्न डाक्टर र नर्सहरुले सुत्केरीको अवस्थाका बारेमा आफन्तहरुलाई कुनै पनि जानकारी नगराई आफू खुशी सुत्केरीको उपचार गर्न खोज्दा ज्यान गएको मृतकका श्रीमान शेरबहादुरले बताए । बिरामी अचेत भई स्वास्थ्य अवस्था जटिल भएपछि डाक्टरले आईसीयूमा राखेर उपचार गर्ने भन्दै एकाएक कागज गराउन लगाएर उपचारको बहानामा बिरामी मार्ने खेल भएको उनको आरोप छ ।

सुत्केरी हुनुअघि सबै स्वास्थ्य परीक्षण गर्दा सामान्य रिपोर्ट आएको अवस्थामा प्रतिष्ठानको लापरवाहीले सुत्केरीको ज्यान गएको सुत्केरीकी आमा पूर्णा बुढाथोकीले बताए । शिशुको अवस्था भने सामान्य छ ।

मृतकको क्षतिपूर्ति वापत ५० लाख, शिशुको उपचार र पठनपाठनको सबै खर्च प्रतिष्ठानले व्यहोर्नु पर्ने तथा यस प्रकारका कमी कमजोरी प्रतिष्ठानले रोक्नुपर्ने माग मृतकका माईला ससुरा हरिको माग छ । यसैगरी, मृतकको शरीरको सबै अंक परीक्षण हुनुपर्ने उनीहरुको माग छ ।

सुत्केरीको मृत्युको विषयमा प्रतिष्ठानले अहिलेसम्म आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन । तर, पीडितहरु समक्ष सुत्केरीको उपचार गर्दागर्दै अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको प्रतिष्ठानले प्रारम्भिक जवाफ दिएको छ ।

घटनाका विषयमा निकास खोज्न बिहीबार बिहान प्रतिष्ठान र पीडित पक्षबीच छलफल भएपनि निकास निस्कन सकेन । यस विषयमा प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले चासो लिँदै प्रतिष्ठान, पीडित पक्षलाई राखेर समस्याको निकास खोज्न शुक्रबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा छलफल गर्ने योजना रहेको बताईएको छ ।

सम्बन्धित शिर्षक :