स्वास्थ्यसमाचार /अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा लुम्बिनी प्रादेशिक अस्पतालमा नर्सिङ पेशा अवसर चुनौति र समाधान विषयमा वक्तृत्व प्रतियोगिता सम्पन्न भएको छ।
अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनीहरुले नर्स पेशा मात्रै नभएर मानवीय सेवा गर्ने ठूलो अवसर भएको बताए । नर्सिङ सम्भावना नै सम्भावना भएको पेशा रहेको बताउदै लुम्बिनीका नर्सहरुले विचलित नहुन आग्रह गरेका छन् ।
नर्स विना स्वास्थ्य उपचार असम्भव भएको बताउदै नर्सहरुले अब अस्पतालसंगै नर्सहरुको आवश्यकता सामुदायले समेत खोज्दा दायरा फराकिलो बनेको बताए । अहिले अस्पतालसंगै कलेज, सामुदायिक संस्थाहरुले समेत नर्स राख्न थालेको र रोजगारीको क्षेत्र बढ्दै गएको जनाए ।
सहभागी नर्सहरुले कामको ओभरलोडले प्रभावकारी सेवा दिन नपाएको, सुबिधा कम हुदा जीविकोपार्जनमा समस्या भएको बताए । विरामीको उपचारमा खट्ने प्रतिवद्धता जनाएका कतिपय नर्सहरु बेरोजगार बस्नु परेको र विदेश पलायन हुनु परेको उनीहरुले जनाए ।
वत्तृत्वकलामा अस्पतालमा कार्यरत १० जना नर्सहरु सहभागी भएका थिए । उनीहरुमध्ये अस्मिता हमाल प्रथम भएकी छन् । शारदा कुंवर द्धितीय, कान्ति पाण्डे तृतीय र सरीता वश्यालले सान्त्वना स्थान हासिल गरेका छन् । अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. श्रीधर आचार्य, मेट्रोन ज्योति पौडेल, प्राध्यापक हिरण्यलाल ज्ञवाली र पत्रकार अमृता अनमोलको टिमले निर्णायक भूमिका निभाएको थियो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. सुदर्शन थापाले पछिल्लो समयमा नर्सिङ पेशा मर्यादित र रोजगारीका हिसाबले सुरक्षीत बन्दै गएको बताए । नर्सिड. सेवा भावमा समर्पित हुने पेशा रहेको बताउदै सेवामा नडगमगाउन आग्रह गरे ।
कार्यक्रममा स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. श्रीधर आचार्य, प्राध्यापक हिरण्यलाल ज्ञवाली र पत्रकार अमृता अनमोलको नर्सहरुको जिम्मेवारी र भूमिकाको प्रसंशा गरेका थिए । नर्स माधुरी ज्ञवालीले कार्यक्रम संञ्चालन गरेकी थिइन् ।
प्रतिकया दिनुहोस्